बलिउड कलाकार : कमाइको वैकल्पिक बाटो
बलिउड कलाकारहरू आफ्नो फिल्मी करिअरबाहेक जहिले पनि कमाइका लागि दोस्रो योजना तय गर्छन्। मनोरञ्जनउद्योगमा आफ्नो कामबाहेक उनीहरूले आयआर्जनको वैकल्पिक बाटो खोजिसकेका हुन्छन्।नायिका शिल्पा सेट्ठीले आफ्ना उद्योगपति श्रीमान् राज कुन्द्राको विभिन्न व्यवसायमा सहयोग गर्ने गरेकी छन्। ‘लोसिस’ नामक भारतीय स्पा र सलोनको चेनको पनि उनी सहसञ्चालक हुन्। सन् २०१५ मा उनले स्थापना गरेको योगा र फिटनेस क्लब पनि निकै लोकप्रिय छ। यीबाहेक उनी हाल टेलिभिजनमा पनि निकै सक्रिय छिन्। उनी विभिन्न टेलिभिजन सोहरूमा निर्णायकको भूमिकामा देखा पर्ने गरेकी छन्।
नायिका ट्विंकल खन्नाले आफ्नी आमा डिम्पल कपाडियासँग मिलेर मैनबत्तीको व्यापार सुरु गरेकी छन्। उनको मुम्बईमा ‘द ह्वाइट विन्डो’ नामक एक फर्म छ। त्यसमार्फत इन्टेरियर डिजाइनिङको काम पनि गर्दै आएकी छन्। यी विभिन्न व्यवसायबाहेक ‘डीएनए’ र ‘द टाइम्स अफ इन्डिया’मा उनी स्तम्भकार पनि हुन्। उनका लेख धेरै पाठकले मन पराउने गरेका छन्। ट्विंकलले लेखकका रूपमा पनि परिचय बनाइसकेकी छन्। उनले तीन वर्षअगाडि लेखेकी उपन्यास ‘मिसेस फन्नीबोन्स’को एक लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ। सन् २०१५ मा उनी भारतकै सबैभन्दा बढी पुस्तक बिक्री हुने महिला लेखकमा गनिएकी थिइन्। उनको दोस्रो पुस्तक ‘द लेजेन्ड अफ लक्ष्मीप्रसाद’ पनि अमेजोनको सूचीमा दोस्रो नम्बरमा परेको थियो। उनले आफ्नो निर्माण कम्पनी ‘ग्रेजिङ गोट पिक्चर्स’मार्फत ६ वटा सिनेमा निर्माण गरिसकेकी छन्। उनले हालै अर्को एक निर्माण कम्पनी ‘पद्मन’ खोलेकी छन्। त्यसैमार्फत पति अक्षय कुमारलाई लिड भूमिकामा उभ्याएर नयाँ सिनेमा बनाउने सोच उनको छ।
सुस्मिता सेनले एकल आमाकै रूपमा दुई छोरीलाई हुर्काइरहेकी छन्। उनले ‘तन्त्र इन्टरटेनमेन्ट’को ब्यानरमा एक निर्माण कम्पनी सुरु गरेकी छन्। सुस्मिताले दुबईमा एक गहना पसल पनि खोलेकी छन्। यसको व्यवस्थापन उनकी आमाले गर्ने गरेकी छन्। सेन्साजियोन कम्पनीमार्फत होटेल र स्पाको चेन नै खोल्ने उनको योजना छ।
करिश्मा कपुरले आमा तथा बच्चाहरूका लागि उपयोगी सामानहरू बिक्रीवितरण गर्ने अनलाइन पोर्टल सुरु गरेकी छन्। त्यस्तै मिस युनिभर्स २००० लारा दत्तले ‘भिगी वसन्ती’ नामक एक निर्माण कम्पनी खोलेर सिनेमा निर्माण सुरु गरेकी छन्। सन् २०११ मै उनले ‘चलो दिल’ सिनेमा बनाएकी थिइन्। चब्रा कम्पनीसँगको साझेदारीमा उनले सारीको सो रुम पनि खोलेकी छन्।
मोडल, टीभी प्रिजेन्टर तथा अभिनेत्री मलाइका अरोराले नायिका विपासा बसु र उद्यमी सुसेन खानसँग मिलेर एक फेसन वेबसाइट ‘द लेबल लाइफ’ सञ्चालन गरेकी छन्। उक्त वेबसाइटको हाल उनी स्टायल एडिटरका रूपमा कार्यरत छिन्। प्रीति जिन्टा एक स्तम्भकार, अधिकारकर्मी र आईपीएल टिम किङ्स अफ पन्जाबकी सहसंस्थापक हुन्। त्यसैगरी सन्नी लियोनले एक अनलाइन स्टोर सञ्चालन गरेकी छन्। अनलाइनमार्फत उनले भित्री पोसाक, पार्टी वेयर, फुट वेयर, स्विम वेयर लगायतका उत्पादन बिक्री गर्ने गरेकी छन्। उनको ‘लस्ट’ नामक अत्तर पनि दुबईमा लन्च गरिएको थियो। उनी चाँडै नै सौन्दर्य प्रसाधनको पनि पसल खोल्ने तयारीमा छिन्।
शाहरूख खान रेड चिल्ली इन्टरटेनमेन्टको उपाध्यक्ष हुन्। उनी आईपीएल टिम कोलकाता नाइट राइडर्सका सहसञ्चालक पनि हुन्। यो आईपीएलको सबैभन्दा धनी टिम हो। यसको ब्रान्ड भ्यालु ७० लाख छ। उनले थुप्रै ब्रान्डको प्रवद्र्धन तथा अवार्ड कार्यक्रम सञ्चालन गरेर पनि थुप्रै आम्दानी गर्ने गरेका छन्।
सुनिल सेट्ठीको भारतभर धेरै ठाउँमा जिमखाना छ। उनको ‘पपकर्न इन्टरटेनमेन्ट’ निर्माण कम्पनी पनि छ। मुम्बईमा रहेको बुटिकको चेन मिसचिफको पनि उनी सञ्चालक हुन्। मुम्बईमा उनको धेरै रेस्टुराँ पनि छ भने रियल स्टेटमा पनि उनले लगानी गरेका छन्। गुजरातको ‘चरनका सोलार प्रोजेक्ट’मा नायक अजय देवगनको ठूलो लगानी छ। सन् २००० मा सुरु भएको उनको प्रोडक्सन कम्पनी अजय देवगन फिल्मस्ले ‘राजु चाचा’ सिनेमा बनाएको थियो। उनले फिएफएक्स स्टुडियो पनि सञ्चालन गरेका छन्।
नायक अर्जुन रामपालले दिल्लीमा एलएपी नामक एक लन्ज बार सञ्चालन गरेका छन्। यसको डिजाइन शाहरूख खान पत्नी गौरी खान, डिजाइनर तरुन तहिइलानी र रोहित बलले गरेका हुन्। ‘चेजिङ गणेश इभेन्ट म्यानेजमेन्ट कम्पनी’ पनि उनले सञ्चालन गरेका छन्। सलमान खानको बिइङ हुमन ब्रान्डले फेसनका विभिन्न उत्पादन बजारमा ल्याएको छ।
(एजेन्सीको सहयोगमा)