खुसी रहने आध्यात्मिक कला

खुसी रहने आध्यात्मिक कला

भगवान् बुद्ध भन्नुहुन्छ, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’ बुद्ध पुरुषका वाणी र इशारालाई कहाँ नकार्न सकिन्छ र ?        को मानिस खुसी रहन चाहँदैन र ?        त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई घेरिरहेको अनुभूति गर्न थाल्छ। कारण त्यही हो कि भएकोमै ऊ सन्तुष्ट हुन बिर्सन्छ र अरू चाहना मृगतृष्णास्वरूप बढ्न थाल्छन् जुन पूरा हुन पनि सक्छन् र नहुन पनि। पूरा भए पनि अरू चाहना फेरि सिर्जना हुन्छन् त पूरा भएनन् भने त झनै दुःख आर्जनका मसला भइ नै हाले। जीवन दुःखका लागि हो त ?        त्यसो भए जीवन किन प्राप्त भयो ?       

होइन, जीवन खुसीसाथ जिउनका लागि प्राप्त भएको हो। त्यसैले त हामी नयाँ वर्ष होस् या जन्म दिन, चाडपर्व होस् या सांस्कृतिक पर्व होस्, खुसी हुनकै लागि मनाउने गर्दछौं। ल्होसार, दसैंं, तिहार, होली, क्रिसमसजस्ता आफ्नै पर्व हुन् या आयातीत पर्व हुन् अथवा कुनै पनि सामाजिक, सांस्कृतिक प्रचलन र उत्सवमा भाग लिनु, संस्कृति र परम्पराअनुसारको खानपान र लवाइमा समय दिनु, नाचगान र अन्य विविध कार्यक्रममा भाग लिनु सबै क्रियाकलाप खुसी रहने आयाम समेट्न खोज्नु हो। यस्ता कार्यमा हामी त्यति नै जागरुकता र महत्वका साथ शुभकामना आदानप्रदान गर्छौं र साथीभाइ एवं परिवारजन भएर कतै घुम्न जाने, नभए रेस्टुराँ गएर खाने या घरमै पनि जम्मा भएर उत्सवका रूपमा मनाउने गर्दछौं। यो सब गर्नुको कारण हो– हामी खुसी रहन चाहन्छौं, खुसी छौं भन्ने देखाउन चाहन्छौं।

यी सबै क्रियाकलापले क्षणिकरूपमै दुईचार दिन, दुईचार महिना खुसी भएजस्तो आभास मिल्छ तर एउटा समयमा आउँदा यी सब खुसी बिलाएर जान्छन् र जीवनप्रति सिकायत र दुःख सुरु हुन थाल्छन्। किनकि खुसी कुनै चिजमा खोजेर भेटिन्न। खुसी मानिसको स्वभाव हो, जुन प्रत्येक व्यक्तिभित्र छ। खुसी अन्तस्करणबाट प्रस्फुटन हुनुपर्छ। रोगमुक्त र तनावमुक्त अवस्था नै

खुसीको अवस्था भएकाले विज्ञानले समेत मानिसको शरीरको बनोट र मानिसलाई खुसी रहन आवश्यक हर्मोनको व्याख्या गर्दै भनेको छ, ‘मानिस खुसी हुनका लागि शरीरका विभिन्न क्रियाकलाप र हर्मोनसमेत आवश्यक रूपमा सक्रिय हुन जरुरी छ।’ शरीरमा रहेको इन्डोर्फिन नामक हर्मोनले मस्तिष्क र स्नायु प्रणालीलाई सक्रिय राख्ने हुँदा मानिस खुसी हुन यो हर्मोन पनि सक्रिय हुन जरुरी छ। योगाभ्यास, खेलकुद, दौड, हिँडाइ, हाँसो, प्रफुल्लताजस्ता शरीर

सक्रिय राख्ने अभ्यासबाट इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ। यो सक्रिय हुनासाथ तनाव कम हुन्छ, मुटु र रक्तचापजस्ता रोगबाट मुक्त भइन्छ। मानिसको शरीरमा रहेको दोस्रो हर्मोन हो– डोपामाइन। भावनात्मक र मनोवैज्ञानिक रूपमा खुसी रहन यो हर्मोन सक्रिय रहनुपर्छ अन्यथा अल्जाइमरजस्ता बिर्सने रोगसमेत यो हर्मोनको निस्क्रियताकै कारण बढ्छ। यात्रा, भ्रमण, प्रशंसा गर्ने कला, धन्यवाद व्यक्त गर्ने कला एवं आफ्नो गल्तीलाई आत्मसात गरी सुधार्ने बानीजस्ता क्रियाकलापले यो हर्मोनलाई सक्रिय राख्छ, जसको कारण मानिस सधैं खुसीको जीवन जिउन सक्छ।

तेस्रो हर्मोन छ– मानिस खुसी हुन सक्रिय हुनुपर्ने सेरोटोनिन। यसलाई खुसी हुन आवश्यक रसायन भनेर नामकरण गरिएको पनि पाइन्छ। रचनात्मक काम गर्नु, समाज सेवा र परोपकारका काममा समय दिनु, ज्ञानवद्र्धक किताब पढ्नु, लेखरचना सिर्जना गर्नु, सामाजिक सञ्जालको प्रयोग पनि रचनात्मक कार्यमा मात्र प्रयोग गर्नुजस्ता क्रियाकलापले

जीवनमा भएका त्यस्ता घटना र क्षणको याद गर्ने जसले मुहारमा मुस्कान, हृदयमा प्रेम र मनमा खुसी उत्पन्न होस्।

सेरोटोनिन नामक हर्मोन सक्रिय हुन्छ र मानिस सधैं खुसीपूर्वक जिउन सक्छ। चौथो हर्मोन छ— अक्सिटोसिन जसले शरीरका क्रियाकलाप र संवेदनालाई निरीक्षण गरी सक्रिय राख्न मद्दत गर्छ। एकअर्कामा अंकमाल गर्ने, एकअर्कालाई प्रेम गर्ने र सकारात्मक ऊर्जा प्रवाह गर्नाले यो हर्मोन सक्रिय रहन्छ। आफ्नो परिवारबाट यी सब क्रियाकलापको व्यावहारिक रूपमा प्रयोग गरी

सधैं खुसी रहन सक्छौं भने यी आयाम किन नअपनाउने ?       

परम गुरु ओशोले सम्झाउनुभएको छ, ‘जीवन र मृत्युबीचको जुन अन्तराल छ, त्यो नै खुसी हो। खुसी मनको अवस्था हो।’ त्यसैले होला दलाई लामाले पनि भन्नुभएको छ, ‘खुसी कहीं तयारी अवस्थामा छैन जुन खोजेर भेटिन्छ। खुसी त प्रत्येक व्यक्तिको आफ्नो कर्मबाट प्राप्त हुन्छ।’

खुसीको मापन कुनै परिभाषा र कुनै क्रियाकलापमार्फत गर्न सकिन्न बरु कस्ता कर्मले निरन्तर खुसीको अवस्थामा रहन सकिन्छ त्यो थाहा पाउनु र त्यसलाई व्यवहारमा प्रयोगमा ल्याउनु महत्वपूर्ण माध्यम हुन सक्छ।

खुसी त जीवन जिउने एउटा कला हो। हरेक कर्म र सम्बन्धलाई कसरी खुसीका साथ लिने त्यो आफ्नै कला हो। मर्यादित, अनुशासित व्यवहार, मीठो बोली, सजगता, शुद्ध आहार, सम्यक जीवनशैली, चित्त शुद्धि, इन्द्रियप्रति जागृत, साक्षी भाव र सकारात्मक विचार खुसीका परिणाम हुन्। प्रकृतिसँगै

जन्मेको मानिस प्रकृतिसँग तादात्म्य मिलाउन सक्यो भने त्यो प्राकृतिक तरंग र संवेदना नै खुसी हो।

असल मित्र, सुन्दर परिवार, स्वस्थ शरीर, भण्डारमा खानेकुरा, सुरक्षित रहन वासस्थान, प्रेम बाँड्न सक्ने हृदय छ भने हामी कसरी खुसी व्यक्तिमा परेनौं ?        किनकि हामीमा महत्वाकांक्षा बढी छ जसको कुनै सीमा छैन। सहज र सरल जीवनलाई कठिन र महत्वाकांक्षी बनाएर हामी जीवनमा खुसी हुनबाट वञ्चित

भइरहेका छौं। कसैका लागि हृदयमा प्रेम हुनु नै खुसी हुनुजस्तो लाग्छ। कसैलाई कुण्ठा र दमन नभएको स्थिति खुसी लाग्छ।

कसैलाई अरूलाई परोपकार गर्दा खुसी मिल्छ त कसैलाई धेरै धन आर्जन गर्दा। कसैलाई दुई छाक जाउलो जुटाउन र सन्तानलाई स्कुल पठाउन सक्नु खुसीको परिभाषाभित्र पर्छ त आँखा नदेख्नेलाई आँखा देख्न सक्ने हुन सके त्योभन्दा खुसी अरू के होला ?        एउटा मात्र हात हुनेलाई दुइटा हात भए कति खुसी हुन्छ होला ?        एउटा खुट्टा हुनेलाई महत्व हुन्छ दुइटा खुट्टा हुँदाको खुसी। हामीसँग भएको पूर्ण शरीर, सुन्दर शरीर, स्वस्थ शरीर र बलियो शरीरको महत्व कहिल्यै बुझेका छौं ?        ख्याल गरेका छौं ?        आफ्नो शरीरप्रति धन्य भएका छौं ? हिजोआज उपलब्ध भौतिक सम्पन्नताले हाम्रो खुसीको दायरालाई साँघुरो बनाइदिएको छ। हिजो टुकीको दियोमा अध्ययन गर्ने हामी आज एकछिन लोडसेडिङ भयो भने अध्ययनमा वाधा परेर होइन, इन्टरनेट चलाउन नपाएर आत्तिन्छौं। हिजो स्कुलबाट घर पुग्दा आमा घरमा खाजा बनाएर कुरिरहेको देख्दा खुसी हुने हामी आज घर पुग्नासाथ वाइफाइ छ कि छैन त्यसमा ध्यान जान्छ। आमाले के खाजा बनाएर राख्नुभएको छ वास्ता हुँदैन। खाँदा पनि होस छैन, हाँसले हिलो टिपे झैं

