२२० सीसी

२२० सीसी

बरयातीसहित केटीको घरसम्म पुग्दा ऊ उत्साहित नै थियो। रथमा बसेर पूरै बजार घुमाइँदा मक्ख परेको थियो। रोडलाइटका बीचमा उसका साथीहरू भोजपुरी गीतमा नाचिरहँदा गमक्क थियो। एक दुई पटक उसका साथीहरूले तानेर नचाउँदा ऊ पनि नाचेकै थियो।

तर उसका सारा उत्साह र उमंग एक्कासि सेलायो। केटीको घरनजिकै स्वयम्बरका लागि बनाइएको पण्डालको छेवैमा दाइजोका लागि राखिएका सामानहरू थिए। लगभग एउटा ट्रक नै भरिने जति सामान थियो त्यहाँ। बक्स पलङ, सोफा सेट, ४२ इन्चको टीभी, भान्साका सामानहरू, कुर्सी टेबललगायत एउटा घरलाई चाहिने सम्पूर्ण समान थियो। तर, उसको ध्यान त्यहाँ राखिएको पल्सर बाइकमा मात्र गयो। जसै १५० सीसीको मोडेल देख्यो, उसका सारा उत्साह एकैपटक ठण्डाराम भए।

उसैको अगाडि भुइँमा सुतेर नागिन डान्स नाचिरहेको थियो, राम खेलावनको छोरा गुल्टन। नाम त उसको गुलाब हो। तर, एसएलसीमा तीनपटक गुल्टेपछि नाम नै गुल्टन परेको थियो। पाँच वर्ष कतारमा काम गरेर आफ्नै व्यापार थालेको थियो। गुल्टनलाई त दाइजोमा २२० सीसीको पल्सर दिइएको थियो। ऊ त झन् इन्जिनियरिङ पढेको थियो। नगरपालिकामा एलजीसीडीपीको कार्यक्रमअन्तर्गत करारको जागिर थियो।

तर, उसलाई १५० सीसीको बाइक ?        उसलाई आफैंभित्र एक प्रकारको हीनताबोध भइरहेको थियो। गुल्टन त्यसरी नाचेको देख्दा उसलाई भित्रैबाट रिस उठिरहेको थियो। मानौं ऊ नाचेको होइन, बाइकको विषयमा उसको खिसी गरिरहेको छ।

रथमै हुँदा तिलक लगाइदिन उसको हुनेवाला सासूसहित केही महिलाहरू चंगेरामा पूजाका समानसहित गीत गाउँदै आइपुगे। उनीहरूले उसलाई चारैतिरबाट घेरेर तिलकाउने विधि गर्न थाल्दा उसको अगाडिको पल्सर बाइक छेकियो। तर, बाइक उसको दिमागबाट हटेन। रिसले उसले आफ्नो हुनेवाला सासूको अनुहारसमेत हेरेन। तिलकाउने क्रममा उसको मुखमा पान खुवाइदिन खोजे। उसले मुखै खोलेन। त्यसपछि मिठाई दिन खोजे, उसले फेरि पनि मुख खोलेन। उसका सम्भावित सालीहरूले बोलाउन खोजे, ऊ बोलेन।

‘गे काकी, तोहर जमाई बौका हौ ?       ’

एउटीले रिसाएर उसको हुनेवाला सासूलाई सोधी पनि। उसले आँखा तरेर त्यो केटीतर्फ हेर्‍यो। तर, केही बोलेन। यसै पनि जन्ती ढिलो आएको थियो। हतार उनीहरूलाई नै थियो। कसैले पनि ऊ रिसाएकोमा वास्ता गरेन।

त्यसपछि केटीको दाइले स्वयम्बरका लागि बनाइएको पण्डालतर्फ लैजान उसलाई रथबाट निकाली बोक्न खोज्यो। तर, उसले मानेन। र, हिँडेरै गयो।

पेसाले स्कुलको शिक्षक हो केटीको दाइ। घरमा खटनपटन सबै उसैको चल्छ। सायद २२० सीसीको पल्सरको ठाउँमा १५० सीसीको दिने निर्णय उसैको हो। किनकि उसले भनेको सबैले टेर्छन्। ऊ पनि दाइलाई भित्रैबाट सम्मान गथ्र्याे। किनकि केटीको परिवारलाई त्यो स्थानसम्म ल्याउन उसको योगदान ठूलो छ। तर, त्यसबेलादेखि भने दाइप्रति उसको सारा सम्मान गायब भयो।

