के अझै प्रतिभा आकाश माग्छे ?
त्यसो भए त्यही हो, कंकाल मेरो पुत्रको
यो सबै तिमीले नै गरेका हौ कृष्ण
सुन
आज तिमी पनि सुन कृष्ण
म तपस्विनी गान्धारी
आफ्नो सम्पूर्ण जीवनभरिका पुण्यहरूको
आफ्नो सबै पछिल्ला जन्मका पुण्यहरूको
बल संकलित गरेर भन्दै छु
कृष्ण सुन
तिमीले चाहेको भए रोकिन सक्थ्यो यो युद्ध
मैले जन्माएकी थिइनँ यो कंकाल
तिम्रै इशारामा गर्यो भीमले अधर्म
किन दिएनौ तिमीले त्यो श्राप भीमलाई
जुन दियौ तिमीले निरपराध अश्वत्थामालाई
तिमीले गरेका हौ प्रभुताको दुरूपयोग...
नाटक ‘अन्धो युग’मा कृष्णसँगको गान्धारीको संवाद हो यो। अमेरिका जानुअघि सूर्र्यमाला शर्माले रंगमञ्चमा बोलेको अन्तिम संवाद यही थियो। त्यसपछि उनले दुई दशक रंगमञ्च र सिनेमाबाट टाढिनु पर्यो। अमेरिका जानुअघिको अन्तिम नाटक कुन हो भन्ने सन्दर्भमा उनले यही संवाद सुनाइन्।
धर्मवीर भारतीले हिन्दी भाषामा लेखेको काव्य नाटक ‘अन्धायुग’ (नेपाली अनुवाद अन्धोयुग) भारतमा निकै प्रसिद्ध छ। धेरै नाट्य समूहहरूले यसको मञ्चन गरेका छन्। नेपालमा पनि यसको मञ्चनले निकै प्रशंसा पायो। बीपी कोइराला नेपाल–भारत प्रतिष्ठानको सहयोगमा भारतका प्रसिद्ध निर्देशक भानु भारतीले काठमाडौंमा एकमहिने नाट्य कार्यशाला चलाएका थिए। त्यही कार्यशालाबाट नेपाली कलाकारहरूलाई लिएर तयार पारिएको यो नाटक २०५५ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा मञ्चन गरिएको थियो। यो नाटकमा सुनील पोखरेलले अश्वत्थामाको भूमिका निर्वाह गरेका थिए। उनी यो नाटकको सहनिर्देशक पनि थिए। नाटकलाई नेपालीमा अनुवाद गरेका थिए, राजेन्द्र शलभले।
महाभारतको युद्धपछिको स्थितिलाई फरक ढंगले व्याख्या गरिएको यस नाटकमा अश्वत्थामा केन्द्रमा छन्। र, महाभारतको मूल कथ्यले स्थापित गरेका कतिपय नायकहरू यस कृतिमा खलनायक लाग्छन्। नाटकले मिथकीय कथालाई नयाँ व्याख्यामा लैजान्छ। नाटकले वैचारिक हिसाबले नयाँ दृष्टिकोणमात्रै दिएको छैन, यसका संवाद पनि निकै शक्तिशाली लाग्छन्।
यस्तो नाटकमा प्रमुख भूमिका निर्वाह गर्न पाउनु धेरै कलाकारको सपना हुन्छ। सूर्र्यमाला शर्माका लागि पनि यो भूमिका त्यस्तै रह्यो। त्यसैले पनि उनी आफ्ना संवादहरू अझै सम्झिरहेकी छन्। भन्छिन्, ‘गान्धारीको जस्तो भूमिका निर्वाह गर्ने इच्छा अझै छ।’
नियति, गान्धारीले आँखामा पट्टी बाँधेझैं उनले लामो समय आफ्नो अभिनय यात्रामा पट्टी बाँधिन्। त्यो पट्टी बाँध्ने योजनामा कोही धृतराष्ट्र थियो थिएन, उनले भनिनन्। तर, नेपाली रंगमञ्च र पर्दाबाट दुई दशकको त्यो अलप उनका लागि निकै पीडादायी रह्यो। उनी महसुस गर्छिन्।
.........
