दमकल छ, बाटो छैन
ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा कात्तिक २० गते चार घरमा आगलागी भयो। २५ लाख रुपैयाँको क्षति भयो। अमृतबहादुर कार्की घाइते भए। गाउँपालिका केन्द्र सिद्धिचरण राजमार्गसँग जोडिएको छ। तर, वडा कार्यालय जाने सडक कतै ट्र्याक खुलेका छन् भने कतै छैनन्।
आगलागीमा सिद्धिचरण नगरपालिकाको दमकल प्रयोग भएन। घटनास्थल सदरमुकामबाट २५ किलोमिटर दूरीमा छ। तर, सडक नहुँदा दमकल जान सकेन। पीडित कार्कीका अनुसार दमकल आएको भए आफ्नो घर जले पनि अरू जोगाउन सकिन्थ्यो। ‘गाउँमा पानी पनि पर्याप्त थिएन’, उनले भने, ‘दमकल ल्याउन सकेको भए अरूका घर जोगिन्थे।’
गाउँमा सडक निर्माण चरणमा रहेकाले दमकल चल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष उमेश कार्कीको भनाइ छ। पानीको अभाव पनि रहेकाले आगो निभाउन माटो प्रयोग गर्नुपरेको उनले सुनाए।
गत वर्ष छिमेकी जिल्ला खोटाङको हलेसीमा आगलागी भयो। ओखलढुंगा सदरमुकामबाट ८० किलोमिटर दूरीमा रहेको हलेसीमा दिक्तेलबाट दमकल ल्याइहाल्ने सम्भावना पनि थिए। आगो निभाउन सिद्धिचरणको दकमल बोलाइयो। तर, सडक नहुँदा दमकल लैजान सकिएन। ६ घर जल्दा करोडभन्दा बढीको क्षति भयो। दमकल नहुँदा ठूलो क्षति बेहोर्नुपरेको स्थानीय नीराजन विकले बताए।
ओखलढुंगाका स्थानीय तहमध्ये सिद्धिचरणसँग एउटा दमकल छ। तर, कुनै ठाउँमा आगलागी भए यो साधन प्रयोगमा आउने अवस्था छैन। दमकल चलाउन उपयुक्त सडक सदरमुकाम र अन्यत्र पनि नभएको नगरपालिकाका सूचना अधिकारी नइन्द्रराज राईले बताए। उनका अनुसार २०७२÷७३ मा ३ हजार ५ सय लिटर क्षमताको दमकल खरिद गरिएको हो। दुई वर्षसम्म नगरपालिकाले राख्ने ठाउँसमेत पाएन। सशस्त्र प्रहरीको बेस क्याम्पभित्र थन्कियो। एक वर्षदेखि नगरपालिका परिसरमा राखिएको छ। चालक नियुक्ति गरिएको छ तर प्रयोगमा आएको छैन।
‘दमकल बजार क्षेत्रको हटिया लाइनसम्म पुग्न सक्ने भयो’, उनले भने, ‘त्यहाँबाट सिद्धिचरण राजमार्गभन्दा अन्यत्र लैजाने बाटो छैन। बजार क्षेत्र उकालो–ओरालो खुड्किला भत्काएर बल्ल बनाइएको बाटोमा सुमोलगायत साना गाडी मात्रै चल्न सक्छन्। भिरालो र साँघुरो भएकाले दमकल जानै सक्दैन।’ उनका अनुसार प्रयोगमै नल्याइएको दकमल बिग्रियो कि ठीक छ भन्ने पनि थाहा छैन। ढुंगामाटा र जस्ताबाट बनेका अग्ला घर जोडिएर रहेका छन्। यहाँ एक घरमा आगो लागे दसौं घर सखाप हुने स्थिति रहेको उनले सुनाए।
स्थानीय व्यवसायी सञ्जय खत्रीका अनुसार बजारभित्र दमकल ल्याउने ठाउँ छैन। बजारभित्र पुराना र अग्ला घरसँगै बिजुली र टेलिफोनका तार टाँगिएका छन्। घरसँग जोडिएका तारले झनै जोखिम रहेको स्थानीय रमेश श्रेष्ठको भनाइ छ।
नगरपालिकाले असारमै नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनायो। तर, त्यसअन्तर्गतको समिति बनेको छैन। समितिले पूर्णता पाउन नसकेको फोकल पर्सन उमेश कार्कीले सुनाए। उनका अनुसार पदेन समिति छ। मनोनीत गर्ने सदस्य बाँकी छन्। समिति नबन्दा जोखिम व्यवस्थापनका लागि काम सुरु भएको छैन। नगरपालिका, रेडक्रस तथा सुरक्षा निकायसँग समेत विपद्का बेला आवश्यक उपकरण तथा सामग्री पर्याप्त छैनन्।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति छ। यसले गृह मन्त्रालय र केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिसँग सम्बन्ध राख्छ। यस्ता समिति वडा तहसम्म बनाउने नीति भए पनि कार्यान्वयन नहुँदा जोखिम व्यवस्थापन, राहत तथा उद्धारका काम प्रभावकारी नहुने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक युवाराज दाहालको भनाइ छ।
ओखलढुंगाका सात गाउँपालिकामा त दमकल नै छैन। मानेभञ्ज्याङ, खिजीदेम्बा, मोलुङ रामपुर, चिसंखुगढी खानीभञ्ज्याङलगायत पुराना बजार आगलागीको उच्च जोखिममा छन्। यी ठाउँमा पानीको पनि समस्या छ। जनसंख्याको चाप धेरै छ। काठ र जस्ताका घर जोडिएकाले आगलागीको जोखिम रहने उपप्राध्यापक दाहालले बताए।
बजेट नभएकाले दमकल खरिद गर्ने योजना नरहेको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत श्याम खड्काको भनाइ छ। कच्ची र साँघुरा सडकमा चलाउन नसकिने भएकाले खरिद भए पनि उपयोगमा नआउने उनको भनाइ छ। अन्य तहले पनि आगलागी मात्र होइन, विपद् जोखिम न्यूनीकरणका तयारी गरेका छैनन्।