हतारहतार खाएर डिभाइसको प्रयोगमा भुल्न चाहन्छौं। भौतिक सम्पन्नताले जति सजिलो र सुविधा बढाएको छ त्यति नै आत्मीयता हराउँदै गएको छ। परिवारमा एकले अर्काको कुरा सुन्ने फुर्सद छैन।

त्यसैले पनि हिजोको खुसी र आजको खुसीको रूप फेरिएको छ। कसैलाई भौतिक सम्पन्नता, बाहिरी सम्मान र पदले खुसी मिल्छ त कसैलाई आध्यात्मिकताको गहिराइले छोएपछि स्वयं भित्र डुब्दा खुसी र आनन्द मिल्छ। वास्तविक खुसी त्यो हो, जो आफैंसँग खुसी रहन्छ र खुसी हुन अरूसँग तुलना गर्दैन। हिन्दूहरूको धर्मग्रन्थ गीतामा पनि चित्त शुद्धि र प्रसन्न रहे मात्र

मानिसलाई खुसी मिल्छ भनेर व्याख्या गरिएको छ। अरूलाई पढेर र जानेर स्वयंमा खुसी आउँदैन। तर हाम्रो जीवन हेर्ने हो भने हाम्रो खुसीको कारण अरूमा भर पर्ने गरेको छ। हामी जति सम्पन्न भए पनि मापन हुन्छ अरूसँगै तुलना गरेर। हामीसँग भएका कुरा, हामीभित्रका सम्पदाको ख्याल गर्दैनौं हामी बरु अरूसँग हरेक कुरामा तुलना गर्ने गर्दछौं।

आफ्नो दैनिकीमा बिहानदेखि बेलुकासम्म जे पनि क्रियाकलाप गरिन्छ, त्यसमा होसपूर्ण रहने हो र स्वयंको ध्यान दिने हो भने अरूसँगको तुलना गर्ने बानी पूरै हराएर जान्छ। आफू आफैंसँग विश्वस्त रहने, आफूलाई सकारात्मक सोचाइमा व्यस्त राख्ने, सम्यक कर्ममा व्यस्त राख्ने, शिष्ट व्यवहार र बोली कायम राख्न होसपूर्ण रहने, आफूभित्रका नकारात्मक भावलाई साक्षीपूर्वक हेर्ने र नकारात्मक भावलाई क्रियामा परिणत हुन नदिने नै खुसी रहने उपाय हुन्। सम्यक सेवा, करुणादायी स्वभाव, तनाव र कलहप्रति जागरण एवं सम्यक वि श्राम र दैनिक आधा घन्टादेखि एक घन्टाको ध्यान गर्ने बानीले आफूभित्र खुसी र आनन्द प्रस्फुटन गराउँछ।

जीवनमा भएका त्यस्ता घटना र क्षणको याद गर्ने जसले मुहारमा मुस्कान, हृदयमा प्रेम र मनमा खुसी उत्पन्न होस्। अस्तित्वले हामीमाथि धेरै कृपा गरेको छ। हामीले कल्पना गर्न नसकिने, गन्न नसकिने र हामीलाई ख्यालसम्म नरहेका तर जसको अभावमा जीवन सम्भव छैन, ती सबै चिज हामीलाई प्राप्त छन्। हामीले बाहिर खोज्ने खुसी र हामी भित्रै विद्यमान खुसी के हो, त्यो छुट्ट्याउन सक्नुपर्छ। हामीभित्रको विशाल सम्पदाको पहिचान गर्न सक्नुपर्छ, त्यसमै छिपेको छ हाम्रो खुसी। बाहिर अरूमा देखिने खुसीले हामीभित्रको अभावलाई पूरा गर्न सक्दैन र त्यो वास्तविक पनि हुँदैन। सबैको आआफ्नै जीवन, जिउने तरिका र स्वभाव छन् र पनि खुसी अनि प्रेम सबैको भित्र रहेको अथाह सम्पदा हो, जुन सबैसँग छ। खुसी समग्रतामा खोजिनुपर्छ, जुन जीवन जिउने एउटा महत्वपूर्ण कला बन्न सकोस्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.