स्वयम्बरका लागि पण्डालभित्र छिर्ने बाटोमै रिबन बाँधेर उभिएका थिए केही केटाहरू। उसको आफ्ना नभए पनि नातामा सालो पर्नेहरू नै थिए ती। उनीहरूले खुब मेहनत गरेर स्वयम्बरको स्टेज, त्यहाँसम्म पुग्ने बाटो सजाएका थिए। त्यहाँबाट छिर्न रिबन काटेपछि पैसा दिनुपर्ने हुन्थ्यो उसले। केही वर्षदेखि देखिन थालेको थियो, यो चलन। उसले पैसा नबोकेको होइन। तर, आफूले चाहेको बाइक नदेखेपछि उसले एक रुपैयाँ पनि नदिने सोच बनायो।

‘अनि भिनाजु, १० हजारभन्दा घटी त हामी मान्दै मान्दैनौं।’

एउटाले मुखै खोल्यो। तर, उसले मुख खोलेन। उभिइमात्र रह्यो। केही बेरसम्म उभिइरहेपछि उसको बुवा र दाइ छेउमै आए।

‘पैसा नै नबोकी आको तँ ?       ’

उसको दाइले सोध्यो।

‘दाइजोको पैसा चाहिँ सब तिमीहरू लिने। अनि यहाँ पैसा मैले तिर्नु ?       ’, उसले मनमनै भन्यो।

‘छैन,’ झर्केर बोल्यो ऊ। त्यसपछि ती केटाहरूसँग उसको दाइ आफैंले गफ गर्‍यो र जम्मा दुई हजारमा कुरा मिलायो।

‘के भिनाजु तपाईं पनि ! सोचेको थिएँ, राती पाटी गर्छु। यसले त हामीलाई एक पटकको खाजा पनि पुग्दैन,’ उनीहरूले चित्त बुझाएका थिएनन्। तर, विवाह सुरु गर्न ढिलो भइरहेको थियो। केटीको दाइले आएर हप्काएपछि केटाहरू पछि हटेका थिए।

ऊ स्वयम्बरका लागि राखिएको विशेष कुर्सीमा बसेर ००००००००००००००० बरयातीमा आएका सबैलाई नियाल्न थाल्यो। सबैभन्दा अगाडि गुल्टनलाई देखेपछि उसलाई झन् पीडाबोध भयो। गुल्टनकै छेउमा थिए उसका दाइ र बुवा। सबैभन्दा बढी रिस त उसलाई ती दुई जनादेखि नै उठेको थियो। उसको विवाहको कुरा छिन्न उनीहरू नै गएका थिए।

ऊ एकपटक केटी हेर्न मात्रै गएको थियो। राम्री नै थिई। उसलाई केटी मन परेपछि मात्र उसको बुवा, दाइ र अरू आफन्तहरू कुरा छिन्न पुगेका थिए। उनीहरूले नै दाइजोमा के–के लिने भन्ने तय गरेका थिए। कति सुन लिने ?        फर्निचरमा के माग्ने ?        पैसा कति माग्ने ?        सबै उसको बुवा र दाइले नै तय गरेका थिए। उसको एक मात्र चाहना २२० सीसीको बाइक नै थियो। त्यो कुरा उसले आफ्नो बुवासँग नभने पनि दाइसँग चाहिँ भनेको थियो। र, जब उनीहरू कुरा छिनेर फर्केका थिए, उसले आफ्नो दाइसँग त्यस विषयमा सोधेको पनि थियो। दाइले उसको अनुहार हेरेर हाँस्दै कुरा मिलेको जानकारी गराएको थियो। आफन्तहरू पनि खुसी थिए। १० तोला सुन, २० लाख नगद, सबै सामानहरू। उनीहरूले सोचेको भन्दा बढी पाएका थिए। अझ केटी स्टाफ नर्स पढ्दै थिई। तर, उसलाई भने कति दिए, के दिए ?        त्यो सरोकारको विषय नै थिएन। इच्छा गरेको एक मात्र कुरा नपाएपछि ऊ आफ्नै बुवा र दाइसँग पनि रिसाएको थियो।

