किर्ते नागरिकताको आडमा नेपालमा मुद्दा
बिर्तामोड : किर्ते विवरण पेश गरेर निकालेको नागरिकताको आडमा एक भारतीय नागरिकले आफ्नै बहिनीमाथि नेपालमा अंश मुद्दा लडिरहेको भेटिएको छ।
भारत दार्जिलिङ निवासी उमेश ताम्राकारले बिर्तामोड निवासी आफ्नै बहिनीलाई आमाले बकसमा दिएको जग्गामा दाबी हालेर अदालतमा मुद्दा लडिरहेको भेटिएको हो।
ताम्राकारका ज्वाई सुधीर बस्नेतका अनुसार सन् १९८६ मा दार्जिलिङमा चलेको गोर्खाल्याण्ड आन्दोलनका बेला बस्नेतकी सासु तथा ताम्राकारकी आमा बिर्तामोडमा रहेकी छोरीकहाँ आएर बसेकी थिइन्।
छोरीकहाँ बस्दा ताम्राकारकी आमाले पाँच हजार रुपैयाँमा जग्गा किनेकी थिइन्। पछि सोही जग्गा उनै ताम्राकार बाहेक सबै परिवारका सदस्यको सहमतिमा छोरीलाई २०६४ साल माघ १० गते बकस पास गरिदिएकी थिइन्।
पछि उनको मृत्यु छोरीकै घरमा भएको थियो। सोही जग्गाको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। उनका ज्वाईं बस्नेतले ताम्राकार भारतीय नागरिक भए पनि मुद्दाहालेर बारम्बार दुख दिने गरेको गुनासो गरे।
भारतको दार्जिलिङका नागरिक उमेश ताम्राकारले किर्ते विवरण पेश गरेर नागरिकता निकालेको भनेर २०६८ सालमा स्थाीय खबरमा समाचार प्रकाशित भएको थियो।
सोही किर्ते नागरिकताको विषयलाई लिएर ताम्राकारलाई विपक्षी बनाई जिल्ला प्रशासन कार्यालय सुनसरीमा मुद्दा समेत परेको थियो। जिल्ला प्रशासन कार्यालय सुनसरीले ताम्राकारलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय झापालाई पत्र लेखेपछि प्रहरीले उनलाई पक्राउ पनि गर्यो। तर जिल्ला प्रशासन कार्यालय सुनसरीमा हाजिर हुने सर्तमा उनी जमानीमा छुटेका थिए।
तर, हालसम्म उनी सुनसरी प्रशासनमा हाजिर हुन पुगेका छ्रैनन् भने प्रहरीले पक्राउ समेत नगरेको उनका ज्वाईं बस्नेतले बताए।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा किर्ते नागरिकता मुद्दाको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि दिइएको छ। बस्नेतका अनुसार उक्त मुद्दालाई कुनै पनि न्यायिक निकायले प्राथमिक्तामा राखेका छैनन्।
ताम्राकार भारतीय नागरिक भएको प्रमाणका रुपमा बस्नेतले उनको रासन कार्ड तथा दार्जिलिङ अदालतमा उनले ‘म भारतीय नागरिक हुँ’ भनेर गरेको कबुलियतनामा समेत राखेका छन्।
‘मैले सबै प्रमाण नेपालका सबै निकायमा पुर्याएको छु। तर पनि न्यायिक निकायले किन हेरिरहेको छैन, अचम्म लागेको छ’, उनले भने। ताम्राकारले २०४६ साल असार २२ गते निकालेको नागरिकताको अनुसूची करिब १३ महिना अघि भरेको बस्नेतले बताए।
उक्त समयमा ताम्राकारले सुनसरीमा घुम्ती शिविरमा भएको नागरिकता वितरणबाट नक्कली बाबु प्रेमलाल ताम्राकार बनाई नागरिकता लिएका थिए। त्यस बखत घुम्ती टोली प्रमुख सुरेशप्रसाद नेपाल रहेको उनको नागरिकतामा उल्लेख गरिएको छ। उनका आफन्तका अनुसार ताम्राकार दार्जिलिङमानै बस्दै आएका छन्।