आर्मीलाई हक्की उपाधि
हेटौंडा : सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ।
नेपाल हक्की संघको आयोजनामा हेटौंडामा शुक्रबार सम्पन्न फाइनलमा प्रदेश ३ लाई पेनाल्टीमा ३-० गोलले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो।
निर्धारित समय १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो। पेनाल्टीमा आर्मीका सीताकुमारी चौधरी, सीतामाया बल र अमा गुरुङले गोल गरिन्।
प्रदेश ३ की नीलिमा पाण्डेयको प्रहार बाहिरियो भने अञ्जु गुरुङ र स्मृति खत्रीको प्रहार आर्मीका गोलरक्षक कुष्मा रानामगरले असफल बनाइन्।
यसअघि खेलको १७औं मिनेटमा प्रदेश ३ की नीलिमा पाण्डेय र ३३औं मिनेटमा आर्मीकी सीताकुमारी चौधरीले गोल गर्दै खेललाई बराबरी गरेका थिए। प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हात पार्यो। तेस्रो स्थानको लागि शुक्रबारै भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सडेनडेथमा पराजित गर्यो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा पनि खेल २-२ गोलको बराबरीमा सकिएपछि सडेनडेथबाट खेलको निर्णय गरिएको थियो। प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ३ की नीलिमा पाण्डेय घोषित भइन्। उदीयमान खेलाडी गण्डकी प्रदेशकी कमला पुन र उत्कृष्ट गोलरक्षक आर्मीकी कुष्मा रानामगर घोषित भए।