‘यो देशमा एउटा मानिस खोजिरहेछु’
काठमाडौं : वर्षामा उर्लिएर बगेको राप्ती नदीको गड्गडाहट उनको घरसम्मै सुनिन्थ्यो। कहिले माछा मार्ने निहुँमा त कहिले पौडी खेल्ने निहुँमा उनी बारम्बार नदी किनार पुगिरहन्थे। हिउँदमा निकै शालीन भएर बगिरहेको नदीछेउ पुग्दा एक किसिमको संगीत सुनिन्थ्यो। यही संगीत सुनेर हुर्किएका हुन्, गायक शिशिर योगी।
वनजंगलमा गोठालो जाँदा होस् या झोला बोकेर स्कुल हिँड्दा, उनी बाँसुरी बजाइरहन्थे। फुर्सद हुनासाथ मादल बजाएर बसिरहन्थे। सानैदेखि संगीतप्रति लगाव थियो। उनकी आमा पनि निकै सुमधुर स्वरमा गीत गुनगुनाउँथिन्।
आमाले गाएको सुनेरै होला, उनमा पनि संगीतको रस बस्यो। चौधरी समुदायको बाहुल्य भएको राप्तीको गाउँमा जन्मिएका हुन् उनी। उनीहरूका विभिन्न सांस्कृतिक पर्वमा फरक खालका संगीत सुन्न पाउँथे उनी।
करिब तीसको दशकदेखि उनी नेपाली सुगम संगीतमा अनवरत खटिइरहेका छन्। २०५६ सालतिरबाट रेडियो नेपाल तथा विभिन्न सञ्चारमाध्यमबाट एउटा गीत बारम्बार सुनिन थाल्यो—
छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा एउटा मानिस खोजिरहेछु
‘मान्छेको खोजी’ नामक एल्बममा उनले यो गीतमा आवाज दिएका थिए। काठमाडाैं आएर संगीतकै क्षेत्रमा काम गरिरहे पनि श्रोताको नजरमा मार्क हुन सकेका थिएनन् योगी। रेडियोमा जब यो गीत बज्न थाल्यो, उनी एकाएक चर्चाको शिखरमा पुगे।
मानिसहरू जनयुद्धको त्रासले आक्रान्त भएका थिए। त्यही समयमा उनले यो गीत गाउने मौका पाए। देशलाई मुक्ति दिन कोही एकजना सपूत चाहिएको आवाजस्वरूप यो गीत तयार भएको थियो। कोही देशका लागि खास काम गर्ने मान्छे छ भने आवश्यक रहेको भाव छचल्किएको थियो यो गीतमा।
उनको बेलामा गीत सुन्ने भनेकै रेडियोमा थियो। बिहानको समयमा हिन्दी रेडियो सिलोङ, रेडियो इन्डिया, गोरखपुर स्टेसनबाट बज्ने विभिन्न हिन्दी गीतको लयले उनलाई औपचारिक रूपमा गीत गाउन प्रेरित गरे।
फर्माइस गीत कुन बेला कुन कुन रेडियोमा बज्थ्यो, उनले टाइम टेबल राखेका थिए। घरको काम छाडेर रेडियोको छेउमा गीत सुनेर बस्नु उनको दैनिकी थियो। रेडियोमा बज्दाबज्दै उनी पनि सँगै गाउने कोसिस गर्थे। रेडियो नेपालबाट बज्ने नारायणगोपालको स्वरको त उनी फ्यान नै भएका थिए।
गाउँकै सरकारी स्कुलमा अध्ययन गरेका हुन् उनले। उनी स्कुलको लिडर थिए। आफू समानको अन्य कोही प्रतिस्पर्धी साथी थिएनन्। रमाइलोका लागि गीत गाए पनि पुरस्कार नै पाउने गरी स्कुलमा सांगीतिक कार्यक्रम आयोजना नै भएन। जिल्लास्तरीय गायन प्रतियोगितामा प्रदान गरिने उपहार भने उनकै पोल्टामा पथ्र्यो।
स्कुलका शिक्षकले उनलाई काठमाडौं गएर संगीत सिक्न सुझाएका थिए। २०४८ सालमा उनी संगीतको महासागरमा होमिने उद्देश्यले काठमाडाैं आए।
