श्रीमानकी प्रेमिका
गोलो अनुहार, ठूल्ठूला चम्किला आँखा। ती आँखामा कोस निकालेर लगाइएको गाजल। तर, मलाई यही सुन्दरताले ठुङ्छ। फोटो हो, बोल्दैन। मलाई उसले गिज्याएझैं लाग्छ, होच्याएझैं लाग्छ। मुर्मुरिन्छु तर त्यो अवाक् चित्र आँखा झिम्म नगरी मैतिर हेरिरहन्छ। मेरो अस्त्वित्वलाई, मेरो सुन्दरतालाई, मेरो भावनालाई त्यो चित्रले कोपरिरहेको छ। हुन त त्यो चित्रले मलाई केही गर्दैन, मेरो मायालाई कतै कमी हुन दिएको छैन। बरु, त्यो चित्र पर्समा बोक्नुको कारण मलाई बताएपछि श्रीमानको माया र विश्वास मप्रति झनै बढेको छ। मेरो र उनको मायामा त त्यो तस्बिर कहिल्यै पर्खाल बनेको छैन। कहिलेकाहीँ त्यही चित्रलाई लिएर ठट्टा गर्दा झनै वातावरण प्रेमिल बन्थ्यो। तर पनि मनभित्र, कताकता ईष्र्याको आगो दबिरहेको थियो। त्यसमा सधैं त्यही सुन्दरीको तस्बिर रहिरहने। यसो हातमा पर्स लियो कि त्यही सुन्दर ठूला आँखा ! ‘यो पर्समा त मेरो पो फोटो हुनुपर्ने ! मलाई मन पराएर मागी बिहे गर्ने ! अनि पर्समा चाहिँ अझै प्रेमिकाकै फोटो !’
त्यो पर्र्स पनि उहाँलाई कत्ति प्यारो ! कहिल्यै छाडेको पनि थाहा छैन। मैले एकदिन खुसुक्क त्यसमा मेरो फोटो राखिदिएँ। त्यो फोटो छोपियो। पर्समा मेरो तस्बिर देखेर म आफैं दंग परेँ। भोलिपल्ट पर्स हेर्छु त, मेरो फोटोसँगै त्यो फोटो पनि मिलाएर राखिएको ! मेरो अनुहार फुंग उड्यो, अलिअलि रिस पनि उठ्यो। मुखबाट अनायास निस्कियो
‘पर्समा सजाउनेले मनमा पनि सधैं सजाउने त होला ? म त मनको एउटा सानो कुनामा त हुँली, राज गर्ने त यही केटी त होली नि !
‘यो फोटो मेरो अतीत हो, तिमी चाहिँ वर्तमान। अतीत सम्झनामा मात्रै हुन्छ नि। धेरै मान्छे अतीतलाई फालेर हिँड्छन् तर म चाहिँ यो अतीतलाई पनि सँगै बोकेर हिँड्छु,’ भन्नुभयो।
उहाँका यस्तै मीठा जवाफ हुन्छन्, सुनुँसुनुँ लागिरहने। मेरो मनको रिस उहाँको अघिल्तिर त्यसै त्यसै पग्लिहाल्छ, म बाफ बन्न पुग्छु।
तर, मेरो मनमा एक कुनामा डर, ईष्र्या, अलिअलि जलन बसिरह्यो। एकान्तमा यो बढेर ठूलो हुन्थ्यो, उहाँलाई देखेपछि कहाँ लुक्थ्यो कहाँ !
