एक सचिवलाई ६ वडाको जिम्मा
भोजपुर : टेम्केमैयुङ गाउँपालिका कोटकी लक्ष्मी राईलाई जन्मदर्ता सिफारिस लिन तीन दिन लाग्यो। सिफारिस लिन वडासचिवकहाँ जाँदा उनको पालो तीन दिनपछि मात्रै आयो। दैनिक दुई घण्टा धाएर उनी सिफारिसका लागि जान्थिन्। ‘एउटा सिफारिस बनाउने निहुँले तीन दिन केही नगरी त्यतिकै गयो’, उनले भनिन्, ‘धाउँदा धाउँदा सास्ती। आफ्नै ठाउँमा त एउटा सिफारिस बनाउन यति गाह्रो पर्छ, झन् टाढाकालाई कस्तो सास्ती होला ? ’
संघीय संरचनापछि पनि स्थानीय तहका धेरै वडा अझै सचिवविहीन छन्। सेवा सुविधाको पछि लाग्ने कर्मचारीले काज बहाना र सरकारले दुर्गम भेगमा कर्मचारी पठाउन नसक्दा भोजपुरका अधिकांश वडामा सचिव छैनन्। शिक्षा, स्वास्थ्य, वन, खानेपानी लगायतबाट कर्मचारी तानेर वडासचिवको काम धानिएको छ। एक सचिवको भागमा ६ वटा वडासम्म कार्यभार परेको छ।
टेम्केमैयुङ गाउँपालिका ६, ७, ८ र ९ वडामा केही समयदेखि एकै सचिव छन्। दुर्गममा कर्मचारी नपठाइँदा दोहोरो कार्यभारको समस्या थपिएको वडासचिव तोयाराज दुलालले सुनाए। ‘गाउँपालिकाले पनि जिल्ला प्राविधिक, सीडीओमार्फत मन्त्रालयसम्म पनि कर्मचारी नियुक्तिको माग त गरेकै हो। तर, पठाइएको छैन’, उनले भने, ‘सामाजिक परिचालकको सहयोगमा चार/चार वडाको काम दुःखसुख चलाइएको छ। बढी काम गर्नु परेको छ’, जनशक्ति अभावको दुःख यसरी बताउँछन् दुलाल।
सदरमुकाम रहेको भोजपुर नगरपालिकामै पनि १२ मध्ये ६ वडा एकजना मात्रै सचिवले धानिरहेका छन्। केही महिनाअघि मात्र ११ र ९ नम्बर वडाका सचिवको सरुवा भएकाले तत्काल कर्मचारी नियुक्ति नहुँदा दैनिकजसो छ वडाको काममा दोहोरो तेहोरो मार परेको वडा सचिव मणि राईले बताए। ‘यसरी कार्यसम्पादन पनि प्रभावकारी हुन सक्दैन’, राईले भने, ‘मन्त्रालयबाटै सिफारिस गरी नपठाउँदा यो झमेला भएको हो। आवश्यकता हेरेर कर्मचारी नखटाइँदा दैनिक कार्यसम्पादन गर्न समस्या भएको छ।’
वडासचिव राई एक्लैले ५, ६, ७, ८, ९ र ११ वडाको काम धानिरहेका छन्। भोजपुर नगर कार्यपालिकामै स्थापित वडा कार्यालयमा यी सबै वडाको काम एउटै टेबुलबाट भइरहेको छ।
सदरमुकाम रहेको भोजपुर नगरपालिकामै पनि १२ मध्ये ६ वडा एकजना मात्रै सचिवले धानिरहेका छन्।
जिल्लाको दुर्गम आमचोक गाउँपालिकामा दुई वटा वडामा मात्रै सचिव छन्। अन्य आठ वडा सचिवविहीन छन्। हालका लागि अन्य विषयगत शाखा वा कार्यपालिकाकै अन्य कर्मचारीको भरथेगमा ती वडाका काम धानिएका छन्। समयमै कर्मचारी पदपूर्ति हुन नसक्नुले अड्चन थपिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए।
दुर्गममा कर्मचारी नियुक्तिको काममा मन्त्रालयले बेवास्ता गरेको र भएका कर्मचारी पनि विभिन्न बहानामा काजमा सरुवा जाने प्रवृत्तिले जनताको काम प्रभावित बनेको उनको भनाइ छ। ‘स्थानीय सरकार त भनियो तर एउटा कार्यालय सहयोगीसमेत नियुक्ति गर्ने अधिकार छैन। न कुनै कार्यविधि नै छ’, उनले भने, ‘जनताको काम गर्न आएका हामी कर्मचारी अभावको सामना गर्दै बसिरहनु परेको छ। कर्मचारी नहुँदा कामहरू प्रभावित बन्नुका साथै सेवाग्राही नजतालाई पनि सास्ती पाइरहेका छन्।’
जिल्लामा नौवटै स्थानीय तहमा टेम्केमैयुङ गाउँपालिकाको ४ र ५ वडा, षडानन्द नगरपालिकाको १, ६ र ७ वडा, १३ र १४ वडा, २, ३, ४ र ५ वडा ,साल्पासिलिछाको १ र २ वडा, हतुवागढीको ३ र ४ नम्बर वडा, ५ र ६ वडा, ७ र ८ वडा, पौवादुङ्माको २ र ३ वडा, आमचोकको ८ र ९ वडा, रामप्रसाद राईको ४ र ५ नम्बर वडा तथा ७ र ८ नम्बर वडा एक जना सचिवका भरमा चलिरहेका छन्। अरुण गाउँपालिकामा भने सबै वडामा सचिवको पदपूर्ति भएको छ।