मुगल सेनालाई घुँडा टेकाएको मकवानपुरगढीमा विजयोत्सव

मुगल सेनालाई घुँडा टेकाएको मकवानपुरगढीमा विजयोत्सव

हेटौंडा : मकवानपुरगढीमा बिहीबार २५६ औं विजयोत्सव मनाइएको छ । विजयोत्सवका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक गढीमा निर्माण गरिएको सात प्रदेशअंकित नेपालको नक्सा अनावरण र झण्डोत्तलन गरिन् । 

गढी किल्लाबाट वि.सं. १८१९ माघ १० गते पृथ्वीनारायण शाहको सेनाले बंगालका नवाब मिर कासिम अलीको सेनालाई हराएका थिए । विजयोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली सेनाको औपचारिक आधार बोकेको यस क्षेत्रको संरक्षण आवश्यक रहेको बताइन् । 

‘रमणीय प्राकृतिक वातवरण र राष्ट्रिय राजमार्गले घेरिएको ऐतिहासिक मकवानपुरगढी क्षेत्रलाई जगेर्ना गर्नसके पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ’, उनले भनिन्, ‘यो गढीले नेपाली सेनाको गर्विलो इतिहासलाई झल्काएको छ ।’ राष्ट्रपति भण्डारीले प्राकृतिक र एतिहासिक सम्पदाको सम्पदाको संरक्षण गरी  भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् । 

फलफूल र कृषिको लागि पर्याप्त उर्वर भूमि रहेको भन्दै उनले कृषि उत्पादन प्रणालीलाई आधुनिकीकरण गरेर युवाहरुलाई देशमै स्वरोजगार बनाउनुपर्ने बताइन् । साथै उनले चुरे क्षेत्रको संरक्षण गर्नसके तराई र पहाडको जलवायु परिवर्तनलाई रोक्न सकिने बताइन् । 

कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देश एकिकरणको महत्वपूर्ण हिस्सा ओगटेको मकवानपुरगढीलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न योजनाबद्ध ढंगले काम गरिने बताए । कार्यक्रममा मकवानपुरगढीको इतिहास खोजमा योगदान गरेको भन्दै इतिहास खोजकर्ता केदार न्यौपाने र बद्रि खतिवडालाई सम्मान गरिएको थियो । 

सेनाको सक्रियतामा विजयोत्सव

अघिल्ला वर्ष स्थानीयको सक्रियतामा सामान्य कार्यक्रम गरेर विजयोत्सव मनाइन्थ्यो । यस पटक भने नेपाली सेनाको सक्रियतामा विजयोत्सव मनाइएको हो । 

सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइँमा पृथ्वीनारायण शाहको सेनासँग हारेपछि बंगालका नवाब मिर कासिम अलीको शरणमा पुगेका थिए । 

नवाब अलीको सहयोगमा दुई हजार लडाकू र एक हजार बन्दोबस्तीसहित तीन हजार फौज लिएर सेनले मकवानपुरगढीमा वि.सं. १८१९ माघ १० गते आक्रमण गरेका थिए ।

‘गुरगिन खाँको नेतृत्वमा आएको फौज होचो ठाउँ शिखरकटेरीतर्फ लागेको देखेर गोर्खाली फौजले अग्लो स्थानबाट ढुंगामुढा लडाई बन्दुक ताकेर माघ ९ गते रातिदेखि १० गतेसम्म सत्रुपक्षसँग लडे’, इतिहास खोजकर्ता केदार न्यौपानेले भने, ‘मुगल सैनिकका १७ सय फौज हताहत भए । गोर्खालीको मनोबल उच्च भयो र बाँकीलाई लखेट्दै सिमाना कटाए ।’ 
विदेशी सेनासँग गोर्खाली सेना पराजित भएको भए नेपाल एकिकरण नै अधुरो रहनसक्ने भन्दै उनले विदेशी सेनालाई हराएको खुशीयालीमा उत्सव मनाउँदै आएको बताए । 

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले गोर्खाली फौजले मिर कासिमको फौजलाई पराजित गरेपछि उनीहरूबाट खोसिएका आधुनिक हतियार र सैन्य उत्साहलाई संगठित गरेर पृथ्वीनारायण शाहले औपचारिक सैनिक संगठन निर्माणको अभ्यास सुरु गरेको बताए । ‘अहिले पनि त्यो युद्धमा प्रयोग भएका केही हतियारहरु सेनासँग छ, हामी यहाँ संग्राहलय बनाएर राख्न पहल गरिरहेका छौं’, उनले भने ।

नेपाली सेनाको पुरानो गोरख गणका प्रमुख सेनानी अनिल कुमार बुढाथोकीले नेपाली सेनाको इतिहासमा मकवानपुर गढीको वीरताको ऐतिहासिक पृष्ठभूमि रहेको बताए । ‘पृथ्वीनारायण शाहले त्यति बेला श्रीनाथ गण, सबुज गण, पुरानो गोरख गण, बर्दबहादुर गण र कालिबक्स गण गठन गरेका थिए । ती गण अहिले पनि छन्’, उनले भने । 

नेपालमा भएका गढीमध्ये सबैभन्दा ठूलो गढी मकवानपुरगढी हो । गढीको सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र सात फिट चौडाइ भएको पर्खाल लगाइएको छ । मकवानपुरका राजा लुहाङ सेनले आफ्नो राज्यलाई सुरक्षित गराउन वि.सं. १६२२ मा मकवानपुरगढी निर्माण गरेको इतिहासमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.