जसको कुचीमा सरकार तर्सन्छ
काठमाडौं : तैले अश्लील चित्र किन बनाएको ? कोठामा बसेर कुची चलाइरहँदा थर्काउने स्वरमा कसैले फोन गर्यो उनलाई। ‘चित्र हेर्ने तपाईंको नजर नै अश्लील छ महोदय। कृपया कलालाई सभ्य आँखाले हेर्नुहोस्।’ फोन गर्ने मानिसलाई उनले जवाफ फर्काए। यो फोन थियो काठमाडौं महानगरपालिकाका एक कर्मचारीको।
कलाकार लक्ष्मण श्रेष्ठले यसरी गाली खान थालेको वर्षौं भइसक्यो। कहिले महानगरपालिकाले धम्क्याउँछ त कहिले स्थानीय बासिन्दाले धपाउँछन्। आफ्नो घरको भित्तामा चित्र कोर्न दिन्न भन्दै घरबेटी कुर्लिन्छन्। २०७२ सालमा नेपालमा ठूलो भूकम्प गयो। हजारौं मान्छेले अकालमा ज्यान गुमाए। लाखौं घर र भौतिक संरचना भत्किए र अर्बौंको क्षति भयो। लगत्तै पेट्रोलियम पदार्थमा भारतले नाकाबन्दी लगायो। राजधानीमा पेट्रोल र ग्यासको कालोबजारी मौलायो। महिना दिनमै केही मान्छेले काठमाडौंमा घर ठड्याए। प्रशस्त कमाए। यसको विरोध गर्दै उनले भृकुटीमण्डपको भित्तामा ‘ग्यास सिलिन्डरमा मिडिल फिंगर’ शीर्षकमा चित्र कोरे। अर्को दिन काठमाडौं महानगरपालिकाले फोन गरेर धम्क्यायो।
‘भित्तामा राजनीतिक दलका नारा लेख्न हुने, प्रधानमन्त्रीका फोटो टास्न करोडौं रुपैयाँ खर्च गर्न हुने, मैले चित्र कोर्न किन नहुने ? स्ट्रिट पेन्टिङमा मैले सामाजिक, राजनीतिक विषयमा देखिएको लापरबाहीको विरोधस्वरूप बाटोको भित्तामा चित्र कोर्न सुरु गरेको हुँदा’, श्रेष्ठ स्पष्टीकरण दिन्छन्।
नेपालगन्जका स्थानीय बासिन्दा हुन्, लक्ष्मण। आमा बुवाले पसल गर्छन्। उनी पनि कहिलेकाहीँ पसलमा जाने गर्थे। उनको घरअगाडि एउटा क्यासेट पसल थियो। सञ्चालक थिए रेजी डंगोल। डंगोलले निकै सुन्दर पेन्टिङ बनाउँथे। र आफ्नो पसलमा टाँस्थे। क्यासेट पसलको भित्तामा टाँसिएको चित्र हेरेर श्रेष्ठ घण्टांै बिताउँथे। आफूलाई पढाउने शिक्षक अकिल शर्माले बनाउने चित्रबाट प्रभावित थिए उनी। एसएलसीपछि उनी आर्ट नै पढ्न चाहन्थे तर घरबाट म्यानेजमेन्ट पढ्ने दबाब आयो। काठमाडांैमा पढ्दै एक होटेलमा एकाउन्टेन्टको जागिरे थिए उनी। पैसा पनि कमाएकै थिए तर मन खुसी थिएन।
केही समयपछि नेपालगन्ज फर्किए। पहिलोपटक आफूभित्रको चित्रकारिताको रहर सडकमा देखाउने निधो गरे। संविधानसभाको पहिलो चुनाव सकिएपछिको समय थियो। प्रत्यक्ष र समानुपातिक पद्धतिबाट निकै सांसद चयन भएका थिए। यहीबेला श्रेष्ठले ‘सांसद् भर्सेस जनता’ शीर्षकको चित्र नेपालगन्जकै रोडमा बनाए। जहाँ बक्सिङ रिङभित्र सांसद र जनता पक्ष प्रतिपक्षमा उभिएका थिए।
यो चित्रले धेरैको ध्यान खिच्न सफल भयो। उनको चित्रकारिताको चर्चा हुन् थाल्यो। उनले नेपालगन्जकै सडकमा ‘भद्रगोल देशका व्यस्त नागरिक’ म मस्त देश अस्तव्यस्त’ लगायतका सिरिजमा केही काम गरे। आफ्ना कुरा भन्न आर्ट उपयुक्त माध्यम हो। प्रायजसो आर्टिस्ट एकान्त मन पराउँछन्। स्टुडियोमा बसेर घण्टौं कुची चलाउँछन्। तर यो मामिलामा लक्ष्मण भिन्न छन्। उनी भन्छन्, ‘कला देखिने हुनुपर्छ। समाजबाट जे कुरा कलाकारले सिक्छ त्यसको प्रतिक्रिया हो आर्ट। यसले जनमानसमा प्रभाव ल्याउन सक्नुपर्छ।