एक समयकी नामुद कलाकार सूर्र्यमाला शर्मासँग गफगाफका लागि दरबारमार्गस्थित ब्याग जुत्ता पसल ‘बेन्टले दी लेदर’मा छु। यो पसल उनकी बहिनी चन्द्रमालाको हो। यही पसलमाथि छ, माला आर्ट एकेडेमी। एकेडेमीको अध्यक्ष हुन् चन्द्रमाला। एकेडेमीकी डाइरेक्टर हुन् सूर्र्यमाला। हामी माला आर्ट एकेडेमीभित्रको उनकै कार्यकक्षमा बसेर भलाकुसारी गरिरहेका छौं। माला आर्ट एकेडेमी अभिनय प्रशिक्षण केन्द्र हो। अमेरिकाबाट फर्किएपछि सूर्र्यमाला र सरोज खनाल नेपालमा स्थायी रूपमा केही गर्न चाहन्थे। केही महिनादेखि माला आर्टमा पूर्ण रूपमा गाँसिएका छन्। यस संस्थामा अरू दुई प्रतिभाशाली व्यक्तित्व पनि छन्, रंगकर्मी वीरेन्द्र हमाल र चलचित्र निर्देशक सुवर्ण थापा।
एक दुईपटक देखेको मानिसले सूर्र्यमाला र चन्द्रमालालाई छुट्याउन सक्दैनन्। स्वर त झन् उस्तै दुरुस्तै। उस्तै अनुहार हुनुको फाइदा, दुई जनाले एउटा तर्साउने नाटक पनि खेले ‘एउटा युद्ध अँध्यारोसँग।’ यो नाटक पनि सभागृहमा मञ्चन भएको थियो। मरिसकेकी श्रीमती अर्कोतिरबाट छायाँ बनेर आउँदा दर्शकहरू अचम्ममा परेको घटना सूर्र्यमालाले सुनाइन्।
‘स्मृतिको पर्खालभित्र’ विजय मल्लले लेखेको र हरिहर शर्माले निर्देशन गरेको नाटक हो; जसमा सूर्र्यमालाले पनि अभिनय गरिन्। सूर्र्यमालासँग म उनकै स्मृतिको पर्खालभित्र घुमिरहेको छु। उनको अभिनय यात्राका निकै रोमाञ्चक दिन र जिन्दगीका केही पीडादायी मोडहरूसँग छौं हामी। सँगै रहेकी चन्द्रमाला एकछिन बाहिर गइदिइन्। कक्षा सकेर सरोज खनाल देखा परे। म एकछिन सूर्र्यमालासँग एकाग्र भएर कुरा गर्न चाहन्छु।
उनका आमाबुवाको अन्तर्जातीय विवाह थियो। आमा नेवार, बुवा ब्राह्मण। बुवाको परिवार निकै संस्कारी भएको हुनाले सानो छँदा सूर्र्यमालाले आमाको जातकै कारणले विभेद भोग्नु पर्यो। नातिनीहरूको नाक नछेडी हजुरआमाले पानी नचलाउने भइन्। तर, विस्तारै बुझ्ने भएपछि त्यसविरुद्ध बोल्न सक्ने भइन् उनी। पाँच दिदीबहिनीमा सूर्र्यमाला माइली हुन्। पाँचमध्ये तीन दिदीबहिनी अभिनयमा बलियो प्रभाव छोड्न सफल भए। उनीहरूका एक भाइ सुनील शर्मा चित्रकार हुन्। उनी अमेरिकामा छन्।
सूर्र्यमाला अभिनयमा आउनुको कथा लामो छ। बाल्यकालदेखि नै उनी नेपाल भाषाका डबली नाटक हेरेर हुर्किइन्। उनका मामाहरू महेश्वर महर्जन, चैत महर्जन डबली नाटक खेल्थे। उनले हेरेको पहिलो डबली नाटक ‘मायाही’ (आमाको रगत) थियो। उनी सम्झन्छिन्, ‘यस नाटकमा नायक थिए डुगोलाल शाही। राती गाडी चल्न छाडेपछि कालीमाटी मूल सडकमा पेट्रोलका ठूला ड्रम मिलाएर त्यसमाथि कार्पेट बिछ्याएर स्टेज बनाइन्थ्यो र नाटक मञ्चन गरिन्थ्यो। सयौं मानिस राति अबेरसम्म नाटक हेर्न बस्थे।’ उतिखेर मनोरञ्जनका अरू विकल्प थिएनन्। डबली नाटकतर्फ मानिसहरूको ठूलो आकर्षण थियो।