 उसैको अगाडि भुइँमा सुतेर नागिन डान्स नाचिरहेको थियो, राम खेलावनको छोरा गुल्टन। नाम त उसको गुलाब हो। तर, एसएलसीमा तीन पटक गुल्टेपछि नाम नै गुल्टन परेको थियो।

तल बसेको दाइलाई उसले आफूतिर आउन इशारा गर्‍यो।

‘कुन बाइकको कुरा भएको थियो ? १५० सीसीको कि २२० को ?       ’

एक क्षण अगाडिसम्म सबैसँग हाँस्दै गफ गरिरहेको थियो उसको दाइ। सबै कुरा राम्रैसँग चलिरहेको थियो। तर, जसै उसले यो प्रश्न गर्‍यो, उसको अनुहारबाट हाँसो गायब भयो। के जवाफ दिने ?        दाइ अल्मलिएको देखेपछि उसलाई अनुमान गर्न गाह्रो भएन, नियत त आफ्नै दाइको खराब रहेछ।

‘मलाई के हेरेको त्यसरी ?        जे भन्नु छ पापालाई गएर भन्नु। मैले त कुरा राखेकै हो। तर, पैसामा कुरा मिलेपछि पापाले अरू कुराहरूमा खासै वास्ता गर्नु भएन।...’

‘...अनि पापालाई भनेर पछि घर लगेर एक्सचेन्ज गर्दा भइहाल्छ त ?       ’

‘खुब गर्छ एक्सचेन्ज ?        बाबाआदमको बेलाको आरएक्स बाइक त अहिलेसम्म छोडेको छैन। मलाई नयाँ बाइक एक्सचेन्ज गर्न दिन्छ ?       ’

उसको बुवा पनि आफ्ना उमेरसमूहका साथीहरूसँग मक्ख पर्दै गफ गरेर बसेका थिए। उसलाई दुवैजनासँग रिस उठेको थियो। सबैलाई आफ्नै खुसीसँग मात्र मतलवब थियो। उसको इच्छा तथा आकांक्षाको वास्ता कसैलाई थिएन।

स्वयम्बरका लागि पाँचजना अरू केटीसहित दुलही मण्डपभित्र प्रवेश गरिन्। दुलहीको भेषमा पहिलोपटक देखेभन्दा उनी निकै राम्री देखिएकी थिइन्। फेसबुक र म्यासेन्जरमा पठाएको फोटोहरूमा भन्दा पनि राम्री। तर, पनि उसको अनुहार उज्यालो भएन। उसको दाइ पनि त्यहाँबाट झरे। त्यसपछि स्वयम्बरको प्रक्रिया सुरु भयो। स्वयम्बर सकिएपछि दुवै पक्षका आफन्तहरू फोटो खिच्न आउन थाले।

सुरुमा उसको बुवा आए। रिसले ऊ उठ्नै मानेन। तर एकजना छिमेकीले कराएपछि दुवै जना उठेर ढोगे। त्यसपछि केटीका बुवा आए। अनि क्रमशः अरू आफन्त र साथीहरू आए। त्यो क्रम त्यस बेलासम्म चल्यो, जबसम्म दुलहीलाई त्यहाँबाट लगिएन।

विवाह सुरु गर्नका लागि उसलाई आँगनको बीचमा बनाइएको मरवामा लगेर राखियो। ऊसँग दुईजना साथी पनि सँगै बसे। आँगनकै एक छेउमा उसको बुवा, काका, दाइ र अरू आफन्त बसे। त्यहीँ सबैलाई खाना खुवाउनका लागि मलहानका पत्ताहरू ओछ्याइए। तर, उसलाई भने पित्तलको थालमा दिइयो। त्यसरी खाना पस्किरहँदा उसको दाइ सुटुक्क छेउमा आए, ‘ल केटा यही हो मौका। २२० सीसीको बाइक चाहिएको भए खाना नखा। अडानले। पाउन सक्छस्।’

उसको दिमागमा झिलिक्क बत्ती बल्यो। कुरा सही थियो। त्यस्तै भएको थियो, रिनाको विवाहमा। उसको दुलहाले त्यसरी नै खाना छोडेपछि ३२ इन्चको एलईडी टीभी थप्नु परेको थियो दाइजोमा। सुरुमा त उसलाई लाज पनि लागेको थियो। फेरि उसले सम्झ्यो, आखिर यत्रो मोलमोलाई गर्दा त लाज भएन। अब यति जाबो कुरामा के को लाज ?       

