छलाङ मार्दै उदयपुर सिमेन्ट
चार वर्षअघि उदयपुर सिमेन्ट धराशायी अवस्थामा थियो। कर्मचारीलाई तलब खानसमेत हम्मेहम्मे थियो। तर दुई वर्षयता उदयपुर सिमेन्ट नाफामा छ। अधिकांश संस्थान धराशायी भइरहेका बेला उदयपुर सिमेन्टले भने सफलता चुमिरहेछ। उदयपुरको यो उद्योगबाट उत्पादित गैंडा छाप सिमेन्टको गुणस्तर राम्रो भएकाले पनि यसको माग बढ्दै गएको हो। उद्योगका वरिष्ठ अधिकृत सञ्जयप्रताप सिंहका अनुसार व्यवस्थापन पक्ष बलियो भएकाले उद्योगले सफलता पाएको हो।
सुरेन्द्र पौडेलले महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दा उद्योगको उत्पादन व्यापक रूपमा गिरेको थियो। सिमेन्ट भर्ने बोरासमेत थिएनन्। कोइला र चुनढुंगा केही दिनका लागि मात्र स्टक थियो। अर्कोतर्फ तत्कालै तिर्नुपर्ने २० करोड रुपैयाँको ऋण थियो। कर्मचारीले पाँच महिनादेखि तलब पाएका थिएनन्। व्यवस्थापन सही ढंगले हुन सकेपछि मात्रै उद्योगले सफलता हात पार्दै गएको सिंहको भनाइ छ। ‘व्यवस्थापन पक्ष बलियो भयो भने उदयपुर मात्र होइन, सबै संस्थानले सफलता प्राप्त गर्न सक्छन्’, सिंह भन्छन्।
उदयपुर सिमेन्ट नेपालको सबैभन्दा ठूलो उद्योग हो। २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उद्योग स्थापना भएको थियो। उद्योगले २०४९ बाट उत्पादन थालेको थियो। सुरुका दिन पूर्ण क्षमता (प्रतिदिन ८०० मेट्रिक टन ) क्लिंकर उत्पादन गरे पनि केही वर्षयता लामो समयसम्म ६०० मेट्रिक टन पनि उत्पादन गर्न सकेको थिएन। पछिल्लो समय भने उद्योग सुधारोन्मुख छ।
उदयपुर सिमेन्टको त्रियुगा नगरपालिका– ११ जलजलेको वन क्षेत्रमा कारखाना छ। उद्योगसँग हाल कच्चा पदार्थ पर्याप्त मात्रामा छ। उद्योगलाई चाहिने चुनढुंगा प्रशस्त रहेकाले यस उद्योगले क्षमता विस्तार गरी यसको उत्पादन देशभर पुर्याउन सक्ने अवस्था छ। उद्योगको मर्मत, सम्भार, नियमित विद्युत्, बलियो व्यवस्थापन र कर्मचारी लगनशीलता पनि बढाइएको छ। जापानले दिएको मेसिनमा १५ करोड खर्च गरेर मर्मत गरिएको छ। उक्त मेसिनबाट कम्तीमा १० वर्ष उत्पादन गर्न सकिनेछ। उद्योगले गत वर्ष २५ करोडभन्दा बढी नाफा गर्न सफल भएको छ।
व्यवस्थापन स्रोतले जनाएअनुसार, उद्योगले दैनिक आठ सय ३० मेट्रिक टन क्लिंकर र आठ सय ४० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ। ६ अर्ब ३० करोड लागतमा उदयपुर सिमेन्ट उद्योगको कारखाना स्थापना गरिएको थियो। विगतमा मासिक ३० करोड घाटा व्यहोर्दै आएको उदयपुरले पछिल्लो दुई वर्षयता करिब बर्सेनि २५ करोड नाफा गर्न सफल भएको हो।
नाफामा जान थालेपछि उद्योगको क्षमता विस्तार गर्ने तयारी भइरहेको छ। निमित्त महाप्रबन्धक नवलकिशोर शाहले उद्योगको क्षमता बढाउने तयारी भइरहेको बताए। मेसिन, र–मिल, कोल मिल, ग्रेट कुलरको मर्मत गरेर उद्योगको क्षमता थप बढाउने तयारी भइरहेको छ। ‘यसरी मर्मत गरेर दैनिक नौ सयदेखि एक हजार मेट्रिक टनसम्म पुर्याउन सकिन्छ’, उनले भने। तत्काल क्षमता बढाउने योजना अघि सार्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई अर्ब १४ करोड बजेट मागेको छ। उक्त रकमबाट उद्योगको दैनिक क्षमता १८०० देखि २२०० मेट्रिक टन क्षमता हुने बताइन्छ।
उद्योगले मागेको उक्त रकम भने मन्त्रालयले सीधै अनुदान नदिने भएको छ। तर मन्त्रालय ऋणका लागि बैंक ग्यारेन्टी बस्ने भएको छ। ‘सरकार जमानी बस्दा मात्रै पनि बैंकले ऋण पत्याउँछन्’ शाहले भने, ‘ऋण पाएमा उद्योगको क्षमता बढाउने छौं।’ उदयपुरले भारतबाट दक्ष जनशक्ति बोलाएर तीन÷चार वर्षदेखि मेसिनको मर्मत गरेको थियो। चार वर्षको मेहनतले घाटा पूर्ति हुँदै आएको र आगामी दिनमा निरन्तरता दिन उद्योगले क्षमता बढाउने तयारी गरेको हो।’