उनकी बहिनी चन्द्रमाला र उनी ज्यादै मिल्थे। उतिखेर सिनेमाघरहरूमा साना उमेरका दर्शकलाई एउटै टिकटमा दुईजनालाई प्रवेश छुट थियो। तर, दुवैजना एउटै कुर्सीमा बस्नुपर्ने। चन्द्रमाला र उनले धेरै फिल्म एउटा टिकटमा हेरे, एउटै कुर्सीमा बसेर। यी दुई दिदीबहिनी बीचको त्यो आत्मीयता आजसम्म पनि देख्न सकिन्छ। पैसा बचाएर उनीहरू गीतका किताब किन्थे। सूर्र्यमाला भन्छिन्, ‘पुराना हिन्दी फिल्मका सयौं गीत हामीलाई अहिले पनि कण्ठै आउँछ।’ सानै उमेरदेखि चन्द्रमाला जुन फिल्म हरेर आएको छ, त्यही फिल्मका संवाद र अभिनय घरमा आएर नक्कल गर्थिन्। तर, सूर्र्यमाला आफूलाई सानो छँदा लजालु र अन्तर्मुखी भएको ठान्छिन्।
सूर्यमाला गान्धारी पनि बनिन् र सुशीला पनि। उनले आजसम्म अनेकौं चरित्र निर्वाह गरिन्। तर, प्रतिभाले मागेको आकाश उनका लागि सार्थक भयो कि भएन ? के उनी अझै आकाश माग्छिन् ?
कक्षा ७ मा पढ्दै गर्दा उनीहरूले गोरखापत्रमा एउटा विज्ञापन देखे। त्यसमा शाही नेपाली चलचित्र संस्थानले ‘कुमारी’ फिल्मका लागि नायिकाको माग गरेको थियो। सूर्र्यमाला उनकी दिदी श्रीमाला र बहिनी चन्द्रमाला तीनैजनाले एक रुपैयाँको टिकट टाँसेर आवेदन दिए। अन्तर्वार्तामा जगन्नाथ तिमल्सिना र चेतन कार्की थिए। सूर्र्यमाला भन्छिन्, ‘चेतन कार्कीले भन्नुभयो, यति सानै उमेरमा कसरी नायिका बन्ने ? ठूली भएपछि अर्को फिल्ममा खेलाऊँला।’ सूर्र्यमाला त्यतिखेर १३ वर्षकी थिइन्।
२०३३ साल दुवै दिदीबहिनीका लागि महत्वपूर्ण वर्ष रह्यो। राष्ट्रिय नाचघरमा मनबहादुर मुखियाको नाटक ‘क्रसमा टाँगिएको जिन्दगी’ हरिप्रसाद रिमालले निर्देशन गर्दै थिए। त्यही नाटकमा एउटा दृश्य रहेछ पार्टीको। पार्टीमा आउने पाहुनाको भीड चाहिएको रहेछ। सूर्र्यमालाको परिवारसँग शम्भुजित बाँस्कोटाको सहज सम्बन्ध थियो आइजाईको। शम्भुजितले चन्द्रमालालाई नाचघर जान भने। यसरी चन्द्रमालाले नाटकमा पहिलो अभिनय गरिन्। सूर्र्यमाला भन्छिन्, ‘त्यही भीडमा देखिनेमा हरिवंश आचार्य पनि थिए। मचाहिँ चन्द्रमालाको पछि लागेर जान्थेँ रिहर्सल हेर्न।’
दिदी सूर्र्यमाला शर्माको सुरुआती दिनको संघर्षको कथाभन्दा बहिनी चन्द्रमालालाई छुटाउन मिल्दैन। चन्द्रमाला अभिनय गर्ने ठाउँमा जाँदाजाँदै सूर्र्यमालाले नाटक खेल्ने अवसर पाइन्। त्यसैले सूर्र्यमाला आफ्नो अभिनय यात्राको प्रेरणा र गुरु चन्द्रमालालाई मान्छिन्।