एकदिन उहाँले पर्स लिएर जान भुल्नु भएछ। खुसी लाग्यो, त्यो केटी आज भने उहाँसँग ओझेल परी। पर्स खोलेँ, त्यही ठूला आँखा, गाजले आँखा। मुस्कुराउन ठिक्क परेको ओठ ! कस्तो राम्रो ! मैले आफूलाई ऐनामा हेरेँ, म पनि त कम छुइन नि ! त्यो पर्समा त म मात्रै अट्नुपर्ने हो नि ! भित्र मनमा लुकेको रिस र ईष्र्या अचानक मेरो मन माथि कब्जा जमाउन पुग्यो। ती आँखा मेरो मनमा तीर गढेझैं भयो। मुटु चसक्क बिझ्यो। अनायस ती फोटा निकालेँ र कैंचीले दुई टुक्रा पारेँ।
ती पे्रमपत्र मात्र थिएनन्, ती त कविता थिए। ती प्रेमपत्रलाई छिट्टै किताबको रूप दिने योजनामा थिएँ। पत्रसँगै तिमीले मेरो भावना पनि जलायौ।
अहो ! मैले यो के नकाम गरेँ। अब श्रीमानलाई के भन्ने ? यो त उहाँप्रतिको अविश्वास हो। मनमा डर पनि लाग्यो। उहाँ घर आइपुग्दा टेबलमा प्रेमिकाको फोटो दुई टुक्रा परेर टेबुलमा विरूप बनिरहेको थियो। ती ठूला आँखा बेग्लाबेग्लै टुक्रामा ! अब भरे के हुने हो मेरो सात्तो गयो।
उहाँले रातोरातो अनुहार बनाउँदै भन्नुभयो, ‘हेर तिमीले मेरो अतीतलाई यसरी काटेर फाल्न सक्छ्यौ र ? यो त फोटो मात्र हो। मन पराएको मान्छेलाई त मुटुमा सजाइन्छ।’ कैंचीले दुई टुक्रा पारेको अटो साइजको त्यो फोटोलाई सेलो टेपले टाँस्नुभयो र पर्समा राख्नुभयो। मसँग बोल्ने कुनै शब्द भएनन्। मेरो मुटु ठूलो ढुंगाले बेस्कन हानेको जस्तो भयो। एकदमै नरमाइलो लाग्यो। घरमा श्रीमती हुँदाहुँदै पनि आफ्नोे प्रेमिकाको फोटो बोकेर कसरी हिँड्न सकेको होला। मनभरि कुरा खेलिरहे। तर उहाँसँग बोल्नु बेकार थियो। किनभने उहाँ कुरामा मलाई भुलाउन खप्पिस। बिहेपछि पनि पर्समा प्रेमिकाको फोटो राख्दै हिँड्नुपर्ने ! त्यो फोटोले मलाई कति गिज्याउँछ त्यसको चाहिँ पर्वाह नगर्ने ! के त्यो केटीले पनि बिहेपछि यसैगरी प्रेमी (मेरो श्रीमान) को फोटो पर्समा राखिरहेको भए ! उसको श्रीमानले यसै गरी त्यो फोटो देखेको भए ! प्रेमी थियो भन्नेमात्रै थाहा पाएको भए ! के मजस्तै चुपचाप बस्थे होला त ? मैले फोटो टुक्रा पारिदिएँ, त्यसको श्रीमान्ले त...।
म झसंग भएँ।। के यस्तो नराम्रो सोच आएको होला ! मुखले नबोले पनि मेरो मन चाहिँ त्यहीँ फोटोले खाइरह्यो। कहिले अर्काको माया त खोसिन भनेर मन आत्तिन्थ्यो, कहिले मेरो एक मात्र माया उसले खोस्ने पो हो कि ! म मा पो केही खोट छ कि ! मेरो मन उहाँले पढ्नु भएन। खाली आइमाईको जात शंकालु हुन्छन् भने जस्तो गरेर त्यो घटनालाई सामान्य लिनुभयो होला। तर म भने भित्रभित्रै खोक्रो हुन थालेँ। काटिएको फोटो जोडेर पनि बोक्ने मान्छेले मन पनि त त्यसरी काट्न र जोड्न सक्लान् नि !
यसको केही समयपछि मौका छोपेर त्यो टेपले टाँसेको फोटो कैंचीले चार टुक्रा पारिदिएँ। अब फेरि त्यो जोड्न नमिल्ने भयो। मन ढुक्क भयो। अब त त्यो पर्समा म एक्लै हुन्छु नि !
