सिक्किम : एक दुःखान्त

सिक्किम : एक दुःखान्त

२०३१ फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेक गरिँदा काठमाडौंमा थुप्रै विदेशी अतिथि निम्त्याइएका थिए। तीमध्ये एकजना अलि फरक थिए, ‘छोग्याल’ भनिने सिक्किमका राजा पाल्देन थोन्डुप नामग्याल। उनी सबभन्दा नजिकका राष्ट्रप्रमुख थिए। तर, काठमाडौं आइपुग्न उनैलाई सबभन्दा सकस परेको थियो। पहिले त उनलाई रोक्न भारत सरकारले नै जोडबल गर्‍यो। जब उनी गान्तोकबाट हिँडे, बाटोमा अनेक बाधा–व्यवधान खडा गरियो। सिङ्तामछेउ छोग्यालको कारमै बम प्रहार भयो। धन्य छेउपट्टि लागेकाले गाडी कुच्चियो र सिसामात्र फुट्यो। अनेक उपाय लगाएर लुक्दै–छिप्दै उनी राति २ बजे सिलिगुडी झरे। अनि बिहान पाँचै बजे उनीहरू त्यहाँबाट हिँडेर सीमा कटे।

काँकडभिट्टा नाकामा नेपाली जमात उनको स्वागतमा फूलमाला लिएर उभिएको थियो। अञ्चलाधीशले उनलाई विराटनगर पुर्‍याए, जहाँबाट विमान चढेर उनी त्यसै दिन काठमाडौं आए। र, नारायणहिटीमा राजा वीरेन्द्रसँग भलाकुसारी गरे। छोग्याल काठमाडौं दरबार पसेको डेढ महिनामै गान्तोक दरबारमा भारतीय सेना पस्यो र सिक्किमलाई भारतमा गाभ्ने निर्णायक कदम चाल्यो।

के छोग्याल नेपाल नआएको भए सिक्किम जोगिन्थ्यो होला ? त्यहाँ यस्तो ‘चक्रव्यूह’ रचिसकिएको थियो, जसलाई तोड्न त सहज थिएन, तर विलयको घटना केही पछाडिचाहिँ धकेलिन सक्थ्यो— कतिपय यस्तो विश्लेषण पनि गर्छन्। उस बेला छोग्यालसँगै आएका ‘सिक्किम गार्ड्स’का क्याप्टेन सोनाम योंग्दालाई चाहिँ काठमाडौंमा र त्यहाँबाट फर्केपछि जे तयारी गरिएको थियो, त्यसअनुसार चलेको भए देश जोगिन्थ्यो भन्ने लाग्दो रहेछ।

क्याप्टेन योंग्दा, सिक्किमका घटनाक्रममा चासो राख्नेहरूले सुनिआएकै नाम हो।

उनलाई मैले २०५७ भदौ १० गते गान्तोकको होटल छुम्बी रेसिडेन्सीमा भेटेको थिएँ। फोटो पत्रकार मीन वज्राचार्य र म ‘हिमाल’ खबरपत्रिकाका लागि रिपोर्टिङ गर्न गएका बखत संयोगले उनी फेला परेका थिए। उस बेला उनीसँग लिइएको लामो अन्तर्वार्ताको छोटो अंश ‘हिमाल’मा छापियो। बाँकी उनैले ‘केही वर्षपछि मात्र छाप्नुहोला है’ भनेका थिए। केही वर्ष होइन, निकै वर्ष बितिसकेछ। भर्खरै जीबीएस सिधुको संस्मरण ‘सिक्किम ः डन अफ डेमोक्रेसी’ पढ्दै गर्दा मैले उनलाई सम्झेँ। त्यो किताबको प्रसंग यहाँ किन आयो भन्नेबारे तल चर्चा गरौंला। सुरुमा क्याप्टेन योंग्दासँगै गरिएका केही प्रश्नोत्तर :

 सिक्किम भारतमा गाभिएको घटनालाई अहिले फर्केर हेर्दा कस्तो लाग्छ ?

– पहिलो कुरा त हाम्रो देश नै खत्तम भयो। छुट्टै राष्ट्र थियौं, भारतको बाइसौं राज्य बन्न पुग्यौं। आफ्नो पहिचान गुमायौं।

 तपाई छोग्यालसँगै काठमाडौं जानुभएको थियो, होइन ?

– त्यस बेला म राजदरबारको सुरक्षा प्रमुख थिएँ। पछि राजाको एडीसीमा नियुक्त भएँ। नेपालका राजाको कोरोनेसनमा छोग्याल काठमाडौं जानुहुँदा म उहाँको एडीसी–कम–सेक्रेटरी थिएँ। छोग्यालले नै मलाई त्यो जिम्मेवारी दिनुभएको थियो। त्यस बेला छोग्याल र नेपालका राजाबीच जति बातचित भयो, त्यो मैले नै नोट गरेको थिएँ।

कस्तो कुराकानी भएको थियो ?

– त्यहाँ कतिपय विदेशी नेताले छोग्याललाई केही समय नेपालमै शरण लिन सुझाव दिएका थिए, ताकि अन्य सहयोग जुटाउने समय मिलोस्। नेपालकै महत्वपूर्ण व्यक्तित्वहरूले पनि हाम्रा राजालाई सघाउने वचन दिएका थिए। उनीहरूले केही ठाउँ पनि देखाए। उनीहरूले कस्तो कदम चाल्ने भन्नेबारे बनाएको ‘मास्टर प्लान’ नै सुनाए। तर, भारत सरकारप्रति हाम्रा राजाको एकदमै धेरै विश्वास थियो। भारतले कुनै दिन सेना नै पठाएर सिक्किमलाई कब्जामा लिन्छ भन्ने उहाँले कहिल्यै ठान्नुभएको थिएन। सन् १९५० मा भारतसँग मैत्री सन्धि गर्दा पण्डित नेहरूले सिक्किमको सार्वभौमिकता र स्वतन्त्रतामाथि कदापि दखल दिइने छैन भनेर विश्वास दिलाउनुभएको थियो। उहाँकै छोरी इन्दिरा गान्धी प्रधानमन्त्री भएको बखत देश जान्छ भनेर छोग्यालले एक मनमा पनि सोच्नुभएको थिएन।

काठमाडौंमा विदेशी नेताहरूले छोग्याललाई के भनेका थिए ?

– चाइनाबाट जो आउनुभएको थियो, उहाँले (सिक्किम) नफर्कनु भन्ने सल्लाह दिनुभयो। पाकिस्तानका प्रतिनिधिले पनि नफर्कनु नै भन्नुभएको थियो। उहाँहरू हामीलाई जुनसुकै सहयोग गर्न पनि तयार हुनुहुन्थ्यो। नेपालमै बस्यो भने भविष्यमा अरू निर्णयहरू लिन सजिलो पर्छ भन्नुभएको थियो। यहाँ कहाँ बस्ने भनेर ठाउँहरू पनि देखाउनुभएको थियो।

 कुन ठाउँ थियो त्यो ?

– त्यो त म भन्दिनँ। खालि के भन्न सकिन्छ भने उहाँहरूको टोटल प्लान थियो।

 तर छोग्यालले भारतसँगको विश्वासका कारण त्यो योजना स्वीकार्नुभएन, होइन ?

– नेहरूजी र उहाँकी छोरी इन्दिराले यस्तो कहिल्यै गर्नुहुन्न भन्नेमा छोग्याल विश्वस्त हुनुहुन्थ्यो। भारत शान्तिप्रिय देश हो, पञ्चशीलमा विश्वास गर्छ, यस्तो कहिल्यै गर्दैन भन्नुहुन्थ्यो।

राजा वीरेन्द्रसँग चाहिँ के कुराकानी भएको थियो ?

– उहाँहरूबीच हिमाली अधिराज्यहरू नेपाल, भुटान र सिक्किममा कसरी शान्ति राख्ने, यो शान्ति क्षेत्र भयो भने उतापट्टि चाइना र यतापट्टि भारतको सम्बन्धमा पनि सकारात्मक प्रभाव पर्नसक्छ भन्ने ढंगका कुराहरू भएका थिए।

 त्यस बेला यी तीन देश मिलेर ‘हिमालयन फेडरेसन’ बनाउने कुरा पनि आएको थियो ?

– त्यो कुरा त जोडिइहाल्थ्यो। यी तीनवटा देशले शान्ति क्षेत्र बनाएर आपसमा एकदमै नजिकको राम्रो सम्बन्ध राख्नुपर्छ, हामी इन्डिया वा चाइना कतैपट्टि पनि ढल्कनु हुँदैन भन्ने ढंगको कुरा भएको थियो। तीनवटा देश एक ठाउँमा उभिएपछि लडाइँको डर नहुने, उता चाइनाले पनि केही नगर्ने, इन्डियाले पनि उतिसाह्रो केही गर्न नसक्ने अवस्था हुन्छ भन्ने थियो।

 तर त्यसअनुरुरूप काम हुन सकेन नि ?

– यो कुरा पब्लिकले बुझिदिएन। सायद सिक्किमका कतिपय नेताले यो बुझ्नुभएको थियो, तर उहाँहरूले पनि खुला रूपमा बोल्नुभएन। तर, तीनजना राजाहरूको चाहिँ त्यसमा समझदारी थियो जस्तो लाग्छ।

सिक्किममा भारतको हस्तक्षेप बढिरहेको बारे पनि छोग्यालले नेपालका राजासँग कुरा गर्नुभएको थियो ?

– शरण लिने कुरा त्यहीँबाट त निस्केको थियो। नेपालका उच्च नेताले त्यही सल्लाह दिनुभयो कि— छोग्याल एकदुई महिना काठमाडौंमै बस्नुभयो भने राम्रो हुन्छ।

छोग्याललाई काठमाडौंमा शरण लिने कुरा स्वीकार्य थिएन। ‘मेरो देश सिक्किम हो’, भारतीय पत्रकार सुनन्दा दत्त–रायले ‘स्म्यास् एन्ड ग्य्राब ः एनेक्सेसन अफ सिक्किम’ पुस्तकमा छोग्यालको भनाइ उद्धृत गरेका छन्, ‘म निश्चित रूपमा त्यहीँ बस्न र मर्न चाहन्छु।’

छोग्यालको टोली काठमाडौंमा ११ दिनजति मात्र बस्यो। मुकाम थियो— होटल अन्नपूर्ण। त्यसबीचमा राजा वीरेन्द्रसँग दुई चरणमा उनको लामा–लामा कुराकानी भएको योंग्दा सम्झन्छन्। त्यसबाहेक छोग्यालले अमेरिकी सिनेटर चाल्र्स पर्सी र बेलायतका लर्ड माउन्टवेटनसँग पनि वार्तालाप गरे।

ब्रिटिस इन्डियाका अन्तिम भाइसराय माउन्टवेटनलाई सिक्किमको अलग इतिहास अवगतै थियो। उनीहरूले छाडेपछि भारतले सन् १९५० मा सिक्किमसँग मैत्री सन्धि गरेर प्रतीरक्षा एवं वैदेशिक मामिलामा आफ्नो भूमिका बढाएको थियो। तर, सिक्किमको स्वतन्त्र चिनारी बाँकी नै थियो। त्यसमाथि आँच आउन लागेको भन्दै छोग्यालले अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल गरे। उनले चीनका उपप्रधानमन्त्री चेन सी–लिएन र पाकिस्तानका राजदूतसँग पनि काठमाडैांमा कुराकानी गरे।

