हलिउडको गुरुत्वाकर्षण

हलिउडको गुरुत्वाकर्षण

काठमाडौंबाटै नेटफिल्क्समा यसपटक ‘रोमा’ र ‘जंगल बुक–२’ हेरियो। आशातीत यी दुवै फिल्म नेपाली हलमा चाहिँ रिलिज हुनेछैनन्। ‘रोमा’ यस वर्ष धमाधम अवार्ड जितिरहेको छ। र, ‘जंगल बुक २’को प्रिक्वेलले नेपाली बक्स अफिसमा डेढ करोड ग्रस कमायो। यसरी स्ट्रिमिङ साइटमा सशुल्क मूल्य तिरेर फिल्म हेर्नुचाहिँ सामान्य परिघटना होइन। विश्व फिल्मको न्यारेटिभ अब यी प्रवृत्ति वरपर घुम्नेछ, जसको बाछिटा काठमाडौंमा पोखिइसक्यो।

यस आलेखको उद्देश्य विश्व फिल्मको भविष्य र गतिबारे चर्चा गर्नु हो; जसको आकार स्टुडियो र फिल्म हललाई नै चुनौती दिने स्ट्रिमिङ साइट कोर्दैछन्। अमेजन प्राइम र नेटफिल्क्स दबदबा भएको बेला केही साताअघि डिज्ने र फक्सले पनि स्ट्रिमिङ साइट लन्च गर्ने घोषणा गरे। डिज्नेले त नयाँ वर्षदेखि नेटफिल्क्सबाट आफ्ना सबै फिल्म हटाउने जनाएको छ। उसले ‘स्टारवार्स’को आगामी संस्करणको प्रिमियर ‘डिज्ने प्लस’ नामक आफ्नो साइटबाट गर्नेसमेत जनाउ दिएको छ।

इन्टरनेटमा फिल्म हेर्दा सबैभन्दा धेरै टाउको दुःखाइचाहिँ प्रदर्शकलाई छ। ब्लुमबर्ग रिपोर्टका अनुसार स्ट्रिमिङ प्रभावले गर्दा २०१७ मा अमेरिका र क्यानडामा दर्शकको मूभी एटेन्डेन्स सन् १९९२ यताकै कम थियो। सन् २०१८ मा हलमा फिल्म हेर्ने दर्शक संख्या जम्मा नौ प्रतिशतले बढ्यो। यो अंकगणित विश्व फिल्मको इको–सिस्टमका लागि खतराको घन्टी हो। नेपालमा समेत नेटफिल्क्सबाट अमेरिकी र भारतीय फिल्म एवं सिरिज हेर्ने जमात तीव्र रूपमा बढ्दो छ।

हलिउड फिल्ममा अहिले भूगोल, लिंग, जात र वर्णको विविधता देखिँदै छ। ‘ब्ल्याक प्यान्थर’ र ‘क्रेजी रिच अफ एसियन्स’ डाइभर्सिटीका ठूला उत्पादन हुन्। सुरुमा फिल्म लिन डराएका हलिउड स्टुडियोले समेत यी दुईमा जोखिम लिएर लगानी गरे। सबै पात्र, कथ्य र भूगोल एसियाली खिचिएको ‘क्रेजी रिच अफ एसियन्स’ले विश्व बक्स अफिसमा दुई सय ३८ मिलियन अमेरिकी डलर कमायो। अफ्रिकी अश्वेत सुपरहिरो रचना गरिएको मार्भल स्टुडियो वितरित ‘ब्ल्याक प्यान्थर’ले विश्व बक्स अफिसमा २१० मिलियन डलर कमायो। यी दुवैले अस्करको आगामी संस्करणमा बाजी मार्ने अपेक्षा छ। टाइम म्यागजिनले ‘क्रेजी रिच अफ एसियन्स’माथि कभर स्टोरी लेख्दै ‘हलिउडको विनिर्माण’ भन्यो। नेपालमा समेत करोड माथि ग्रस कमायो मल्टिप्लेक्सबाट।