तर, मलाई घोच्ने त अर्को पनि कुरा छ। एक बाकस जति थिए, प्रेमपत्रहरू। त्यो बाकस देख्नेबित्तिकै मलाई झन् धेरै छट्पटी र जलन हुन थाल्यो। मेरो कुनै प्रेमी भएको भए र उसका पे्रमपत्रहरू यसरी नै सँगालेर राखेको भए उहाँको पुरुष सोच उफ्रँदैनथ्यो होला ? हरेक पल आफ्नो अस्तित्वलाई गिज्याउने त्यस्तो बाकस ससम्मान उहाँको घरमा बस्न पाउँथ्यो होला ? यस्तो चिठी ती केटीसँग पनि पक्कै थिए। उनले पनि चिठीहरू यस्तै जतन गरेर राखेकी छन् होला त ? मेरो घरका सबै सदस्यलाई थाहा थियो, त्यो बाकसमा प्रेमपत्रहरू छन् भनेर। के उसको घरमा पनि सबैलाई थाहा थियो होला त ? के उसले घरका सबै सदस्यलाई यो भन्न सक्लिन् ?
स्कुल छोडेका यत्तिका वर्षसम्म पनि त्यो फोटो कति जतनसाथ राखिरहेको होला। एक दिन उहाँ घर नभएको मौका पारेर बाकसका चिठीहरू पढ्न थालेँ। चिठीका प्रत्येक शब्द मायाप्रेमका गहिराइमा चुर्लुम्म डुबेका थिए। प्रत्येक शब्द धड्कन थिए उनीहरूका। कुनैमा मायाको दर्शन, कुनैमा प्रकृतिसित एकाकार भएका, संसारबाट अलग्गिएर मायामा पूरै भिजेका ती चिठी कवितात्मक थिए। सञ्चो बिसञ्चोका कुराहरू पनि सबै कवितामय थिए। प्रत्येक शब्दमा एउटा जीवन, एउटा गति, एउटा लय मिलेको थियो। मेरो मुटु धड्किए, पछारिए, सास फुल्यो, आँखा रसायो। प्रेम, करुणा, बियोग सबै भाव मनभरि छचल्किए। अर्काको जीवनमा बेकारमा दखल दिन आएँ भनेर आँखा टिल्पिलाए। कसैको यस्तो पागल माया पाउन सके..। माया त मैले पनि यस्तै पाइरहेकै छु नि ! तर यसमा त्यही फोटो र यी प्रेमपत्र खलनायक बनेर उभिन्छन् र पो त !
एउटा चिठी यस्तो थियो :
प्रिय !
तिमी उदाउँछौ र म मनभरि खुसीको घाम सँगाल्छु भनेर पर्खिरहेँ। तर दिनभरि बादल लागिरह्यो। न आकाश खुसी देखियो, न धर्ती। समय रोकिएझैं, सास रोकिएझैं मन उदासीमा नुहाइरह्यो। बाटाभरि परेला बिछ्याइरहेँ, मनको ढोका खुलै रह्यो। तर, तिमी आएनौ। जीवनको अन्त नै भएझैं आँखाले अन्धकारबाहेक केही देखेन।
उही तिम्रो
मायालु
कविताजस्तो लाग्ने यी हरफमा उनीहरूको प्रेम बोलिरहेको लाग्यो। यस्ता प्रेम कसरी छुट्यो। यो संसार पनि अचम्मको छ। जसलाई प्रेम गर्यो, त्यो पाउन गाह्रो। जसलाई पायो, त्यसलाई माया गर्न गाह्रो ! जे छ त्यो सस्तो, जे छैन त्यो अमूल्य !
