टिपरले ठक्कर दिँदा मोरङमा बालिकाको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

टिपरले ठक्कर दिँदा मोरङमा  बालिकाको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ। सोमबार बिहान विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीया बालिका लक्ष्मी ढकालको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ। 

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन्। आगजनीबाट टिपर पूर्ण रुपमा क्षति भएको छ। ठक्‍कर दिएर भाग्दै गरेको उक्त टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो। दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए। 

दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य पाँच/छ वटा टिपरमा पनि तोडफोड गरेका छन्। तोडफोड गरिएको मध्ये को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस प्रदर्शन गरिरहेका छन्। 

सडकमा टायर बालेर गरिएको प्रदर्शनका कारण स्थिति तनावग्रस्त बनेको छ। विराटनगरबाट विराटचौक र विराटचौकबाट विराटनगरतर्फ कुनै पनि सवारी साधन चल्न दिइएको छैन। स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरिरहेका छन्। स्थानीयको अवरोधका कारण घटनास्थलमा प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेका छन्। 

लापरबाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीयबासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन्। भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बसेको छ। प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने टिपरमा आगजनी र अन्य टिपरमा तोडफोड गरेका हुन्।

प्रहरी निरीक्षक रामकुमार राई नेतृत्वको टोली घटनास्थलमा जान खोजेको थियो। ‘स्थानीय बासिन्दा आगजनी र ढुँगामुडामा उत्रिएका छन्,’ घटनास्थल हिंडेका एक प्रहरीले भने, ‘प्रहरी नै त्यहाँ पुग्न सक्ने स्थिति छैन।’ घटनास्थलमा पुगेका एक/दुई जना प्रहरीलाईसमेत स्थानीय बासिन्दाले लखेटेका छन्। विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङबाट स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी पठाइए पनि यो समाचार तयार पार्दा सम्म उक्त टोली घटनास्थलमा पुगिसकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.