ग्यास वेल्डिङको ड्रम खोल्दा पड्किएर मृत्यु
विराटनगर : मोरङको बेलबारी- ११ लक्ष्मीमार्गमा ग्यास वेल्डिङको ड्रम पड्किएर मंगलबार बिहान ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको छ। लक्ष्मीमार्गस्थित बस्नेत ग्रिलमा काम गर्दै आएका बराइली ड्रम पड्किएर घाइते भएका थिए। गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा बिहान १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।
घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको थियो। 'निक्कै दिनदेखि नखोलिकन राखिएको ड्रम खोल्न खोज्दा एक्कासी पड्किएछ,' राईले भने, 'नखोलिकन बिर्को लगाएर राखिएको अवस्थाको ग्याँस वेल्डिङको ड्रम तापक्रम बढी भएर पड्किएको हुन सक्छ।' उनले घटनाका बारेमा प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिए।