चट्याङ परेको बेला माबोइल चलाउँदा एक महिलाको मृत्यु
तनहुँ : चट्याङको बेला मोबाइल चलाइरहेकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । रिसिङ–१ काहुँशिवपुर सेटाङ घर भइ रिसिङ–२ लामास्वाँरास्थित माइती आएकी २० वर्षीया मीनामाया थापाको करेन्ट लागेर ज्यान गएको हो ।
चट्याङ परिरहेको समयमा मोबाइल चार्जमा जोडेरै भिडियो हेरिरहेकी थापा करेन्ट लागेर घाइते बनेकी थिइन् । शनिबार बिहानै दमौली अस्पतालमा उपचार गरिरहँदा अस्पतालमै उनको मृत्यु भएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
तनहुँमै ट्याक्टरले किचेर अर्का एक युवकको ज्यान गएको छ । आफैँ चढेको ट्याक्टरले किचेर व्यास–१३ बेलबासका २२ वर्षीय सूर्य नेपालीको मृत्यु भएको हो । शुक्रबार राती दमौली कोईदिम सडकखण्ड अन्तरगत कोईदिमबाट दमौली आउँदै गरेको ग १ त ४६७१ नम्बरको ट्याक्टरबाट तल खसेका गुल्मी फोक्सिङ–५ का स्थायी बासिन्दा सूर्यको ट्याक्टरको टायरले किचेर घटनास्थलमै मृत्यु भएको हो ।