मीरालाई पछ्याउँद ‘भोजपुर रन’

मीरालाई पछ्याउँद ‘भोजपुर रन’

भोजपुर : रामप्रसाद राई गाउँपालिका ओखे्रका १५ वर्षीय किवाहाङ राई सदरमुकामस्थित स्थानीय सिद्धकाली इङ्लिस स्कुलमा कक्षा ९ मा पढ्छन् । सदरमुकामको बसाइले पर्याप्त व्यायाम हुन छाडेपछि अढाई वर्षअघि साढे १२ वर्षको उमेरमै किवाहाङको तौल ७१ किलोग्राम पुगेको थियो । शारीरिक अपुष्टताले पीडित किवाहाङले दुई वर्ष अघिबाट सुरु भएको भोजपुर रनमा सहभागी भएर दौडन थालेपछि उनको श्वासप्रश्वासमा पनि सुधार आयो । उनको तौल घटेर अहिले ४८ किलोमा झरेको छ ।

‘सायद भोजपुर रनमा लगातार दौड नलगाएको भए अहिले गाह्रो भइसक्थ्यो । लगातार दौड्न सुरु गरेपछि अहिले शरीर एकदमै हल्का र फिट भएको छ’, किवाहाङले अनुभव सुनाए । किवाहाङले अहिलेसम्म ७५ हप्ताभन्दा बढी भोजपुर रनमा सहभागिता जनाइसकेका छन् । यसका कारण उनको स्वास्थ्य पहिलेभन्दा राम्रो भएको छ । उनी शारीरिक रूपमा तन्दुरुत देखिन्छन् ।

किवाहाङजस्तै सानै उमेरमा दौडमा अब्बल भोजपुर डाँडागाउँका १० वर्षीय विशेष मगरको सपना अल्ट्राधावक मीरा राई जस्तै बन्ने छ । उनी पनि झिसमिसे बिहानै दौडन टुँडिखेल पुगिहाल्छन् । ‘मीरा दिदी जस्तै दौडेर संसार जित्ने सपना छ । त्यही भएर बिहानै उठेर कुद्न थाल्छु’, उनी भन्छन् ।

२०७३ साल माघ १२ गते पहिलोपटक सुरु गरिएको भोजपुर रनले बालबालिकादेखि उमेर ढल्कँदै गएकाहरूलाई पनि उत्साहित बनाएको छ । चार किलोमिटरको दौडमा शारीरिक रूपमा आफूलाई स्फूर्त राख्न सदरमुकामका ४० वर्ष उमेरभन्दा माथिका पनि दौड्ने गर्छन् ।

नियमित रूपमा दौडँदा स्वास्थ्यमा पनि मद्दत गर्ने स्थानीय विष्णु राईले बताइन् । उनले बढ्दो मोटोपन घटाउनुका साथै श्वासप्रश्वासको समस्या हुनेलाई पनि निकै सहयोग पु¥याउने बताइन् । ‘मानिसलाई शारीरिक रूपमा तन्दुरुस्त रहन पनि दौड आवश्यक छ’, उनले अनुभव सुनाइन् ।

भोजपुरको पूर्वी सानोदुङ्माको एउटा गरिब परिवारमा जन्मिएर अनेकौं बाधा, दुःख चिरेर आफ्नो लक्ष्य हासिल गरी सिंगो नेपाललाई विश्वमाझ चिनाउने उनै अल्ट्रा धाविका मीरा राई पछिल्लो समय युवापुस्ताका लागि ‘आइडल’ बनेकी छन् । भोजपुरे चेलीको त्यो यात्रालाई सम्मान गर्दै रिमाचुङ एजुकेसन एन्ड स्पोर्टस् एकेडेमीले प्रत्येक साता भोजपुर रन आयोजना गर्दै आएको छ ।

४.७७ किलोमिटरको भोजपुर रनमा उमेर ढल्कँदै गरेकाहरू पनि सहभागी हुन थालेका छन् । भोजपुर रनको एक सय हप्ता चलिरहँदा दौडले मीरा राईको पदचाप पछ्याउने बालधावकहरू बढी उत्साहित देखिन्छन् । टुँडिखेलबाट डाँडागाउँ, जिरो प्वाइन्ट, टक्सार, पोखरे र काफ्ले पानीट्यांकी हुँदै भोजपुर रनको परिक्रमा हुने गर्छ । भोजपुर सदरमुकाम परिक्रमा गरिने भएकै कारण यसको नाम भोजपुर रन राखिएको हो ।

स्वस्थ तथा अनुशासित समाज निर्माण भए मात्र राष्ट्र बन्ने भएकाले दौडलाई प्राथमिकतामा राखिएको एकेडेमीका सचिव संग्राम राईले बताए । ‘युवापुस्तालाई कुलतमा फस्ने समयमा दौडमा व्यस्त बनाउँदा समाजमा विकृति फैलन पाउँदैन । उनीहरू स्वस्थ पनि रहन्छन्’, उनले भने ।

दौडलाई निरन्तरता दिइने बताउँदै एकेडेमीका अध्यक्ष पाविहाङ राईले स्वस्थ नागरिक निर्माण गर्ने लक्ष्य रहेको बताए । उनले दौडमार्फत खेलकुदको आधारशीला तयार हुने पनि बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.