‘सबैले ममाथि देश बेचेको आरोप लगाउँछन्। त्यति बेला देश बेचेकै भए पनि मैले मात्र बेचेको हो र ! मैले सिक्किमलाई भारतमा मिलाउन त्यत्रो योगदान गरेँ, तर काम लिइसकेपछि इन्डियनहरूले मलाई वास्ता गरेनन्। ...पहिला दिल्लीमा मलाई रेड कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो, अहिले त सामान्य नेतासँग भेट्न पनि हप्तौं पर्खाउँछन्।’ —लेन्डुप दोर्जी

विदेशी शुभेच्छुकहरूले उनलाई सिक्किमको सवाल संयुक्त राष्ट्रसंघमा उठाउन सुझाए। प्रेसले सोधिहाल्यो— के राष्ट्रसंघलाई गुहार्नु हुन्छ ? छोग्यालले ‘सिक्किमको स्वतन्त्रता जोगाउन कुनै कसर बाँकी नराख्ने’ प्रतिक्रिया दिए। आफूलाई काठमाडौं आउँदा बाटोमा बम प्रहार गरेर सिध्याउन खोजिएको घट्नाक्रम पनि विस्तारमा बताए। उनले काठमाडौं आउँदाजस्तै सास्ती बेहोर्नुपर्‍यो फर्कंदा पनि। रङ्पो पुलमा त विपक्षीहरूसँग भिडन्त नै भयो। एडीसी योंग्दामाथि हिंसा भड्काएको आरोप लगाउँदै प्रकारान्तरले छोग्याललाई नै लपेट्न खोजियो। गान्तोकमा निर्णायक दिनहरू आउन लाग्दै थिए।

०००सिक्किममा भारतीय हस्तक्षेप भयो भन्दै काठमाडौंमा अघिल्लै बर्षदेखि विद्यार्थीको नाराबाजी चल्दै थियो। परराष्ट्रमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सिक्किमका घट्नाक्रमप्रति ‘चिन्ता’ जाहेर गरेका थिए। त्यो पृष्ठभूमिमा छोग्यालले काठमाडौं गएर जे–जे बोले, दिल्लीमा प्रधानमन्त्री इन्दिरा गान्धीलाई आक्रोशित बनाउन पर्याप्त थियो। अर्को हिमाली अधिराज्य भुटान सन् १९७१ मै राष्ट्रसंघको सदस्य बनिसकेको थियो। सिक्किमलाई त्यो बाटोमा जानबाट पनि रोक्नु थियो। त्यसमाथि चीन र पाकिस्तानसँगको ‘हिमचिम’ आपत्तिको बिषय बनिहाल्यो।

सिधुले आफ्नो किताबमा उल्लेख गरेका छन्— गान्धीले जासुसी संस्था ‘रअ’का प्रमुख रामेश्वरनाथ काओलाई सोधिन, ‘सिक्किमलाई तिमी केही गर्न सक्छौं ? ’

काओ त्यही दिनको प्रतीक्षामा थिए। उनले १५ दिनको समय मागे। भर्खरै गान्धीको इशारामा पाकिस्तान टुक्र्याएर बंगलादेश बनाउन छद्म भूमिका खेलेपछि काओको महत्वाकांक्षा अरू बढेको थियो। सिक्किम नयाँ प्रयोगशाला बन्ने देखे उनले। र, त्यो मिसनमा दुईजनालाई छाने। एकजना रअका कोलकाता प्रमुख पीएन बनर्जी थिए, जसले बंगलादेश अपरेसनमा अहम् भूमिका निर्वाह गरेका थिए। जीबीएस सिधुलाई चाहिँ उनीमातहत काम गर्ने गरी गान्तोक पठाइयो।

सिधुजस्ता कनिष्ठ अधिकारीलाई त्यो बोझिलो जिम्मेवारी दिनुका पछाडि उनी तत्कालीन भारतीय विदेशमन्त्री स्वर्ण सिंहका ज्वाइँ भएकाले पनि थियो, ताकि राजनीतिक कुसन प्राप्त भइरहोस्। सिधुले दुईजना फिल्ड अफिसरहरू पदमबहादुर प्रधान र मिङ्मा छिरिङ सम्मिलित अत्यन्त गोप्य ‘स्पेसल अपरेसन्स टिम’ बनाए। त्यसले यस्तो राजनीतिक व्यूहरचना तयार पार्‍यो, अन्ततः न छोग्याल रहे, न त सिक्किमको स्वतन्त्र अस्तित्व।