उसले हात थालतिर बढाउँदै बढाएन। सुरुमा त सबैले जिस्केको ठाने। तर निकै बेरसम्म पनि हात नबढाएपछि गाइँगुईं सुरु हुन थाल्यो। त्यसपछि त केटीका बुवा, दाइ दुवै उसको छेउमा आएर सोध्न थाले। ऊ बोलेन। त्यसपछि उसको बुवालाई सोधे। बुबालाई समेत केही थाहा थिएन। त्यसपछि मात्रै उसको दाइले केटीको दाइलाई खुसुक्क कुनामा लग्यो। र सबै कुरा भन्यो।

‘तिमीहरूको यस्तो बेहोरा थाहा पाएको भए आफ्नो बैनीको विवाह मरिगए गर्दिनथेँ।’ केटीको दाइ झनक्क रिसाएपछि उसको दाइ पनि अकमक पर्‍यो। फेरि उसलाई आफू केटापक्षको भएको बोध भयो। केटीको दाइ भएर त्यसरी हप्काएपछि ऊ पनि रिसायो, ‘तपाईंकै ज्वाईं हो। उसैले मागेको हो। गएर भन्नु नि आफैं। मलाई के थर्काको ?       ’

दुवैजना चर्को स्वरमा कुरा गर्न थालेपछि केटीको बुवा दोडँदै त्यहाँ पुगे। सँगै उसका बुवा र काकाहरू पनि पुगे। जब उनीहरूले सबै कुरा थाह पाए, कोही हाँस्न थाले, कोही ऊदेखि नै रिसाए।

‘बेकुफ दिमाग नामको चिज छ कि छैन,’ गाली गर्दै बुबा ऊ नजिक आउन थाले। तर, केटीको बुवाले उनलाई रोके।

‘भैगो सम्धीजी। तपाईं आवेशमा नआउनु। एक लाख त थप्नु पर्ला नि ! भोलि बिहान बिदा गरीभन्दा अगाडि नै सो–रुमबाट अर्को गाडी ल्याइदिन्छ।’

एक्कासि बुवा त्यसरी पड्केको सुनेपछि उसको सात्तो गएको थियो। तर, लगत्तै उसको ससुराले कुरा मिलाएपछि ऊ ढुक्क भयो।

उसले खान सुरु गरेपछि सबैले खाना खान थाले। खाना खाई सकेपछि दुवै पक्षका पण्डित भेला भए। केटा पक्ष यज्ञको एकातिर र केटी पक्ष अर्कोतिर बसे। पण्डितहरू मन्त्र पढ्न थाले। विवाह सुरु भयो।

विवाह चल्ने क्रममा केटी पक्षका केटी तथा आइमाईहरू भेला भएर केटा पक्षलाई जिस्क्याउँदै गीत गाउन थाले। उसले मोटरसाइकलको लागि खान छोडेको विषय सबैले थाहा पाएका थिए। त्यस विषयलाई लिएर उसलाई, बुवा तथा दाइलाई समेत गीतको भाकामा मिलाएर गाली गरे। उसको दाइ र बुवाले त्यस कुरालाई हाँसोमा उडाए पनि उसका अरू आफन्तहरूले राम्रो मानेनन्।

‘इज्जत प्रतिष्ठा सब खत्तम पारिस् तिमीहरूले।...’

‘तिमीहरूको कारणले पूरै खानदान भीखमंगा भयो हाम्रो।...’