व्यवस्थापन पक्ष बलियो भएमा उदयपुर मात्रै होइन, कुनै पनि औद्योगिक संस्थान पनि नाफामै सञ्चालन हुन सक्छ भन्ने उदाहरण हो उदयपुर सिमेन्ट। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराई पनि उदयपुर सिमेन्ट सफल हुनुमा व्यवस्थापन पक्ष राम्रो भएको बताउँछन्। ‘म्यानेजरले सूक्ष्म ढंगले व्यवस्थापन गर्न सक्दा मात्रै संस्थान सफल हुँदो रहेछ भन्ने महसुस भएको छ’, उनले भने।
उदयपुर सिमेन्ट उद्योगले चालु गत वर्ष १० वर्षयताकै बढी सिमेन्ट उत्पादन गरेको थियो। यस वर्ष पनि राम्रो उत्पादन हुने वरिष्ठ अधिकृत सिंहले बताए। उदयपुर सिमेन्टले ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ। यसको बजार काठमाडौं र पूर्वीक्षेत्र हो। काठमाडौंसहित पूर्वी जिल्ला सुनसरी, सिराहा, सप्तरी, झापा, उदयपुरलगायत विभिन्न जिल्लामा उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा छाप सिमेन्टको माग बढी मात्रामा छ।
उद्योगका लागि आवश्यक चुनढुंगा जिल्लाकै उत्तरी भेगको सुकौरामा छ। सिमेन्ट उत्पादन गर्नका लागि भुटान र भारतबाट कोइला आयात हुने गरेको छ। करिब ८५ प्रतिशत चुनढुंगा, १४ प्रतिशत रातोमाटो र एक प्रतिशत फलाम मिलाएर क्लिंकर उत्पादन हुन्छ।
मृतोन्मुख रहेको उदयपुर सिमेन्टलाई नाफामा ल्याउन महŒवपूर्ण भूमिका निर्वाह गरेका महाप्रबन्धक सुरेन्द्र पौडेल केही समययता उदयपुर सिमेन्टको जिम्मेवारीबाट बाहिरिएका छन्। कर्मचारीको प्रोत्साहनमा जोड दिइएकाले उदयपुर सिमेन्ट कारखानाले सफलता प्राप्त गरेको पौडेलको धारणा छ। जिम्मेवारी सम्हालेदेखि नै समस्याको विषयवस्तु पहिचान गरेर योजना बनाएको उनले बताए। ‘सुरुमा समस्या पहिचान गरी कसरी समाधान गर्न सकिन्छ भन्ने अध्ययन गर्नुपर्छ’, उनले भने। उदयपुर सिमेन्ट मात्र होइन, जुनसुकै संस्थान पनि सफलरूपमा सञ्चालन गर्न खास समस्या केलाएर त्यसलाई निराकरण गर्न सूक्ष्म ढंगले व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन्। कर्मचारी व्यवस्थान र मेसिन मर्मत गरेर आफूले सुधारको बाटो लिएको उनले बताए।
व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा छलांग मारेको छ।
उदयपुर सिमेन्टको भविष्य उज्ज्वल रहे पनि व्यवस्थापन रफ्तारमा जान नसके समस्या आउन सक्ने उनी ठान्छन्। नवनियुक्त महाप्रबन्धकले पनि त्यसरी द्रूतगतिमा सूक्ष्मढंगले व्यवस्थापन गर्न सके उद्योग सधैं अघि बढ्ने उनको विश्वास छ।
यसरी व्यवस्थापकीय र प्राविधिक पक्ष सुधारसँगै उदयपुर सिमेन्ट उद्योगले उत्पादनमा छलाङ मारेको हो। राजनीतिक भागबन्डा, नियुक्ति र कर्मचारी आन्दोलनले थलिएको उद्योगले पछिल्लो समयमा नयाँ रेकर्ड कायम गर्दै गएको छ। तत्कालीन महाप्रबन्धक पौडेलले विद्युत् प्राधिकरणले नियमित विद्युत् उपलब्ध गराएसँगै उद्योगले नयाँ गति लिन सुरु गरेको सुनाउँछन्।
जापानको वाईसीएफ (ओभरसिज इलेक्ट्रोनिक कोअपरेसन फ्रन्ट) को जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लगानीमा गैंडा छाप लोगो भएको सिमेन्ट उद्योग स्थापना भएको थियो। नेपाल सरकारले उद्योगबाट ६ अर्ब ५५ करोड ६२ लाख ऋण उठाउने सर्तमा उद्योग व्यवस्थापन पक्षलाई जिम्मा दिएको थियो। २०४९ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगमा ०५१ माघसम्म जापानी प्राविधिकले मात्र सञ्चालन गरेका थिए। ०५१ माघबाट मात्र नेपाली प्राविधिकले उत्पादन गर्न थालेका हुन्। जापानी प्रविधि शतप्रतिशत उत्पादन गरेको उद्योगमा नेपाली प्राविधिकको हातमा आएपछि दैनिक ४० देखि ५० प्रतिशतको बीचमा मात्र उत्पादन भएको थियो।
जापान सरकारबाट नेपाल सरकारलाई हस्तान्तरण गरेलगत्तै उद्योगभित्र राजनीतिक भागबन्डा सुरु भएको थियो। जापान सरकारले सञ्चालन गर्दा क्षमताअनुसार नै उत्पादन हुँदै आएको थियो। तर उसले हस्तान्तरण गरेसँगै ओरोलो लागेको उदयपुर केही वर्षयता मात्रै पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।