कारक भारतीय हस्तक्षेपमात्र थिएन। अल्पसंख्यक भुटिया समुदायका राजासँग सिक्किमका बहुसंख्यक नेपालीभाषी जनता पहिल्यैदेखि असन्तुष्ट थिए। प्रजातान्त्रिक हक–अधिकारका निम्ति सन् ५० को दशकदेखि नै आन्दोलन हुँदै–सेलाउँदै गर्दै थियो। सामन्तवादी संस्थाका प्रतिनिधि छोग्यालले समयको पदचाप समयमै बुझ्न सकेनन्। उनले सबै समुदायलाई समेटेर लैजाने बुद्धिमता पनि देखाउन सकेनन्। त्यही असन्तुष्टिको झिल्को भित्रभित्रै सल्कँदै थियो, त्यसलाई डढेलो बनाउने काम सिधु नेतृत्वको रअ टोलीले गर्‍यो। प्रजातान्त्रिक आन्दोलन देशै गुमाउने गन्तव्यमा पुगेर टुंगियो।

तिनै सिधुले झन्डै ४५ वर्षपछि लेखेको संस्मरण हो, ‘सिक्किम ः डन अफ डेमोक्रेसी’। नेपालसँग सीमा जोडिएको सिक्किमको अस्तित्वहरण दक्षिण एसियाली इतिहासको रोचक प्रसंग हो, जसबारे आ–आफ्नो कोणबाट थुप्रै पुस्तक लेखिएका छन्। सिधुको किताबचाहिँ यस अर्थमा फरक छ कि यसले पहिलोपटक त्यहाँ रचिएको ‘चक्रव्यूह’ लाई आधिकारिक रूपमा पुष्टि गरेको छ। सायद ‘हामीले त्यो गरेका थियौं’ भनेर अब दाबी गर्दा कुनै वैधानिक अड्चन नआउने देखेर होला।

सिधुका भनाइमा सिक्किम अपरेसनलाई अत्यन्त गोप्य राखिएको थियो। ‘सिक्किम विलयको अपरेसन रअभित्रै रहस्यको विषय रह्यो’, उनले लेखेका छन्, ‘त्यो महाभारतको चक्रव्यूहजस्तो थियो, जहाँ पस्न सजिलो हुन्छ, निस्कन गाह्रो !’ सिधुका अनुसार त्यसको सुरुआती योजना काओले डिसेम्बर १९७२ मा बनाएका थिए, तत्कालीन प्रधानमन्त्री गान्धीले त्यसलाई फेब्रुअरी १९७३ मा अनुमोदन गरिन्, अनि २७ महिनामा त्यो सम्पन्न भयो।

सिधुको किताब पढ्दै जाँदा लाग्यो— ठूला देशको ‘राष्ट्रिय स्वार्थ’बाट साना देश कति प्रताडित हुँदा रहेछन् ! उनले त्यो लेख्दा सत्यको एउटा पाटो समातेका छन्, अर्को कथ्य बुझ्न सन् ८० कै दशकमा निस्केको सुनन्दा दत्त–रायको ‘स्म्यास् एन्ड ग्य्राब’ पढ्नुपर्छ वा तीन वर्षपहिले आएको एन्ड्र्यु डफको ‘सिक्किम : रेक्विम फर अ हिमालयन किङ्डम’ हेर्नुपर्छ। यी पुस्तकहरूमा छोग्यालझैं उनका बफादार क्याप्टेन योंग्दाबारे पनि फरकफरक ढंगले चित्रण गरिएको छ।

मैले योंग्दासँग १९ वर्षअघि गरिएको कुराकानीको अडियो रेकर्ड र डायरी फेरि पल्टाएँ, जहाँ सोधिएको रहेछ :

तपाईंलाई के लाग्छ, सिक्किमको विलयमा सिक्किमे नेताहरूकै बढी भूमिका थियो कि भारतको ?

