स्थायी शिक्षक अस्थायीको परीक्षामा

स्थायी शिक्षक अस्थायीको परीक्षामा

काठमाडौं : सुन्दा अचम्म लाग्न सक्छ, अस्थायी शिक्षकका लागि लिइएको आन्तरिक परीक्षाका प्रतिस्पर्धी स्थायी शिक्षक। यस्तै भएको छ, शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने लिखित परीक्षामा।

तत्कालीन निमावि (आधारभूत) तहमा स्थायी पदमा कार्यरत मुलुकभरका ५३ जना शिक्षक अस्थायी शिक्षकका लागि मात्र लिइएको परीक्षामा सहभागी छन्। शिक्षक सेवा आयोगका अनुसार ती सबै शिक्षकले माध्यमिक तहमा निुयुक्तिका लागि प्रतिस्पर्धा गरेका हुन्। तर अस्थायी शिक्षकका लागि सञ्चालन गरिएको परीक्षामा स्थायीले पनि प्रतिस्पर्धा गरेको थाहा पाएपछि आयोगले उनीहरूको उत्तरपुस्तिका परीक्षण नगरी अस्थायीका उत्तरपुस्तिका मात्र परीक्षण गर्यो‍।

अस्थायी शिक्षकका मात्र उत्तरपुस्तिका परीक्षण सकेर आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ। माघ १३ गतेदेखि उनीहरूको अन्तर्वार्ता गर्ने आयोगको तालिका छ। तर आयोगले आफूहरूको उत्तरपुस्तिका परीक्षण नगरेर अन्यायमा पारेको दाबीसहित उनीहरू कानुनी उपचारका लागि सर्वोच्च अदालत गएका छन्।

अस्थायीको परीक्षामा सहभागी भएका स्थायी शिक्षककै मागअनुसार सर्वोच्चले स्थायी पदमा कार्यरत भए पनि अस्थायीको परीक्षामा सहभागिता जनाएका शिक्षकको समेत उत्तरपुस्तिका परीक्षण गर्न आदेश दिएपछि शिक्षक सेवा आयोग अप्ठ्यारोमा परेको छ। अन्तार्वार्ताको मिति आउन एक साता पनि बाँकी छैन। यस्तो अवस्थामा आफूहरूको विगतको निर्णयविपरीत सर्वोच्चको आदेश आएपछि विगतमा पन्छाइएका उत्तरपुस्तिका परीक्षण तथा उनीहरूलाई अन्तर्वार्तामा कसरी सहभागी गराउने भन्ने गृहकार्यमा आयोग जुटेको छ।

आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसी थपलियाका अनुसार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाका लागि २०७३ चैतमा विज्ञापन भएको थियो। आयोगले नै २०७१ सालमा खुला प्रतिस्पर्धाबाट निमावि तहमा शिक्षक नियुक्तिका लागि छुट्टै विज्ञापन गरेको थियो।

अस्थायी शिक्षकका मात्र उत्तरपुस्तिका परीक्षण सकेर आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ।

खुला प्रतिस्पर्धामा सहभागी शिक्षकले आन्तरिक प्रतिस्पर्धाका लागि पनि फारम भरेका थिए। तर आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त हुने शिक्षकको अनुपात र प्रतिस्पर्धामा असफल हुने शिक्षकलाई दिइने अन्य सुविधालगायत विवादका कारण आन्तरिक प्रतिस्पर्धाका लागि तोकिएको समयमा परीक्षा भएन। यही बीचमा २०७१ सालको खुला प्रतिस्पर्धाको परीक्षामा सहभागी भएकाहरू निमावि तहका शिक्षकका नतिजा आयो।

आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन फारम भरेकामध्ये ५३ जना निम्न माध्यमिक तहमा छनोट भए। निमाविमा छनोट भए पनि उनीहरूले पहिल्यै भरेका फारमअनुसार माध्यमिक तहका लागि पनि परीक्षा दिए, यो परीक्षामा छनोट भए पनि उनीहरू एक तहमाथि उक्लन सक्थे भने अनुत्तीर्ण भए पनि निमाविको जागिर सुरक्षित थियो। ‘अस्थायी शिक्षकका लागि परीक्षा सञ्चालन गर्ने समयमा उहाँहरू स्थायी भइसकेका कारण हामीले उत्तरपुस्तिका परीक्षण नगर्ने र प्रतिस्पधामै सहभागी नगराउने निर्णय गरेका हौं’, थपलियाले भने, ‘तर अदालतले त्यसो नगर्न आदेश दिएको सुनेका छौं। आदेशको पूर्ण कपी आएपछि उनीहरूको परीक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गर्छौं।’

१९ जनाको नतिजा परिवर्तन

आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि परीक्षा लिएर सार्वजनिक गरेको नतिजामध्ये प्राथमिक, निमावि र माध्यमिक तहमा समेत गरेर १९ जना परीक्षार्थीको नतिजा परिवर्तन भएको छ। नतिजाप्रति चित्त नबुझेर पुनर्योगका लागि निवेदन दिएका विद्यार्थीको उत्तरपुस्तिका पुनः परीक्षण गर्दा यस्तो देखिएको हो।

आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. थपलियाका अनुसार नतिजा परिवर्तन भएकामध्ये प्राथमिक तहका १५, माध्यमिकका ३ र निमावि १ जना छन्। यति धेरै संख्यामा परीक्षार्थीको नतिजा परिवर्तन भएको घटनाले उत्तरपुस्तिका परीक्षणमा लापरवाही भएको भन्दै आयोगको आलोचना भएको छ। आयोगले भने मानवीय त्रुटिका कारण यस्तो भएको र सकेसम्म परीक्षालाई त्रुटिरहित बनाउन लागिपरेको दाबी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.