पर्यटकको आकर्षण ‘महभीर झरना’

पर्यटकको आकर्षण ‘महभीर झरना’

भोजपुर : सरकारले सूचीकृत गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा (मुन्दुम ट्रेल) को काखमै अर्को एउटा सौन्दर्यता छ। सौन्दर्य बोकेर बसेको ‘महभीर झरना’ पर्यटक आकर्षण गर्ने मुख्य पर्यटकीय गन्तव्य पनि हो।

महभीर झरनाले टेम्केमैयुङको सिंगो सुन्दरतालाई झल्काउने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए। ‘गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा यो झरना छ’, उनले भने, ‘यसले सिंगो गाउँपालिकाको इज्जत धान्ने काम पनि गरेको छ।’ राईले कुनै बेला छिटफुट स्थानीय घण्टौंसम्म सुन्दरता हेरेर मोहित हुने यो झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बताए।

झरनाको सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रफुल्लित तुल्याउने भोजपुर नगरपालिका बोखिमका आशिष राईले सुनाए। ‘टेम्केडाँडा पुग्ने जो कोहीले पनि यहाँ जान छुटाउँदैनन्’, उनले भने, ‘एकनासले छल्कँदै बग्ने झरनाले धेरै तनावका बीचमा पुग्नेको मनलाई धेरै शान्त पार्न पनि सहयोग गरिरहेको हुन्छ।’ झरनाको सुन्दरता देखेपछि जस्तै तनाव पनि एकछिनमै चट् हुने आशिषको अनुभव छ।

सामान्यतः जिल्लाभित्रका अधिकांश मानिस क्याम्पिङ, भ्रमण, पिकनिकका लागि टेम्केडाँडा पुग्ने गर्छन्। तर पछिल्लो समय पर्यटकका लागि त्यहाँको झरना अवलोकन एउटा राम्रो बहाना बन्ने गरेको छ। पौवादुङमा गाउँपालिका च्याङ्ग्रेका मोहन दुरालले परिवार, साथीभाइसँग टेम्केडाँडा घुम्न जाँदा झरनाको सौन्दर्यको स्वाद नचाखी जान मनले नदिएको अनुभव सुनाए। छिमेकी जिल्ला खोटाङ र भोजपुरको सीमानामा पर्ने भएकाले पनि पर्यटकको आगमनमा पछिल्लो समय वृद्धि हुन थालेको गाउँपालिकाले जनाएको छ।

करिब २० मिटरको उचाइको भीर हुँदै एकनासले झर्ने झरना भीर मौरीको गोलाजस्तै देखिने गरेको दुरालको भनाइ छ। उनका अनुसार झरना पुग्नेले अग्ला भीरमा चाका बनाएर बसेका भीर मौरी गोलोसमेत हेर्न पाउँछन्। झरना झर्ने भीरको आसपासमा भीरमौरी र त्यसको मह पनि काढ्न पाइने भएकै कारण झरनाको नाम ‘महभीर’ रहेको स्थानीयको भनाइ छ। गाउँपालिकाको केन्द्र अन्नपूर्णदेखि करिब तीन किलोमिटरको दूरीमा रहे पनि मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा हुँदा झरना ओझेलमा परिरहेको स्थानीय सरोज बस्नेतले बताए। उनले झरनालाई अझै पर्यटकीय आकर्षणको रूपमा कृत्रिम सौन्दर्य थप्न आवश्यक पूर्वाधारको विकास गरिनुपर्ने बस्नेतको भनाइ छ।

‘झरनालाई पर्यटकको भ्रमण थलो बनाउन अझै व्यवस्थित भौतिक पूर्वाधारको निर्माण गर्नुपर्नेछ’, गाउँपालिका अध्यक्ष राईले भने, ‘पानीको बहावलाई कुलोमार्फत ल्याउँदा झरना ६५ मिटर अग्लो र झनै आकर्षक बन्छ।’ गाउँपालिकाले यसका लागि आवश्यक स्रोत र श्रम जुटाउने प्रयास गरिरहेको उनले बताए। गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटबाट पर्यटकलाई झरना स्थलसम्म आइपुग्ने बाटो, घेराबारा, पाटीपौवा लगायतका पूर्वाधार निर्माणका लागि ६ लाख रुपैयाँ छुट्याएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको पुष्पलाल मार्गनजिक भएकाले पनि वर्षात्मा भन्दा हिउँदमा पर्यटकको आवतजावत बढी हुने गरेको स्थानीय बताउँछन्। सडक सञ्जाल पुगेकाले पनि स्थानीय स्तरको झरनाले पर्यटन प्रवद्र्धनको धेरै सम्भावना बोकेको गाउँपालिकाका प्राविधिक जितेन्द्र अधिकारी बताउँछन्। उनका अनुसार झरनाको आवश्यक पूर्वाधार निर्माणको काम चाँडै सुरु गर्ने तयारी छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.