मोरङ र सोलुखुम्बुमा आगलागी, ६२ लाख बढीको क्षति
विराटनगर : मोरङ र सोलुखुम्बुका अलगअलग ठाउँमा भएको आगलागीबाट ६२ लाख बढीको क्षति भएको छ।मोरङको सुन्दरहरैंचा नगरपालिका- ४ गछियामा कृष्ण ढकालको घरमा स्थानीय खगेन्द्र बस्नेतले सञ्चालन गरेको इलेक्ट्रोनिक्स र हार्डवेयर पसलमा सोमबार राति ११ बजे आगलागीमा करिब पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
बस्नेतको पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पाँच लाख मूल्य बराबरको क्षति भएको बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए। आगोले हार्डवेयरका र इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको छ।आगो दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
त्यस्तै सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका-२ का रेन्जी शेर्पाको घरमा आगलागी हुँदा ५७ लाख दुई हजार सात सय रुपैयाँ बराबरको क्षति भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार शेर्पाको घरमासोताङ्ग गाउँपालिका- ४ का लाखमान तामाङको परिवार भाडामा बस्दै आएको थियो। विद्युत सर्ट भएर आगलागी हुँदा घरसहित घरभित्र रहेका एक लाख २० हजार रुपैयाँ नगद, लत्ताकपडा, काठपात, अन्न, भाँडावर्तन र तीन तोला चाँदी जलेर नष्ट भएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।