पेल्ट्रिक सेट विस्थापित

पेल्ट्रिक सेट विस्थापित

ओखलढुंगा : सिद्धिचरण नगरपालिकाका विभिन्न स्थानमा विद्युत् उत्पादनका लागि सञ्चालन गरिएका पेल्ट्रिक सेट विस्थापित भएका छन्। केन्द्रीय आयोजनाको बिजुली वितरण भएपछि कतिपय पेल्ट्रिक सेट बन्द भइसकेका छन्। स्थानीय खोलाबाट विद्युत् उत्पादनका लागि सञ्चालनमा ल्याइएका पेल्ट्रिक सेट संरक्षण नहुँदा जीर्ण बनेको स्थानीयले बताए।

सिद्धिचरण नगरपालिकाका विभिन्न वडामा दुई गरेर सातवटा आयोजना संरक्षण अभावमा बन्द भएका छन्। स्थानीयको बेवास्ता र संरक्षण अभावमा सरकारको अनुदान र स्थानीयको स्रोत साझेदारीमा निर्माण गरिएका लाखौंका आयोजना बन्द भएपछि उपकरणसमेत लथालिंग बनेका छन्। केन्द्रीय विद्युत् आयोजना गाउँमा विस्तार हुन थालेपछि साना आयोजनामा स्थानीयले ध्यान दिएका छैनन्।

धेरैपटक बिग्रने र बनाउँदा महँगो खर्च लाग्ने भएकाले केन्द्रीय आयोजना पुगेपछि स्थानीय आयोजना ओझेलमा परेको सिद्धिचरण नगरपालिका–३ का एकबल्लभ दाहालले बताए। उनका अनुसार दिगो र सस्तो बिजुली केन्द्रीय आयोजनाको हुने भएकाले केन्द्रीय पहुँच पुगेका गाउँमा स्थानीयले पेल्ट्रिक सेटका आयोजना छाडेर केन्द्रीय आयोजनाको बिजुली बाल्न थालेका छन्।

उपभोक्ताको चासो नभएर बन्द भएका आयोजना नगरपालिकाले जिम्मा लिएर व्यवस्थापन गरे स्रोतको संरक्षण हुने उनले सुझाव दिए। यस्तै वडा–५ को चुप्लुमा २०६६ सालबाट सञ्चालित पेल्ट्रिक सेट जीर्ण अवस्थामा छ। पहिले रेडक्रस तथा स्थानीय उपभोक्ता समेतको गरी कुल ३८ लाखको लागतमा तीन किलोवाट क्षमताको विद्युत् उत्पादन गरेर एक सय ६२ घरधुरीले उपभोग गर्दै आएका थिए। अहिले उत्पादन र उपभोक्ता घटेर ४५ घरधुरीमा झरेको छ।

गाउँगाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत् जोडिन थालेपछि पेल्ट्रिक सेट धमाधम बन्द भएको सिद्धिचरण नगरपालिका ३ केराउस्वाँराका पर्शुराम भुजेलले बताए। उनले संरक्षणको अभावमा सेट अलपत्र परेको बताए। वडा–३ मा दुईदेखि पाँच किलोवाट क्षमतासम्मका चारवटा आयोजना सञ्चालनमा थिए। ती आयोजना गाउँमा बिजुली बाल्न, टीभी हेर्न, कुटानी पिसानी मिल चलाउन प्रयोग हुँदै आए पनि अहिले घरघरै केन्द्रीय प्रसारणको विद्युत् पुगेपछि साना आयोजना बन्द भएको भुजेको भनाइ छ।

सरकारी र स्थानीयको लगानीमा चलेका लाखौंका ती आयोजना सञ्चालन नहुने भए स्थानीय सरकारले व्यवस्थापन वा सामग्री लिलामी गरे स्रोतको संरक्षण हुने स्थानीयले बताए। विद्युत् सेवा नपुगेका विभिन्न गाउँलाई लक्षित गरी सञ्चालनमा ल्याइएका त्यस्ता पेल्ट्रिक सेटमार्फत बत्ती बलेपछि केही वर्ष अघिदेखि गाउँघरबाट मट्टीतेलका भरमा बाल्नुपर्ने टुकी विस्थापित भएको थियो।

केन्द्रीय आयोजनाको बिजुली वितरण भएपछि कतिपय पेल्ट्रिक सेट बन्द भइसकेका छन्।

पेल्ट्रिक सेटका आयोजनामा उपभोक्ताले चासो नदिएपछि विद्युत् उत्पादन गृह (पावर हाउस), त्यसमा जडान गरिएका उपकरण, तार तथा पानी निकासीका लागि प्रयोग गरिएका पाइपलाइन छरपष्ट छन्। त्यस्ता आयोजनामा सरकारले एक किलोवाट बराबर एक लाख २५ हजार अनुदान दिने गरेको थियो। अन्य लागत उपभोक्ताले ब्यहोरेका थिए।

स्थानीय उत्पादनलाई वडा तथा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने उपभोक्ताको माग छ। वडा–३ का वडा अध्यक्ष रहरमान राईले उपभोक्ताले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गर्ने भएकाले स्थानीय उत्पादनमा चासो नदिएको बताए। उनले यस विषयमा उपभोक्तासँग छलछाम गरिने र यसको व्यवस्थापनमा चासो दिइने बताए। अन्य वडामा चलेर बन्द भएका र बन्द हुने अवस्थामा पुगेका आयोजनाको उचित व्यवस्थापन गरे सरकारी सम्पत्तिको संरक्षण हुने भए पनि नगरपालिकाले चासो भने देखाएको छैन।

सिद्धिचरणका मेयर मोहन श्रेष्ठ अलपत्र रहेका आयोजना र त्यस्ता सम्पत्ति संरक्षण गर्न छुट्टै नीति आवश्यक भएको बताउँछन्। उनले स्थानीयको समेत लगानी रहेकाले स्वामित्व के हुने भन्ने अन्योल रहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.