सडकमा पेन्टिङ किन त ? समाजका सबै मान्छेको साझा ठाउँ हो सडक। यहाँ समाजका अति विपन्नदेखि अति सम्पन्न मानिसलाई पनि सडकमै भेटिन्छ। आर्ट प्रदर्शन गर्ने र आफ्ना कुरा बताउने उपयुक्त ठाउँको रूपमा सडक प्रयोग गर्ने गरेको उनले बताए। आर्टले सबैलाई समान मानिसको रूपमा हेर्छ। हरेकले आफ्नो बुझाइअनुसार आर्टलाई महसुस गर्छ।
फाइन आर्टमा केही समय अध्ययनसमेत गरेका हुन् उनले। तर पढाइलाई निरन्तरता दिएर पूरा गर्न भने सकेनन्। कुची र रङ लिएर बाटोमा चित्र बनाउँदै हिँडे उनी। भन्छन्, ‘जीवन अनिश्चित छ। मसँग सिर्जना गर्ने क्षमता चाहिँ छ तर कस्तो आर्ट बनाउँछु कुनै निश्चित छैन। जीवनका घटना पनि यस्तै अनिश्चित छ।’ भोलि जे होला होला आजको दिन भरपुर काम गरौं केही सिर्जनशील बनाउँ भन्ने उनको आफ्नै सिद्धान्त छ।
भीमसेनगोलादेखि मध्यबानेश्वर आउने सडकका भित्ता सुन्दर चित्रले रंगिएका छन्। सन् २०२२ सम्म यो टोलमा करिब एक सय एक वटा स्ट्रिट चित्र बनाउने महत्त्वाकांक्षी योजना बनाएको छ उनीहरूको समूहले। खोज नाम दिएको उनीहरूको समूहमा पुष्कर चाम्लिङ राई, यम्बङ गाहहुड, राजु घलान, विदेश चाम्लिङ राई, शिवकुमार शर्मा छन्। यसको नेतृत्व लक्ष्मणले गरेका छन्।
यही टोलको एउटा भित्तामा ‘मनी’ शीर्षकको चित्र कोरिएको छ। चित्रमा एउटा चराको बच्चा एकातिर मुख फर्काएर गुँडमा बसेको छ। पर कतैबाट माउ चरा उडेर आएर सय रुपैयाँको नोट बच्चालाई खुवाउन लागेको छ। आधुनिक मान्छेलाई पैसाले कतिसम्म लाचार बनाउन सक्छ चित्रमा प्रस्ट्याइएको छ।
बच्चादेखि वृद्धसम्म अहिले सबैलाई पैसाले आक्रान्त बनाएको छ। मानवीय संवेदना, आत्मीयता र मायाको बीचमा पनि पैसाले कारोबार गर्न थालेको छ। बच्चालाई भोक लाग्दा आमाले खाजा बनाएर दिनुपर्नेमा पैसाको नोट फालिदिने गलत चलनप्रति उनको व्यंग्य थियो त्यो।
वीर अस्पतालको बाटो हुँदै भोटाहिटी जाने मूल सडकमा बायाँपट्टि एउटा चित्र कोरिएको छ। ‘डेड सरकार’ लेखिएको उक्त चित्रमा बाटो हिँड्ने जो कोहीको आँखा अडिन्छ। छेउमा एक मानव खप्पर छ जसमा सेतो रङ पोतिएको छ। सेतो पहिरनमा सजिएको एक मानिस आगोको मुस्लोमा चिता जलाइरहेको छ। केही परबाट गिद्धले उक्त मानिसलाई पछाडिबाट झम्टिन खोजिरहेको भयावह दृश्य छ। आगोको रापको बीचमा लेखिएको छ ‘डेड सरकार’।
अहिले उक्त चित्रमा लेखिएको डेड सरकारलाई महानगरका कर्मचारीले सेतो रङ लगाएर मेटिदिएका छन्। उनी भन्छन्, ‘हाम्रो चित्रसँग सरकार डराउँछ बारम्बार। एउटा कलाकारले स्वतन्त्र रूपमा चित्र बनाउन पनि नपाउने ? उसले चित्त नबुझेको विषयमा विरोध गर्न पनि नपाउने ? ’
यो चित्रले सरकारलाई मृत्यु भइसकेको वस्तुको रूपमा चित्रण गर्न खोजेको श्रेष्ठ बताउँछन्। किन त ? देशभर भद्रगोल छ। न्याय नपाएर पीडितहरू छट्पटाइरहेका छन्। भ्रष्टाचार र घुसखारी बढ्दो छ। सरकार पानीजहाज र मोनोरेलको सपना देखाइरहेछ। स्ट्रिट पेन्टिङ गरेर कसैले पैसा दिँदैन। घन्टौं उभिएर चित्र बनाइरहँदा चियासमेत सोध्दै कसैले। भोकभोकै काम गर्नुपर्छ। घरपरिवार, साथीभाइ र अन्य कलाकारले पनि पैसा नआउने यो स्ट्रिट आर्ट किन गर्छन् भनेर सोध्छन् तर उनलाई बाटोमा सचेनामूलक चित्र बनाउनमै आनन्द लाग्छ।