मलाई ईष्र्या लाग्यो। त्यो केटीको ठाउँमा आफूलाई राखेर प्रेमपत्रमा हराएँ। धेरै छटपटिएँ। तर पीडा, यो माया, यो ईष्र्या कसलाई सुनाउनु ? सुन्नेले मेरो अनुभूति लिन सके पो ! त्यसैले कल्पनामै हराउन मीठो लाग्यो।
प्रेमिकासित विवाह नगरी किन मसँग मागी विवाह गरेकोे होला ? तर सोध्ने हिम्मत भएन। यति धेरै माया गर्ने प्रेमी प्रेमिका कसरी बिछोड भयो होला ? म कहाँबाट बीचमा आइपुगे ? यही छटपटीमा बसिरहेको बेलामा एकदिन मेरो जेठाजुले बोलाएर मलाई भन्नुभयो, ‘सविता, यसभित्र के छ हँ ? मलाई यस्तो एउटा बाकस चाहिएको छ।’
मलाई पनि यस्तै मौका चाहिएको थियो, मनको किलो निकाल्ने बहाना चाहिएको थियो। भनेँ, ‘दाइ, यसमा त पुराना र खासै काम नलाग्ने कागजपत्र छन्, फाल्दिऊँ ? जेठाजुले हुन्छ भन्नुभयो। त्यसपछि त के चाहियो र ! त्यो प्रेमपत्रले भरिएको बाकसलाई हामी दुईजना मिलेर बोक्यौ र नजिकैको चौरमा लगेर जलाइदियौं। मलाई काँडा निकालेजस्तै सञ्चो भयो। त्यतिखेर मेरो श्रीमान घरमा हुनुहुन्नथ्यो। त्यो पत्र जलाएको एक हप्तापछि आउनुभयो। कुरै कुरामा मैले तपाईंको कागजपत्र राखेको बाकस त दाइलाई चाहियो भन्नुभयो र त्यसको कागजपत्र सबै हामीले जलाइदियौं भनेँ।
जेको डर थियो, त्यही भयो। उहाँका शान्त अनुहार क्रोधले, हारले हो कि निराशाले हो रातो भयो, ‘तिमीहरूलाई त्यही बाकस किन चाहिएको ? यत्रो वर्षदेखि जतन गरेर राखेको, तिमीहरूले बर्बाद गर्यौ।’
दाइ त घरमा हुनुहुन्थेन। मेरो मुखबाट वाक्य नै फुटेन। ‘मेरो अतीतलाई डढाएर तिमीलाई त धेरै आनन्द भयो होला नि ? त्यो कागजले तिमीलाई के गरेको थियो ? मेरो लागि त्यो कागज होइन, जीवन हो। जीवन। मैले आफैंले भोगेको जीवन। मेरो यो भोगाइको साक्षी कोही छैन ! त्यही प्रेमपत्र थियो। त्यो मेरो बितेको जीवन !!
म अपराध गरेझै शान्त सुनिरहेँ।
‘ती पे्रमपत्र मात्र थिएनन्, ती त साहित्यको एक उत्कृष्ट नमुना पनि थियो, कविता थियो। ती प्रेमपत्रलाई छिटै किताबको रूप दिने योजनामा थिएँ। तिमीलाई खुसी राख्न दोडँदा दौडँदै समय पुगेन। तिमीले मेरो भावना पनि जलायौ।’
मलाई दिनभरि नै नरमाइलो लागिरह्यो। हाम्रो बोलचाल पनि भएन। दाइ बेलुका घर आएपछि उहाँसँग पनि के के भन्नुभयो। तर पछि विस्तारै कुरा सेलाउँदै गयो।
धेरै वर्षपछि एक दिन कुरै कुरामा मैले श्रीमान्लाई जिस्काए, ‘साँच्चै तपाईंको प्रेमिकाको के छ हालखबर ? फेसबुकमा त साथी हुनुहुन्छ होला नि ? पहिलो माया ! कुरा हुन्छ होला ? कस्तो रमाइलो होला हगि ? ’
उहाँले खिसिक्क पर्दै भन्नुभयो ‘बल्लबल्ल धेरै समय लगाएर खोजेँ। ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ, मेसेज पनि पठाएँ। तर अहिलेसम्म एसेप्ट भएको छैन। सायद उसले मलाई चिनिन होला।’
एक दिन कुरैकुरामा उहाँले अचम्मसँग भन्नुभयो, ‘सायद ऊ अब धेरै बूढी भइसकी। मलाई बिर्सिसकी जस्तो छ। उसले मेरो कुनै जवाफ दिन्छेजस्तो छैन।’ उहाँ एकाएक भावुक बन्नुभयो। उहाँको स्वर एकदमै ओइलाएको थियो। म छक्क परेर उहाँको त्यो ओइलाएको अनुहारमा हेरिरहेँ, पर्समा टुक्राटुक्रा भएको फोटो धमिलिएर कुरूप बनिसकेको थियो।