२०३७ सालको कुरा हो, अर्को संयोग तत्कालीन राजकीय प्रज्ञाप्रतिष्ठानमा अभिनयको कक्षा सुरु भयो। यही कक्षाका लागि हरिहर शर्माले चन्द्रमालालाई बोलाए। जागिरे विद्यार्थीको अवसर थियो। नाटक सिक्नुपर्ने र प्रज्ञाप्रतिष्ठानका लागि जागिरे कलाकारका रूपमा काम पनि गर्नुपर्ने। त्यसबापत तलब पाइन्थ्यो। चन्द्रमाला प्रज्ञाप्रतिष्ठान जाँदा सूर्र्यमाला पनि पछि लागेर जान थालिन्। यही कक्षाका लागि सुनील पोखरेल र बद्री अधिकारी विराटनगरबाट सँगै आएका थिए प्रज्ञाप्रतिष्ठानमा आवेदन दिन। सुनील छानिए, बद्री छानिएनन्। त्यसपछि बद्रीले आरोहण समूह बनाउने निर्णय गरे। यही समूहमा सुनील, समन्त र प्रदीप श्रेष्ठ पनि थिए। आरोहणले नयाँ नाटक बनाउने भयो ‘प्रतिभा आकाश माग्छे’। बद्री अधिकारीको लेखन तथा निर्देशन रहेको यो नाटकमा बद्री, सुनील र चन्द्रमाला प्रमुख भूमिकामा थिए। यो नाटकको निर्माता बनिन् चन्द्रमाला। नाटककी नायिका प्रतिभा अर्थात् चन्द्रमालाको साथीको भूमिकामा कलाकार चाहियो। यसका लागि सूर्र्यमाला तयार भइन्। नायिकाको बहिनीको लागि निशा शर्मा तयार भइन्। यसरी ‘प्रतिभा आकाश माग्छे’ नाटकमा तीन दिदीबहिनी एकैपटक देखा परे। कालान्तरमा तीनजनै दर्शकहरूको माझ अभिनयको गहिरो प्रभाव छोड्न सफल भए।
नाटक खुब चल्यो। सभागृहमा १५ दिनसम्म मञ्चित यो नाटक नाचघरमा पनि मञ्चन भयो। सूर्र्यमाला भन्छिन्, ‘नाचघरमा यो नाटक मञ्चन हुँदा खेम शर्माले ब्ल्याकमा टिकट बेच्थे। सिट नभएपछि एक जनाको १० रुपैयाँ लिँदै कुर्सीहरूको बीचको हिँड्ने खुड्किलाहरूमा बसाउँथे।’ यो नाटकपछि सूर्र्यमालाले नियमति नाटक गर्न थालिन्। २०४० सालमा बद्री अधिकारीकै लेखन निर्देशनको नाटक ‘मूल सडककी आमा’मा उनले अभिनय गरिन्। दुई पात्र मात्रै भएको यो नाटकमा उनीसँग थिए राजु सिलवाल। यही नाटकबाट उनले गोदावरी एल्मुनाई एसोसिएसनको नाटक प्रतियोगितामा उत्कृष्ट कलाकारको पुरस्कार पाइन्। २०४१ सालमा उनले अर्को नाटक खेलिन्, ‘यो नाटक हैन’। बबी र शीतल नेपालको लेखन र निर्देशन रहेको यो नाटक पनि खुब चल्यो। सूर्र्यमालाले नेपाल भाषाको नाटकमा पनि अभिनय गरिन्।
आरोहणमा आबद्ध भएपछि धेरै नाटक उनको घरमै रिहर्सल हुन
थाल्यो। तीन दिदीबहिनी नै नाटकमा अभिनय गर्न थालेपछि आमाको पनि पूर्ण समर्थन रह्यो। उनी भन्छिन्, ‘बद्री अधिकारी, अनिल पाण्डे, सुनील पोखरेल जस्ता रंगकर्मी घरमा निरन्तर आइरहने। आमालाई पनि समूहप्रति विश्वास भयो। त्यसैले उहाँले धेरै सहयोग गर्नुभयो।’ २०४१ सालमै चन्द्रमाला शर्माले नीर शाहको निर्देशनमा ‘वासुदेव’जस्तो राम्रो फिल्म पाइन्। चन्द्रमालाको कामले उनलाई पनि काम गरेर देखाउनुपर्छ भन्ने उत्साह थप्यो। सूर्र्यमालाले पनि नेपाल टेलिभिजनको स्थापनासँगै त्यहाँबाट बन्ने ट्रायल टेलिफिल्मदेखि सुरु गरेर धेरै टेलि शृंखलाहरूमा अभिनय गरिन्। उनले नेपाल टेलिभिजनमा अभिनय गरेको पहिलो टेलिफिल्म हो, ‘अप्रिल फुल।’ उनले ‘मसान’ नाटकमा हेलेनको भूमिका पनि गरिन्। नाटकलाई ओभि भ्यानले खिचेर टीभीमा प्रसारण गरियो। पछि नयनराज पाण्डेले यो नाटकलाई टेलिभिजनकै लागि टेलिफिल्म बनाए र सूर्र्यमालाले यसमा पनि अभिनय गरिन्। बद्री अधिकारीको निर्देशनमा कोरस, सिर्जनाका आँखाहरू, सुनील पोखरेलको निर्देशनमा चप्रासी, राजेन्द्र शलभको निर्देशनमा पिकदुत, हराएको साडीजस्ता दर्जनौं टेलिफिल्ममा उनले अभिनय गरिन्।
आरोहणको प्रस्तुति फ्रान्सेली नाटकको नेपाली अनुवाद झल रोमाको चतुरेको दाउपेचमा उनले निकै तारिफ पाइन्। झँ पल सात्रको उपन्यास बिनाचिहानको मृत्युमा उनको अभिनय निकै सशक्त रह्यो। यो उपन्यासमाथि सुनील पोखरेलकै निर्देशनमा टेलिफिल्म निकै चर्चित रह्यो। पचासको दशकमा सूर्र्यमालाको अभिनयलाई धेरैले सम्झने नाटक र टेलिफिल्म हो। फ्रान्सेली सांस्कृतिक केन्द्रमा आरोहणको नाटक हेर्न जाने धेरै दर्शकले गोविन्द गोठालेको नाटक ‘च्यातिएको पर्दा’मा उनले निर्वाह गरेको भूमिका मननानीको कारणले अहिले पनि सम्झन्छन्। सूर्र्यमाला भन्छिन्, ‘गोठालेको च्यातिएको पर्दा टोलछिमेकमा नजिकबाट देखेको कथा भएर होला, काम गर्न पनि सहज लागेको थियो।’ त्यसो त दोस्तोवस्कीको ‘एल्डर सन’, मोहन राकेशको ‘असारका एक दिन’ जस्ता कृतिको नेपाली अनुवादमा पनि उनले प्रखर अभिनय गरिन्।
सूर्र्यमाला दुई दशकपछि अभिनयमा फर्किएकी छन्। उनले ‘सुन्तली’ र ‘क्याप्टेन’जस्ता फिल्ममा पनि अभिनय गरिन्। अमेरिकाबाट फर्किएपछि नाटकमा काम गर्ने जुन उत्साह र योजना थियो, त्योचाहिँ पूरा भएन। उनले छोडेर गएका पुराना साथी र काम गर्ने माहोल उनी फर्केर आउँदा उस्तै थिएन। फर्केर आइज सँगै काम गरौंला भन्ने साथीहरूबाट उनले सहयोग पाइनन्। उनले सुनाइन्, ‘आफूले काम गरेका, आफूले बनाएका संस्थाहरूले पनि स्वागत गरेनन्।’
सूर्र्यमालाले अमेरिकाबाट फर्किएर एउटा नाटकमा अभिनय गरिन्, ‘सान्दाजुको महाभारत’मा। अभि सुवेदीले लेखेको र विमल सुवेदीले निर्देशन गरेको उक्त नाटक ६ वर्ष जेल र लामो समय प्रवासमा बसेका राजनीतिक व्यक्तित्व बीपी कोइरालाकी श्रीमती सुशीला कोइरालाको भूमिका गान्धारीको भन्दा कम महत्वपूर्ण हैन।
‘प्रतिभा आकाश माग्छे’ नाटकबाट अभिनयको यात्रा सुरु गरेकी सूर्र्यमाला गान्धारी पनि बनिन् र सुशीला पनि। उनले आजसम्म अनेकौं चरित्र निर्वाह गरिन्। तर, प्रतिभाले मागेको आकाश उनका लागि सार्थक भयो कि भएन ? के उनी अझै आकाश माग्छिन् ? भन्छिन्, ‘राम्रो नाटकमा अभिनय गर्ने ठूलो इच्छा छ तर अब निर्देशनतिर लाग्ने मन छ।’