– भारतको थियो। जहाँसम्म नेताहरूको कुरा हो, त्यो बेला हाम्रो संसद्मा ३२ जना सदस्य थिए, जसको नेतृत्व एलडी काजीले गरेका थिए। सन् १९७३ मा सिक्किमलाई भारतको ‘एसोसिएट राज्य’ बनाउने विधेयक प्रस्तुत गर्दा संसद् सदस्यहरूलाई थाहै थिएन। अंग्रेजीमा टाइप गरेको एउटा १०–१२ पानाको पेपर देखाउँदै सही गराइयो। जब कि उनीहरू अंग्रेजी त के, धेरैजना नेपाली पनि पढ्न नजान्ने थिए। कतिजनाले त सही पनि मुस्किलले गर्थे। उनीहरूले कसरी बुझेर त्यो पेपरमा सही गरे होलान् ? अलि जान्ने केसी प्रधानले त्यो पढ्नै पाइनँ भन्छन्। बाहिर इन्डियन आर्मीले घेरेको छ, भित्र ‘सही गर कि गर’ भनेपछि सबैले पसिना निकाल्दै सही गरेका थिए।

त्यस बेला तपाईं कहाँ हुनुहुन्थ्यो ?

– मलाई तीन दिनअगाडि नै सीआरपी (अर्धसैन्य बल)ले अपहरण गरेर २२ दिनसम्म बेपत्ता पार्‍यो। मलाई कहाँ राखिएको छ भन्ने कसैलाई थाहा दिइएन। त्यति बेलै जनमतसंग्रह गरिएछ। त्यो पनि ४८ घण्टाको सूचनामा। देश गाभ्ने कुरामा ४८ घण्टे जनमतसंग्रह संसारमा कहीँ पनि भएको थिएन होला।

 तपाहरूको तयारीचाहिँ कस्तो थियो ?

– म पक्राउ पर्नुभन्दा दुई दिनअघि दरबारमा सिक्किम गार्ड्सका कमान्डर कर्णेल किसनसिंह गुरुङ, म र छोग्यालबीच एउटा बैठक भएको थियो। त्यहाँ हामीले दुइटा कुरा गर्‍यौं। पहिलो, दरबारको क्षेत्रमा सुरक्षाको बन्दोबस्त राम्रोसँग मिलाउनुपर्छ। दोस्रो, त्योभन्दा पहिले छोग्यालसहित राजपरिवारलाई सिक्किमबाट बाहिर निकाल्नुपर्छ। त्यो सबै प्लान कर्णेल साब र मैले बनाएका थियौं। तर, छोग्यालले मान्नुभएन। त्यस बेला हामीले सोचेका थियौं— इन्डियन आर्मीको पूरै कमान्ड आउँदा पनि हाम्रो दुई सयजनाको टुकडीले दुई घण्टा रोकेर राख्न सक्छ। आखिर उनीहरूको फाइटिङ क्यापाबिलिटी हामीलाई थाहै थियो !

दुई घण्टा रोकेको भए के हुन सक्थ्यो ?

– काठमाडौंमा कुराकानी हुँदा नै हामीलाई चीन र पाकिस्तानका नेताहरूले सहयोग गर्ने वचन दिनुभएको थियो। छोग्यालसँग एउटा रेडियो ट्रान्समिटर पनि थियो, त्यसबाट हामी सम्पर्क गर्न सक्थ्यौं। उनीहरूले आ–आफ्नो सीमाबाट फायर खोल्नेबित्तिकै इन्डियन आर्मीको ध्यान उता केन्द्रित हुनैपथ्र्यो। यहाँबाट नाथुला

(चीन सीमा) पनि टाढा छैन। एक घण्टामै धेरै कुरा बदलिन्थ्यो।

 छोग्यालले किन नमानेका होलान् त ?

