घटनाले उग्ररुप लिएपछि विराटचौकबाट बेलेपुरसम्म निषेधाज्ञा जारी

घटनाले उग्ररुप लिएपछि विराटचौकबाट बेलेपुरसम्म निषेधाज्ञा जारी

विराटनगर  : स्थानीय प्रशासनले मोरङको विराटनगर-विराटचौक सडकखण्ड अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचौकदेखि बेलेपुरसम्मको लगभग साढे तीन किलोमिटर क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। 

टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटनाले उग्ररुप लिएपछि साढे तीन किलोमिटर क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा जारी गर्नु परेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए।

उनले विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार बिहान ११:१५ बजेबाट निषेधाज्ञा जारी गरिएको हो।यही विषयलाई लिएर जिल्ला सुरक्षा समिति मोरङको आपतकालिन बैठक पनि विराटनगरमा बसेको छ। प्रजिअ केसीले बैठककै निर्णय अनुसार अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए।

बैठक अहिले पनि जारी छ। उनले स्थिति थप तनावपूर्ण बन्दै गए कफ्र्यू आदेश नै जारी गर्नुपर्ने पनि हुनसक्ने शंकेत गरे। 'हामी स्थिति कस्तो हुन्छ भन्ने कुरा हेरेर बसिरहेका छौं,' उनले भने, 'स्थित थप तनावपूर्ण बन्दै गएमा बाँकी कदम पनि चाल्नुपर्ने स्थिति आउनसक्छ।'

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बारेमा प्रहरीले माइकिङ गरेर जानकारी गराइरहे पनि आक्रोसित स्थानीय बासिन्दाले उक्त क्षेत्र छाडन् मानिरहेका छैनन्। उनीहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका क्रममा टिपर आतंक रोक्नु पर्ने र टिपरलाई स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा संरक्षण गरिएको आरोप लगाइएको छ।

प्रजिअ केसीले निषेधित क्षेत्रमा कुनै पनि क्रियाकलाप गर्न नपाइने जानकारी दिए। 'कुनै पनि गतिविधि र क्रियाकलाप गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको छ। जेसुकै भए पनि त्यहाँबाट स्थानीय बासिन्दा पछि हट्नुको विकल्प छैन,' केसीले भने, 'नमानेमा स्थानीय प्रशासनले बल प्रयोग गर्छ। त्यसबाट जस्तो सुकै पनि परिस्थिति उत्पन्न हुन सक्ने बुझेर आन्दोलनमा उत्रिएकाहरु पछि सर्दा राम्रो हुन्छ।'

 मोरङको सुन्दरहरैंचा नगरपालिका ९ सिसौघारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो। विराटचौकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सोमबार विहान सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएको थियो।

>>> टिपरले ठक्कर दिँदा मोरङमा बालिकाको मृत्यु, ठक्कर दिने टिपरमा आगजनी

प्रहरीका अनुसार तीव्र गतिमा रहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ। 

बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले उक्त टिपरमा आगजनी गरेका छन्। आगजनीबाट टिपरमा पूर्ण रुपमा क्षति पुगेको छ। दुर्घटनापछि आक्रोसित बनेका स्थानीय बासिन्दाबाट छल्लिन भाग्दै गरेको सोही टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको एउटा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परे लगत्तै स्थानीयले टिपरमा मट्टीतेल र पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिए। दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य पाँच÷छ वटा टिपरमा पनि तोडफोड र आगजनी गरिरहेका छन्। अगजनी गरिएका मध्ये को १ ख ५८३३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ। प्रहरीले आगजनी गरिएका टिपरको संख्या बढ्न सक्ने जनाएको छ।

आगजनी गरिएका सबै टिपर जलेर पूर्ण रुपमा ध्वस्त भएका छन्। आगजनी गर्ने क्रम नरोकिएपछि र आक्रोसित बनेका स्थानीयको आन्दोलन थप उग्रबनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। 

दुर्घटना लगत्तै विराटचौक –विराटनगर सडक खण्डको बेलेपुर र सिसौघारीमा स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरिरहेका छन्। प्रहरीले निषेधाज्ञाको माईकिङ गरे पनि स्थानीय पछि हट्न मानेका छैनन्। सडकमा टायर बालेर गरिएको प्रदर्शनका कारण त्यहाँको स्थिति तनावग्रस्त बनेको छ। 

विराटनगरबाट विराटचौक र विराटचौकबाट विराटनगरतर्फ कुनै पनि सवारी साधन चल्न दिइएको छैन। स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि सुरु भएको आन्दोलन आगजनी र तोडफोडसम्म पुगेपछि भने थप असामान्य बनेर गएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुँगामुडा गरेका थिए। स्थानीयको अवरोधका कारण घटनास्थलमा दुई घण्टा सम्म प्रहरी पुग्न सकेन। प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेको बताइएको छ।

लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध अहिले पनि चर्का नारावाजी गरिरहेका छन्। आक्रोसित भीडलाई नियन्त्रणमा लिन जान खोजेको प्रहरी उक्त सडक खण्डको उत्तर र दक्षिणमा रोकिएर बस्नु परेको थियो।

प्रहरीलाई घटनास्थलमा जान नदिइकन स्थानीयले दुर्घटना गर्ने ट्रकमा आगजनी र अन्य ट्रकमा तोडफोड गरेका हुन्। ‘स्थानीय बासिन्दा आगजनी र ढुँगामुडामा उत्रिएका छन्,' घटनास्थल जाँदै गरेका एक प्रहरीले भने, ‘प्रहरी नै त्यहाँ पुग्न सक्ने स्थिति छैन।' 

घटनास्थलमा पुगेका एक÷दुई जना प्रहरीलाई समेत स्थानीय बासिन्दाले लखेटेका थिए। विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट खटाइएको ठूलो संख्याको प्रहरी टोली समेत लामो समय सम्म घटनास्थलमा पुग्न सकेन।

स्थानीय बासिन्दाले प्रहरी केन्द्रीत ढुंगामुडा गरिरहँदा तत्काल प्रहरी पुग्न नसकेपछि टिपरमा आगजनीको घटना धेरै भएको र त्यहाँबाट ठूलो क्षति हुन पुगेको बताइएको छ।विभिन्न ठाउँ हुँदै प्रहरीको विभिन्न ठाउँबाट खटाइएको टोली घटनास्थलमा पुगे पनि प्रहरीले स्थितिलाई भने अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेतृत्वमा ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको भए पनि स्थिति प्रहरीको नियन्त्रण बाहिर रहेको छ। 

यसैबीच स्थानीय बासिन्दाको अवरोधका कारण घटनास्थलमा दमकल पनि जान पाइरहेको छैन । दमकल जान नसकेपछि टिपरहरुमा लगाइएको आगो नियन्त्रण गर्न सकिएको छैन । दमक, इटहरी, विराटनगर र विराटचौकबाट दमकल गएपनि स्थानीयको अवरोधका कारण बीचमै रोकिएका छन् 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.