सत्तापक्ष नै सभामुखसँग ‘सशंकित’
काठमाडौं : कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु।’ सांसदहरू गलल्ल हाँसे। ‘ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी सरी, सिंह।’ त्यसपछि कांग्रेस नेता सिंह बोल्न थाले। आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो भन्दै मंगलबार संसद्मा गाइँगुईं चल्यो।
संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन, सभामुख महरा। संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ। तर मंगलबारको उनको ‘गतिविधि’ लाई ‘अपरिपक्वता वा सामान्य चिप्ल्याई’ मात्र मान्न तयार छैन, सत्तापक्ष। कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेको सत्तापक्षको आशंका छ। सत्तापक्षका नेताहरूसँग सल्लाह नै नगरी एकाएक सूचनामार्फत बैठक स्थगित गरेको भन्दै सत्तापक्ष उनीप्रति सशंकित छ। नेकपा नेता जनार्दन शर्माले त मंगलबार नै केही सांसदसामु महरालाई ‘झपारेका’ थिए।
संसद्को पहिलो बैठकमा कांग्रेसले अवरोध गरेपछि दोस्रो बैठकमा आवश्यक प्रबन्ध गरेर विधेयक पारित हुनेमा सत्तापक्ष ढुक्क थियो। ‘हामीले पहिलो बैठकमै मर्यादापालकलाई ठीक ठाउँमा परिचालन गर्न सक्नु भएन भन्दै सभामुखको ध्यानाकर्षण गरिसकेका थियौं’, नेकपाका एक नेताले भने, ‘दोस्रो बैठकमा मर्यादापालकको खटनपटन राम्रो होला भनेको त झन् कांग्रेसलाई सहज हुने गरी रोस्ट्रमको पूरै भाग खाली गराइयो। यसलाई सामान्य रूपमा लिएका छैनौं।’
कांग्रेसका गगन थापा, डा.मिनेन्द्र रिजाललगायत सांसदले मर्यादापालक किन लगाएको भन्दै सभामुखसँग प्रश्न गरेका थिए। ‘कांग्रेसका सांसदले यस्तो प्रश्न गर्नु र सभामुखबाट मर्यादापालकलाई राम्ररी परिचालन नगर्नु संयोग मात्र होइन होला’, नेकपाका ती नेताले भने। दोस्रो बैठकमा विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल रोस्ट्रम चढने प्रयास गरिरहँदा सभामुख महराले एकाएक बैठक स्थगित गरेकोमा पनि सत्तापक्षका सांसद असन्तुष्ट छन्।
माघ ६ गते प्रधानमन्त्री केपी ओली स्विट्जरल्यान्ड प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका महराले सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने जानकारी दिएको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले चिकित्सा विधेयकमा के हुँदैछ र कहिले पारित हुन्छ भनी सभामुखसँग प्रश्न गरेका थिए। ‘हामी त मंगलबार पारित गर्न सभामुखले भूमिका खेल्नुहोला भनेको त सभामुखको भूमिका उल्टो देखियो’, नेकपाका नेताले भने।
कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित गर्न आवश्यक प्रबन्ध नगरेको सत्तापक्षको आशंका।
तेस्रो बैठकमा पारित गर्न सभामुखले पहल गर्नेमा नेकपाका सांसद ढुक्क थिए। ‘हामीसँग सल्लाह नै नगरी सभामुखले किन संसद् स्थगित गर्नुभयो भन्ने थाहा पाएनौं’, नेकपा सांसद खगराज अधिकारीले भने। संसद् भवनस्थित प्रधानमन्त्रीको कार्यकक्षमा संसदीय दलका उपनेता सुवास नेम्बाङलगायत नेताहरू सल्लाह गरिरहँदा सँगै जोडिएको सभामुखको कार्यकक्षबाट बैठक स्थगित भएको सूचना प्रकाशित गरिएको थियो। त्यस क्रममा कांग्रेसका मीनेन्द्र रिजाल, गगन थापा, अमरेसकुमार सिंहलगायत सांसद सभामुखको कार्यकक्षमै घेर्न पुगेका थिए।
‘विपक्षीले कार्यकक्षमै घेरेर हाउससम्म जान दिन्नँ भन्दा सभामुख चुप लागेर बस्ने कुरा अझै बुझ्न सकेका छैनौं’, नेकपा सांसद अधिकारीले भने, ‘सभामुखलाई हाउससम्म जान नदिने, बाटो छेक्ने, पर्दामा लुकेर विपक्षीले बाटो ढुक्दा पनि सभामुखले संसद्को मर्यादाबारे सचेत गराउनु भएन।’ कांग्रेसका केही सांसद सभामुखको कार्यकक्षमा, केही पर्दामा लुकेर बसेको र केहीले बाटो छेकेको सभामुखकै कार्यालयले पनि स्विकारेको छ।
स्कर्टिङको नाटक र विपक्षीको अमर्यादित भाषा
शिक्षामन्त्री पोखरेललाई स्कर्टिङ गरेर रोस्ट्रम चढाउन खोजेर सत्तापक्षले सोमबार संसद्मा ‘अमर्यादित’ व्यवहार देखाएको थियो। प्रमुख सचेतक देव गुरुङलगायत सांसदले शिक्षामन्त्रीलाई स्कर्टिङ गरेका थिए। ‘मन्त्रीलाई स्कर्टिङ गरेर रोस्ट्रम पुर्याउने काम मर्यादापालक हो। हाम्रा साथीहरूले गर्नु हुन्थेन’, नेकपाकै एक सांसदले भने। तर कांग्रेसका गगन थापा र मीनेन्द्र रिजालले सभामुखविरुद्ध असभ्य भाषा प्रयोग गर्दा सभामुख चुप लागेकोमा पनि सत्तापक्षका सांसद अचम्भित छन्। ‘सांसदको नाम लिँदा त निलम्बन हुन्छ। तर माननीयज्यू, सभामुखको मर्यादा ख्याल गर्नुहोस् भनेर सभामुखले रेकर्ड गराउनुपथ्र्यो’, नेकपासांसद अधिकारीले भने।