 छोग्याललाई भारतप्रति ठूलो विश्वास थियो। भारतले सिक्किममाथि हमला गर्नसक्छ भनेर उहाँले कहिल्यै पत्याउनु भएन। उहाँ त धर्मराजा (छोग्याल) ! अन्तिम अवस्थामा पनि के भन्नुहुन्थ्यो भने, ‘म त एउटा बौद्ध राजा, लडाइँ मन पर्दैन।’

पछि दरबारमै आक्रमण भयो, होइन ?

 हो, ९ अप्रिल १९७५ मा इन्डियन आर्मीले दरबारमै आक्रमण गर्‍यो। त्यस बेला पनि छोग्यालले सिक्किम गार्ड्सलाई माथिबाट आदेश दिनुभएछ— कसैले पनि गोली नचलाउनु। तर, इन्डियनहरूले त चलाए। सिक्किम गार्ड्सका आठजना घाइते भए। कसैको हात काटियो, कसैको खुट्टा। मेनगेटको ड्युटीमा रहेका वसन्तकुमार क्षेत्री त्यहीँ मारिए। त्यसपछि पूरै सिक्किम गार्ड्सका सबै सिपाहीलाई युद्धबन्दी बनाएर टाढाको क्याम्पमा लगेर थुनियो। हाम्रो इतिहास समाप्त भयो।

झन्डै पाँच हजार भारतीय सैनिकलाई दुई सय ४३ जनाको सिक्किम गार्ड्सलाई नियन्त्रणमा लिएर छोग्याललाई दरबारभित्रै नजरबन्द गर्न आधा घन्टा पनि लागेन। २०३१ चैत २७ गते मध्याह्न १२ बजेर ४५ मिनेट जाँदा सिक्किमको अस्तित्व राजनीतिक भूगोलबाट मेटिइसकेको थियो।

बन्दी बनाइएका सिक्किमे सैनिकलाई ट्रकमा हालेर कतै लगियो। उनीहरू राष्ट्रिय गीत गाउँदै गए, ‘डेला सिल ली गी याङ चाङ्पा चिलो’ अर्थात् सिक्किम सधैं फूलजस्तै फुलिरहोस् ! पत्रकार सुनन्दा दत्त–रायले त्यो क्षणको चित्रण गरेका छन्। ‘हामी फेरि आउनेछौं’, उनीहरूले ट्रकबाट गीत गाउँदै भनेका थिए, ‘हामी एक दिन आउनेछौं र न्याय माग्नेछौं।’

त्यो ‘एक दिन’ आएन। केही महिनापछि ती सबैलाई भारतीय सेना–प्रहरीमा समाहित गरियो। योंग्दाचाहिँ अपवाद भए। ‘मैले सोचेँ— आफ्नै देश गुमिसक्यो, भारतीय सेनामा भर्ना भएर बेकारमा अरूको लागि ज्यान किन फाल्नु’, योंग्दाले भने, ‘किन नमानेको भनेर मलाई स्पष्टीकरण पनि सोधियो। पटकपटक थुनियो।’

कैदी अवस्थामै छँदा योंग्दाले छोग्यालको चिठी पाए, ‘मेरा सबै अफिसरलाई उनीहरूले लगे, दरबारमा कोही छैन। तिमी आउँछौ मलाई सघाउन ? ’

छोग्यालकी अमेरिकी मूलकी श्रीमती होप कुक त्यसअगावै न्युयोर्क फर्किसकेकी थिइन्, जो फेरि कहिल्यै सिक्किम आइनन्। जेठा छोरा राजकुमार तेन्जिङ गान्तोकमै एक मोटर दुर्घटनामा परेर बितिसकेका थिए। कान्छा छोरा तोब्ग्याल भिक्षु बनेर गुम्बा पसे। योंग्दा भने छोग्यालका सदैव सहयोगी रहे।