सारंगी त रेटे पनि बोल्छ मिठै ध्वनि
मै कसरी मधुर बनौं ? निठुरलाई पानी।
गाली गरौं आफ्नै बोली अपवित्र हुन्छ
यसै बसौं असत्यको त्यसै जित हुन्छ।
यो उनको अर्को चर्चित गीत हो। आधुनिक गीत र सुगम संगीतका पारखी मात्र नभएर उनले यही बिटलाई आफ्नो जिन्दगीको उद्देश्य बनाए। उनले पहिलोपटक २०४८ सालमा रेडियो नेपालमा ‘दिलको प्यास’ बोलको गीत रेकर्ड गराएका थिए। त्यो बेलासम्म उनलाई संगीतका बारेमा त्यति थाहा थिएन।
संगीतमा लय, मिठास, नोटका बनोट, शब्दले न्याय पाउनुपर्दो रहेछ। शब्दलाई जीवन्त बनाउने अमूल्य चिज नै संगीत रहेछ। आजसम्मको अनुभवमा उनले संगीतलाई धेरथोर चिन्ने मौका पाए।
दाङबाट काठमाडाैं आएपछि उनी शंखमूलमा डेरा गरेर बस्थे। रेडियो नेपालको स्वरपरीक्षा पास गरेपछि उनले संगीतकार अम्बर गुरुङलाई भेटे। गुरुङसँगै करिब छ÷सात वर्ष संगीत र गायन सिके। एउटा कलाकारको चरित्र सिके।
उनलाई शास्त्रीय संगीतले खुब तान्यो। यसभित्रको अलंकार, राग, सुर ताल, भाव, अभिव्यक्ति, उच्चारण, आलापमा साधना गरिरहे। ‘सिकाइ भनेको आफूभित्र आफैंले खोज्नु रहेछ। शब्दलाई फिल गर्नुपर्छ, यो कुनै गुरुले सिकाउन नै सक्दैन’, उनी भन्छन्।
हाँस्नलाई ओठ खोले बोलको गीत होस् या माया मारी डाँडापारि बोलको गीत, उनलाई आफैंले गाएका केही गीत मात्रै मन पर्छ। ‘आमाले घाँस काट्दै गर्दा भीरमा जन्मेको मान्छे म’ गीतमा उनी आफ्नै छाया देख्छन्।
कहिले माया बसेका रोमान्टिक गीत त कहिले बिछोड भएका ट्राजेडी गीत वा कहिले जीवनका व्यावहारिक गीत, गीत गाउँदा सधंै उनले आफूलाई अब्बल बनाउने कोसिस गरे।
उनी गीत गाउन मात्र होइन, संगीत भर्न पनि उत्तिकै अब्बल छन्। आफैंले स्वर दिएको गीतमा संगीत भर्न पाउँदा उनलाई चुनौतीसँगै अवसर पनि आएझैं लाग्छ। ‘आफूलाई कति न्याय गर्ने आफ्नै हातमा रहने हुँदा विशेष महत्त्व हुन्छ। अझ बढी कन्सस भइन्छ’, उनी भन्छन्।
आफ्नो स्वर तपाईंलाई कस्तो लाग्छ ? जवाफमा मुस्कुराउँदै उनी बोल्छन्, ‘कता के नपुगेको, के बिग्रेजस्तो लाग्छ। आफ्नो नजरमा आफू नै उत्कृष्ट कहिल्यै बन्न सकिन्न नि। कहिलेकाहीँ भने आफूले गाएका गीत सुन्दा मजा आउँछ। सिरानीमा बजाएर निदाउने गर्छु।’
सस्तो लोकप्रियताका लागि उनलाई बजारमा कम्पिटिसन गर्न मन लाग्दैन। उनी भन्छन्, ‘मलाई जीवन्त बाँचिरहने गीत गाइरहनु छ। लामो आयु भएका गीत नै मेरो पहिलो रोजाइमा पर्छन्।’
उनी सुगम संगीतका एक दरिलो खम्बा हुन्। पछिल्लोपटक जीवन विज्ञानमा आबद्ध भएर उनले गीतमार्फत मान्छेमा हराउँदै गएको मानवता, माया र आत्मीयताको खोजी गरेका छन्।
समयको प्रवाहमा केही पायो केही छुट्यो
जिन्दगीको एउटा दिन आज पनि बित्यो।