नाटकमा रमाउँदै बालबालिका
मञ्चमा रुवाबासी चलिरहेको छ। १० वर्षमै विवाह गर्न बाध्य शान्तिको निर्जीव शरीर भुइँमा लडिरहेको छ। एकातिर सानो बच्चा चिच्चाइरहेको छ भने अर्काोतिर शान्तिका सासु–ससुरा खुसियाली मनाइरहेका छन्। उनीहरुले दाइजो नल्याएको निहँुमा बुहारीलाई विष खुवाएर मारेका थिए। यही बेलामा विदेशबाट शान्तिको श्रिमान् विकास आइपुग्छ।
‘बालविवाह’ शीर्षकको नाटकको एउटा दृष्य हो यो। एम्बेस्याडर एकेडेमी नारायणटार काठमाडाँैका विद्यार्थीले मंगलबार उक्त नाटक प्रस्तुत गरेका थिए। विभिन्न स्कुलका विद्यार्थीले विभिन्न विचार र विषयमा नाटक प्रस्तुत गरिरहेका छ्न्। रसियन कल्चर सेन्टर, इशान समुह र शैली थियटरको संयुक्त आयोजनामा राजधानीमा दशौँ राष्ट्रिय बालनाटक महोत्सव सञ्चालन भइरहेको छ। नाटक महोत्सव माघ ८ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडाैँ, ललितपुर, भक्तपुर, लमजुङ, सिन्धुपाल्चोकका करिव दुई दर्जन स्कुलका नाटक महोत्सवमा छनौट भएका छन्। शैली थियटरको प्रस्तुतिमा ‘माटोको फूल’ शीर्षकको बालनाटक पनि मञ्चन गरिएको छ।
रंगकर्मको विकासका लागि र बालबालिकालाई सानैदेखि नाटकको बारेमा बुझाउनका लागि पनि नाटक महोत्सवको सुरुवात गरिएको निर्देशक नवराज बुढाथोकीले बताए। बालबालिकाको व्यक्तित्व विकास गर्न, अधिकार र जिम्मेवारीको ज्ञान दिनको लागि नाटकले अप्रत्यक्ष सहयोग पुग्ने हुनाले अहिलेको समयमा बालनाटकको महत्त्व रहेको उनको भनाइ छ।
शैली थियटरले २०६६ सालदेखि नै हरेक वर्ष बालनाटक महोत्सव आयोजना गरिरहेकोे छ। शुरुवातका समयमा स्कुलहरु प्नि नाटकप्रति त्यति सकारात्मक नभएको अनुभव सुनाउँदै बुढाथोकीले अहिले प्रायजसो हरेक स्कुलमा नाटकका लागि छुट्टै शिक्षकको समेत व्यवस्था गरिने गरेको बताए। पछिल्लो समय विद्यालय तहका विद्यार्थीमा अभिनयप्रति रुचि बढ्दै गएको समेत उनले जानकारी दिए।
‘नाटक महोत्सवका लागि निश्चित विषय तोकेर स्कुललाई खबर गरिएको थियो। करिव ४५ वटा स्कुलले नाटकको स्क्रीप्ट पठाएका थिए ’, उनले भने, ‘त्यसमध्ये नाटकको कथा हेरेर १९ वटा नाटक महोत्सवको लागि छनौट गरिएको छ। महोत्सवमा टाइको गाठो, पूर्णिमाको सपना, दोषि को ?, अँध्यारो मन, आमा, एउटा सपनाको अन्त्य लगायतका शीर्षकका नाटक प्रदर्शन गरिएको छ।
महोत्सवमा उत्कृष्ट नाटक तथा कलाकारलाई पुरस्कार प्रदान गरिनेछ। विभिन्न विधामा उत्कृष्टलाई ट्रफी, नगद र प्रमाणपत्र प्रदान गरिनेछ। नाटकका आधारभूत सिद्धान्त अनुरुपका प्रदर्शित नाटकको मूल्यांकन गरिने निर्णायकको भूमिकामा रहेका रंगकर्मी पुरु लम्सालले जानकारी दिए। उनीसंगै सरोज अर्याल र स्मृती ढुंगाना निर्णायकको भूमिकामा छन्। कलाकारको प्रस्तुति, संवाद, बडी ल्याङ्गवेज लगायतका आधारमा उत्कृष्ट कलाकार र नाटकको छनोट गरिने निर्णायकले बताएका छन् ।