बाह्रौं पुस्तादेखि सिक्किममा शासन गर्दै आएको ३३३ वर्ष पुरानो नामग्याल वंशका अन्तिम राजा पाल्देन थोण्डुप नामग्याल २०३८ माघ १६ गते क्यान्सर लागेर बिते। त्यसअघि उनले भनेका रहेछन्, ‘योंग्दा, तिम्रो प्लान पर्फेक्ट थियो, तर हामीले त्यस्तो कदम नचालेर ठीकै गर्‍यौं। हामी सफल पनि हुन्थ्यौं होला, तर ठीक यही भयो कि हामीले लडाइँ लडेनौं। थुप्रै निर्दोष मानिसको ज्यान जोगियो। नत्र त हामी र इन्दिरा गान्धीमा के फरक हुन्थ्यो ? ’

अहिले गान्तोकभन्दा टाढा पेम्यांग्त्से गुम्बामा शान्त जीवन बिताइरहेका योंग्दालाई अशान्त अतीतले यदाकदा अझै झस्काउँछ।

सिक्किमको कथा एलडी काजी अर्थात् लेन्डुप दोर्जीको चर्चाबेगर अधुरै रहन्छ। उनी त्यो निमित्त नायक थिए, जसले छोग्यालसँगको झ्वाँकमा आफ्नो मुलुकलाई नै छिमेकमा गाभ्ने भूमिका खेले। सिक्किमका यी अन्तिम प्रमुख मन्त्रीलाई कति सहजै परिचालन गरिएको थियो; उनको पार्टीको घोषणापत्र र संसद्को विधेयक लेख्नेदेखि उम्मेदवार छान्ने र पैसा दिने कामसमेत भारतीय एजेन्टमार्फत कसरी गरिएको थियो, सिधुले विस्तारमा खुलाएका छन्। अनि अन्त्यमा लेन्डुप दोर्जीसँगको एउटा अन्तर्वार्ता उद्धृत गरेका छन् ः

‘सबैले ममाथि देश बेचेको आरोप लगाउँछन्। त्यति बेला देश बेचेकै भए पनि मैले मात्र बेचेको हो र ! मैले सिक्किमलाई भारतमा मिलाउन त्यत्रो योगदान गरेँ, तर काम लिइसकेपछि इन्डियनहरूले मलाई वास्ता गरेनन्। ...पहिला दिल्लीमा मलाई रेड कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो, अहिले त सामान्य नेतासँग भेट्न पनि हप्तौं पर्खाउँछन्।’

यी पंक्तिले लेन्डुपको मनोदशा दर्शाउँछ। किताबमा उद्धृत गरिएको यो अन्तर्वार्ता खासमा मैले लिएको हो। २०५३ र २०५७ सालमा उनीसँग दुईपटक लामा–लामा अन्तर्वार्ता लिने अवसर जुटेको थियो मलाई। जीवनका आखिरी वर्षहरूमा उनी निकै निराश देखिन्थे। सिक्किम भारतमा गाभिनुपूर्व सन् १९७४ को चुनावमा उनको पार्टीले ३२ मध्ये ३१ सिट जितेको थियो। तर, १९७९ मा एक सिट पनि ल्याएन। लेन्डुप आफैं नराम्रोसँग हारे। त्यहीँबाट उनको सार्वजनिक जीवन समाप्त भयो। ‘देशबेचुवा’को आरोप कहिल्यै पखालिएन।

सिक्किमबाहिर कालिम्पोङको चाकुङ हाउसमा नितान्त एक्लो र उपेक्षित जीवन बिताए उनले। दिल्लीका निम्ति उनी एउटा कालखण्डका उपयोगी पात्र थिए, जसलाई प्रयोजन सिद्धिएपछि मतलब गरिएन। २०६४ साउन १२ गते १०३ वर्षको उमेरमा बित्दा धेरैले पत्तोसमेत पाएनन्। सिक्किम र उनको दुःखान्त उस्तै–उस्तै भयो।

यसबारे छुट्टै लेखौंला कुनै दिन !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.