पूरै रातभरि चल्यो विवाह। बिहानको अँध्यारो हटिसकेको थिएन। सबैका आँखा लोलाएका थिए। बरियातीहरूलाई राखेको ठाउँमा उनीहरू माछा थुपारे जसरी सुतेका थिए। विवाहपछि कोहवर घरमा लगिएको उसलाई। पलंगमा ऊ अडेस मात्र लागेको थियो, निदाइहाल्यो।

ऊ उठ्दा धेरै वरियाती हिँडिसकेका थिए। आफ्नै गाडी र मोटरसाइकलमा आएकाहरू कोही पनि बाँकी थिएनन्। उसका आफन्तहरूले छिटोभन्दा छिटो बिदागरीको लागि केटीपक्षलाई आग्रह गरिरहेका थिए। केटीपक्ष भने कम्तीमा मरजादी अर्थात् खाना खाएर जान आग्रह गरिरहेका थिए।

उठ्नेबित्तिकै उसका आँखा बाइकतिर नै गए। तर, त्यहाँ कुनै पनि बाइक थिएन। पक्कै पनि साट्न लगेको हुनुपर्छ। ऊ ढुक्क भयो। र, मनमनै दंग पनि पर्‍यो। बाँकी बसेका बरयाती र उसका आफन्तले खाना पनि खाइसकेका थिए। बिदागरीको प्रक्रिया पनि सुरु भइसकेको थियो। तर, २२० सीसीको पल्सर बाइक अझै आइपुगेन। त्यसपछि भने उसको मुटु ढुकढुक गर्न थालेको थियो।

उसको बुवा र दाइ डालीहारीमा कति पैसा आयो भन्नेमा अल्झेर बसेका थिए। राम्रै रकम जम्मा भएको थियो केटी पक्षका आफन्तहरूबाट। अब त्यसमा उसको ससुराले कति थप्ने भन्ने कुरामा विवाद भइरहेको थियो। जति रकम जम्मा भएको थियो, त्यति नै रकम थप्नुपर्ने केटापक्षको माग थियो। तर, उसको ससुराले मोटरसाइकल साट्दा खर्च भएकोले नसकिने कुरा गरिरहेको थियो। त्यो थाहा पाएपछि ऊ बाइक आउनेमा फेरि ढुक्क भएको थियो। दाइजोका सामानहरू ट्रकमा लोड भइरहँदा सोरुमका मान्छे बाइक लिएर आइपुगे। रातो र कालोमि ि      श्रत २२० सीसीको बाइक देखेपछि उसलाई अपार शान्तिको अनुभूति भयो।

ससुराले डालीहारीको पैसा उसको बुवालाई जिम्मा लगाए पनि बाइकको साँचो र ब्लुबुक उसलाई नै दिएको थियो। हातमा साँचो पर्नासाथ उसको दाइ नजिक आएर साँचो मागेको थियो।

‘खै ले। अब घरसम्म त चलाएरै जानु पर्ला।’

‘पर्दैन। यो पनि ट्रकमै लोड भएर जान्छ।’

उसले साँचो दिएन। उसको इच्छाबमोजिम मोटरसाइकलाई ट्रकमा लोड गरियो।

बिदाइको बेला ऊ र उसकी स्वास्नी दुवैले आफन्तलाई ढोग्न थाले। आशीर्वादमा सबैले केही न केही रकम उनीहरूका हातमा राखिदिन्थे। त्यसमा पनि राम्रै रकम जम्मा भयो।

‘यति भएपछि त साथीहरूलाई पाटी दिन सजिलो हुन्छ।’

ऊ मनमनै फुरुंग भयो।

दुलही लिएर घर फर्कंदा पनि उसको चिन्ता बाइक ट्रकबाट कसरी झार्लान् भन्नेमै थियो। उनलाई अन्माइरहँदा उसको दिमाग बाइक कोरिन्छ कि भन्नेमा थियो। तर, त्यस्तो केही भएन। दुलही अन्माइसकेपछि ऊ उन्मुक्त भयो। उसकी दुलही परिवारका अरू सदस्यसँग हेलमेलमा व्यस्त भइन्।

