नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

काठमाडौं  : कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको रोचक जित हात पारेको छ। जितसँगै नेपालले तीन खेलको शृंखला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा यूएईद्धारा प्रस्तुत दुई सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो।

त्यसअघि टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारीत ५० ओभरमा ६ विकेटको नोक्सानीमा २५४ रन जोडेको थियो। सीपी रिजवानको बलमा छक्का प्रहार गर्दै सोमपाल कामीले नेपालको जित निश्चित गरेका थिए। कप्तान पारसले एक सय १५ रनको ऐतिहासिक सतक प्रहार गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। पारसले एक सय नौ बलको सामना गरी एक छक्का र १५ चौका प्रहार गरे। उनको यो सतक नेपालका लागि आधिकारीक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो सतक बनेको छ।

पारसले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल (३१ रन) सँग मिलेर ६२ रनको साझेदारी गरेका थिए। पारसले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका सन्दीप जोहरा (१९ रन) सँग चौथो विकेटका लागि ३१, रोहितकुमार पौडेल (१६ रन) सँग पाँचौं विकेटका लागि ५४ र आरिफ शेख (२१ रन) सँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

पारसलाई आरिफ, रोहित, सन्दीपलगायतका युवा खेलाडीले राम्रो साथ दिए। आरिफसँगै अविजित रहेका सोमपालले २५ बलमा २५ रन प्रहार गरेका थिए। सोमपालले आफ्नो पालीमा एक छक्का र तीन चौका हिर्काए भने सन्दीपले २० बलमा एक छक्का र एक चौका प्रहार गरे। आरिफले दुई र रोहितले एक चौका प्रहार गरे। प्रारम्भिक ब्याट्सम्यान विनोद भन्डारी नौ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

त्यसअघि छैटौं नम्बरका ब्याट्सम्यान साइमन अनवरले ७० बलमा ८७ रन बनाएपछि यूएईले गतिलो योगफल तय गरेको यियो। उनलाई मोहम्मद बुटाले ३१ बलमा अविजित ५९ रन प्रहार गर्दै गतिलो साथ दिएका थिए। अनवरले सीपी रिजवान (४५ रन)सँग पाँचौं विकेटका लागि एक सय र बुटासँग छैटौ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। यूएईका अन्य खेलाडीको प्रदर्शन भने सामान्य रह्यो।

नेपाली मध्यमगतिका बलरहरूले यूएईका सुरुआती ब्याट्सम्यानलाई सहजै पभेलिय फर्काएका थिए। प्रारम्भिक ब्याट्सम्यानद्वय असफाक अहमद र चिराग सुरीलाई खाता खोल्नुअघि नै क्रमशः सोमपाल र करण केसीले आउट गराएका थिए। त्यसपछि आएका घुलाम सब्बरलाई सन्दीपले १८ रनमा र मोहम्मद उस्मानलाई २६ रनमा कप्तान पारसले आउट गराएका थिए।

नेपालका लागि करण र कप्तान पारसले दुई÷दुई विकेट लिए भने सोमपाल र सन्दीपले एक÷एक विकेट हात पारे। यूएईका बलर इमरान हैदर र अस्फाक अहमदले पनि नेपालको दुई÷दुई विकेट लिएका थिए। नेपालले अब बिहीबारदेखि यूएईसँगै तीन खेलको टीट्वेन्टी शृंखला खेल्ने छ।


पारसको ऐतिहासिक सतक

कप्तान पारस खड्काले सोमबार यूएईविरुद्ध प्रहार गरेको एक सय १५ रन नेपाली क्रिकेटमा ऐतिहासिक बनेको छ । उनको यो सतक नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एकदिवसीय टोलीको मान्यता प्राप्त गरेपछिको पहिलो सतक हो ।

यससँगै कप्तान पारस नेपाली क्रिकेटमा सबैखाले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीनवटा सतक प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनको नाममा योसँगै तीन सतक जाडिएको छ । नेपालका पूर्वप्रारम्भिक ब्याट्सम्यान अनिल मण्डलले अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई सतक प्रहार गरेका छन् ।

अनिलले सन् २०१२ मा डेनमार्कविरुद्ध एक सय १३ र सन् २०१५ मा स्कटल्यान्डविरुद्ध एक सय रनको सतकीय पाली खेलेका थिए । यसैगरी कप्तान पारसले यसअघि सन् २०१२ मा कुवेतविरुद्ध एक सय ६ र सन् २०१६ मा नामिबियाविरुद्ध एक सय तीन रनको सतकीय पाली खेलेका थिए । कप्तान पारस र अनिल बाहेक नेपाली क्रिकेटमा उमेर समूह र सिनियर राष्ट्रिय टोलीबाट गरी शक्ति गौचन र शरद भेषावकरले पनि दुई÷दुई सतक प्रहार गरेका छन् ।

सिनियर राष्ट्रिय टोलीबाटै तीनपटक सतक प्रहार गर्ने खेलाडी भने पारस एक्लो हुन् । नामिबियाविरुद्ध आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलमा एक सय तीन रनको सतकीय पाली खेल्दा पारस ‘लिस्ट ए’ मान्यता प्राप्त खेलको एकै पालीमा नेपालका लागि सर्वाधिक रन प्रहार गर्ने खेलाडी बनेका थिए । यूएईविरुद्धको यो सतकपछि एकदिवसीय खेलमा समेत नेपालका लागि एकै पालीमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी पारस नै बनेका छन् ।

समग्रमा भने पारसले सुवाष खकुरेलको कीर्तिमानसँग बराबरी गरेका हुन् । खकुरेलले पनि सन् २०१२ मा अमेरिकाविरुद्धको खेलमा एक सय १५ रन प्रहार गरेका थिए । नेपाली क्रिकेटमा पारस, अनिल, सुवाष, शक्ति र शरदसँगै अहिलेसम्म सात खेलाडीले राष्ट्रिय टोलीबाट १० वटा सतक प्रहार गरेका छन् । त्यसमा राजु खड्का र ज्ञानेन्द्र मल्लको पनि एक÷एक सतक जोडिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.