यी दुई फिल्मको प्रसिद्धिका केही सन्देश छन्। अब दर्शकलाई स्टेरियोटाइप र कुनै केन्द्रको न्यारेटिभ मन पर्न छाड्यो। उनीहरू पात्र र कथामा नवीनता र अलग स्वाद खोज्न थाले। अब लार्जर द्यान लाइफ हैन, कन्टेन्टमा आधारित मानवीय मूल्यका पटकथा दर्शकीय रोजाइमा पर्न थाले। बदलिएको यो गुरुत्वाकर्षणसँग पक्कै पनि ठूला स्टुडियो बेखबरचाहिँ छैनन्। उनीहरू अझै कन्टेन्ट लक्षित फिल्ममाथिको लगानीमा लाग्दैछन्।

सन् २०१८ मा क्यालिफोर्निया युनिभर्सिटीले गरेको एक खोजलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ। त्यसअनुसार श्वेत बहुल पात्रभन्दा विविधता पस्किएका फिल्मको कमाइ उच्च छ। सीमान्त पात्र चित्रण गरिएका २१ देखि ३० प्रतिशत फिल्मले विश्व बक्सअफिसमा उधुम मच्चाए। जबकि, ९० प्रतिशत श्वेत वर्णका पात्र राखिएका ३७ प्रतिशत फिल्म असफल रहे। अहिले ३.१ प्रतिशत एसियाली, १२ प्रतिशत अश्वेत र ७८ प्रतिशत श्वेत वर्णका कलाकार हलिउडमा सक्रिय छन्। डाइभर्सिटी प्रभाव विस्तारको गणित हो यो।

तपाईंले आक्वाम्यान हेर्नुभयो भने त्यहाँ जेसन मोमावाको एउटा संवाद छ। उनी भन्छन्, आई एम नट किङ, आई एम हिरो (म राजा होइन, म नायक हुँ)। यो संवाद मात्र होइन, बरु एउटा बलियो विम्ब हो; जसले बदलिएको विश्व फिल्मको कन्टेन्ट र चरित्र चित्रणको ट्रेन्डलाई दर्शाउँछ। पछिल्लो समय हलिउडको सुपर हिरो फिल्ममा राजा कम र हिरो बढी हुन्छन्। स्क्रिप्ट लेखनदेखि नै नायकमा मानवीयता भर्न थालिएको छ अर्थात् उनीहरूलाई आफू मान्छे हुँ र आफूमा भावना हुन्छ भन्ने बोध गराउन थालिएको छ। प्रविधि र पैसा बगाउने हलिउडले यो यथार्थ आत्मसात् गरेको बेला नेपाली फिल्म भने लार्जर द्यान लाइफ र स्टारडमको बलिउड सपना पछ्याउँदै छ। यसले हरेक शास्त्रको केन्द्रमा मान्छे हुन्छ भन्ने यथार्थलाई अस्वीकार गर्छ। हरेक सुपरहिरो मान्छे हो, ऊ एक दिन सकिन्छ र उसको शक्ति सीमित हुन्छ भन्ने पात्रात्मक विशेषतालाई सम्भवतः जीवनभन्दा ठूलो फिल्म बनाउनेहरू स्वीकार्दैनन्।

अमेरिका र युरोपले एसियामा बजारको खोजी गर्दैछन्। फलस्वरूप फिल्मका पात्र र कन्टेन्टमा व्यापक परिवर्तन आउन थालेको छ।

यस्तो लाग्दै छ, हलिउड इस्केप्टिक दर्शन छाड्दै छ। भारत र नेपाल उक्त दर्शन पछ्याउँदै छन्। पछिल्लो समय बनिरहेका नेपाली फिल्म अवसाद मनोविज्ञानका प्रमाण हुन्, जससँग समाजको कुनैखाले अपेक्षा र उत्पादनशिलता हुँदैन। अवसाद मनोविज्ञानमा निर्माण गरिएका इस्केप्टिक फिल्मले कस्ता दर्शक जन्माउँदै छन् भन्ने चिन्ता अहिलेको हो। यसले सरूपमा सिनेम्याटिक लिट्रेसीको मुहानलाई धमिलो बनाइरहेको छ। तर, केही यस्ता आशातीत फिल्म छन्, जसले समाजकै गतिमा आफूलाई अगाडि बढाउँदैछन्।