हतारहतार लुगा फेरेर ऊ सबैभन्दा पहिले बाइक नजिक पुग्यो र सुमसुम्याउन थाल्यो। उसले गुल्टनलाई फोन गरेर बोलायो। बाइक स्टार्ट गर्नेबित्तिकै उसलाई अपार आनन्दको अनुभूति भयो। विस्तारै अगाडि बढायो। डराइडराई बिस्तारै चलाउँदै थियो। सानो र हलुंगो बाइक चलाउने बानी परेकोले उसलाई त्यो बाइक उसले राम्ररी सम्हाल्न हम्मे परिरहेको थियो।

‘अरे यति हेब्बी बाइक ?        अनि यति बिस्तारै चलाएपछि कहाँ हुन्छ ?        अलि एक्सेलेटर बटार।’

गुल्टनले भनेपछि उसले बाइकको गति बढायो। गतिसँगै बाइक सम्हाल्न उसलाई सजिलो भयो। दुवैजना बाइकमा रिमझिम होटेलमा गए। त्यहाँ उसका अरू साथी पनि रक्सी खान उनीहरूलाई कुरिरहेका थिए। उसले पनि रक्सी खायो। थोरै खायो। तर, पैसा भने सबैको तिर्‍यो। त्यसपछि गुल्टनलाई लिएर निस्क्यो। बाइकमा चढेपछि पनि ऊ घरतिर मोडिएन।

‘कता हिँडेको ?       ’

‘यस्सो लहानसम्म हावा खाएर आउँ है ?       ’

खासमा उसलाई त्यति थोरै समय बाइक चलाएर धीत मरेको थिएन। अझै केहीबेर चलाउन मन लागेर हिँडेको थियो। राति अबेर भइसकेकोले सडक खुला थियो। छिटफुट नाइट बसहरू र केही ट्रकबाहेक सडकमा अरू गाडी देखिएको थिएन। सडक खुला भएपछि उसको बाइकको गति पनि बढिरहेको थियो। रक्सीको उन्मादले उसलाई झनै हौस्याइरहेको थियो। उसलाई एकपटक बाइकलाई हाई स्पिडमा कुदाउन मन लाग्यो। त्यसैले पूरै एक्सेलेटर बटार्‍यो। त्यहीबेला अगाडिबाट ट्रक आउँदै थियो। उसले बाइकको हेडलाइट डाउन गरेकै थिएन। त्यसैले ट्रकले पनि हेडलाइट डाउन गरेन, जसले गर्दा ट्रकको लाइट सीधै उसको आँखामा पर्‍यो। अगाडि के छ वा छैन ! उसले हेर्नै पाएन। गाडीको लाइट देखेर एउटा स्याल दौडँदै बाइकमुनि आइपुग्यो। उसले केही सोच्नुअघि नै बाइक चिप्लिएर सडकमा घिसारिन थाल्यो।

ट्रक रोकियो। ड्राइबर बाहिर निस्केन। खलासी निस्क्यो। नजिकै पुगेर दुबैलाई हेर्‍यो। बाइक बन्द भएको थिएन। एक्सेलेटरमा उसको हात अझै थियो। त्यसैले बाइकको आवाज निकै कर्कश र चर्को थियो। रातको सन्नाटामा त्योे आवाज झन् चर्को सुनियो। खलासी हतारहतार ट्रकतिर फक्र्यो। खै ड्राइभरले के भन्यो कुन्नि ! खलासी ट्रकमा चढ्यो। ट्रक हिँड्यो।

बाइककै उज्यालोमा उसले गुल्टन एक क्षण छटपटाएर शान्त भएको देख्यो। उसले ट्रक रोकिएको, एकजना मान्छे ओर्लेको र फेरि चढेर गएको देख्यो। उसले मद्दत माग्न खोज्यो। तर, मुखबाट बोली नै निस्केन। ऊ उठ्न खोज्यो। तर, उसका कुनै पनि अंगले काम गरेनन्। एक्सलेटरबाट हात पनि हटाउन सकेन। बाइकको कर्कश आवाज असह्य भइरहेको थियो। विस्तारै अँध्याराकोे पर्दाजस्तो उसको आँखामा छाउन थाल्यो। त्यो कर्कश आवाज पनि मधुरो सुनिन थाल्यो। उसलाई जोडसँग तिर्खा लाग्यो। ऊ विस्तारै शिथिल हुन थाल्यो र अचेत भयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.