समाज र पात्रसँग अन्तत्र्रिmया गर्ने खालका फिल्म बनाउन मान्छेकै प्राण भर्नु जरुरी हुन्छ। फिल्म निर्माण पनि शरीर र आत्माबीचको एउटा द्वन्द्व हो। सम्भवतः यही निष्कर्षले हुनुपर्छ, जेम्स क्यामरुन अवतारका पछिल्ला चार सिक्वेलमा आत्माको खोजी गर्दै छन्। उनले आगामी महिना रिलिज हुने ‘एलिटा ः ब्याटल अफ एन्जल्स’लाई त्यसको वार्मअपका रूपमा लिएका छन्। उनको भनाइमा एलिटा अवतारकै कुनै एउटा सेटिङ हो। नेपाली फिल्ममा समीक्षकको एउटै भनाइ हुने गर्छ, ‘आवरण भयो, आत्मा भएन।’ यी दुईलाई सन्तुलन मिलाउने प्रयत्न गरौं।

भविष्य हुन वर्तमान हुनुपर्छ। तर, नेपाली फिल्मसँग वर्तमान छैन। यो संरचनागत भ्याकुममा आगामी वर्ष विदेशी फिल्म (भारत र अमेरिका)ले फाइदा उठाउने छन्। हलिउड प्रभाव अझ बढ्नेछ। वर्ष २०१८ को कुल तथ्यांक हेर्दा नेपालमा हिन्दीभन्दा अंग्रेजी फिल्मको रिभेन्यु लगभग उच्च छ। यसको स्पष्ट सन्देश हो, हलिउड अब नेपाली फिल्म बजारको नयाँ खेलाडी हो। ‘भेनम’, ‘क्रेजी रिच अफ एसियन्स’, ‘बोहिम्यान र्‍याप्सोडी’ले नेपाली हलबाटै करोडभन्दा बढी कमाए। तर, बलिउडका ठूला स्टार तासको घरजस्तै ढले। बक्स अफिस समीकरण उल्टियो।

किनभने करोड कमाउने हलिउडका तीनैवटा फिल्म मान्छेसँग गाँसिएका थिए, जसमा विविधता थियो। दर्शकले पात्र र संघर्ष परख गरे अनि अपनत्व पनि। तर, आमिर, शाहरुख र सलमानका ठूलै फिल्ममा आवरण त थिए तर आत्मा थिएन। यो स्पष्ट चित्रको साक्षीचाहिँ नेपाली फिल्म बन्यो। उसले प्रयत्न त गर्‍यो तर परीक्षामा पास भएन। सधैंझैं पटकथामा ऊ असफल बन्यो। उसले कहिल्यै पनि फिल्म बौद्धिक र साहित्यिक उत्पादन हो भन्ने आधारभूत पक्षलाई स्वीकारेन। उसका लागि पन्चलाइन, जोक्स, क्यामेरा र रिलिज नियमित आकस्मिकता बने।

विश्व फिल्मको गुरुत्वाकर्षण अहिले एसियातर्फ अग्रसर छ। अमेरिका र युरोपले एसियामा बजारको खोजी गर्दै छन्। फलस्वरूप पात्र र कन्टेन्टमा व्यापक परिवर्तन आउन थालेको छ। चिनियाँ धनाढ्यको लगानी हलिउड स्टुडियोमा हुन थाल्नु र ज्वाइन्ट भेन्चरमा फिल्म बन्न थाल्नु संकेत हुन्। अहिले चीन र भारतका कलाकार र कथालाई हलिउडले टिप्न थालेको छ। मार्भलले ‘डक्टर स्ट्रेन्ज’ काठमाडौंमा सुट गर्‍यो। भारतीय फिल्म चीनमा रिलिज हुन थालेका छन्। चीन रिलिजबिना हलिउडको लगानी उठ्दैन। मार्भलले गत महिना क्रिस हेम्सवर्थ स्टारर ‘सुपरहिरो’ फिल्म छायांकन भारतमा गर्‍यो। हलिउडका लागि बजार, हाम्रा लागि खुल्ने मौका। पूर्वीय दर्शन निकट भइरहेको हलिउड कन्टेन्ट हाम्रा लागि महत्वपूर्ण छ। यसको सामाजिक र मनोवैज्ञानिक प्रभाव नेपाली दर्शकमा पर्नेतर्फ हामीले सोच्नु जरुरी छ।

पछिल्लो समय विदेशी फिल्मका नेपाली वितरक धमाधम वृद्धि हुनु, विदेशी फिल्मको रिभेन्यु उच्च हुनु र मल्टिप्लेक्सले यी फिल्मलाई प्राथमिकता दिनु यसका संकेत हुन्। के नेपाली फिल्म बढ्दो चुनौतीसँग लड्न तयार छ ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.