किसानको पैसा बाँकी राख्दै उद्योग संचालन
मलंगवा : उखु किसानको भुक्तानी बाँकी राख्दै सर्लाहीको अन्नपूर्ण चिनी उद्योग बुधबारबाट सञ्चालनमा आएको छ।
जनताको करोड रुपैयाँ भुक्तानी बाँकी राख्दै उद्योग संचालन भएपछि किसान निराश भएका छन् । भुक्तानी नदिएपछि उद्योग संचालन गर्न नदिन सरकारसँग पटकपटक माग गर्दापनि उद्योग संचालनमा आएपछि किसान चिन्तित बनेका हुन् ।
कात्तिक मसान्तभित्र भुक्तानी दिन्छु भनेर कागजात गरेका उद्योगीले किसानलाई भुक्तानी नदिए उद्योग संचालन गरेको उखु किसानको आरोप छ ।
उद्योगीले किसान र सरकारलाई पनि पटकपटक ठग्दै आएको किसानको आरोप छ । राज्यले उखुको मूल्य निर्धारण गरेपनि उद्योगले रकम नै नतोकी नेट पुर्जी दिने गरेको छ ।
पैसा नदिई उद्योग संचालनमा आएपछि फेरि किसानलाई उद्योगीले ठग्ने मनसाय बनाएको गोडैता नगरपालिका ११ सिसौटियाका धिरेन्द्र यादवले बताए ।
उद्योगले उनको १ लाख ७५ हजार रुपैयाँ बाँकी राखेको छ । आफू जस्ता थुप्रै किसानलाई उद्योगले डुबाएको उनको भनाइ छ ।
उद्योगलाई बन्द गरेर किसानलाई पैसा दिलाएन भने फेरि भोलिका दिनमा किसान चिच्याउने यादवले बताए । अन्नपूर्ण चिनी उद्योगले पैसा नदिएसम्म आफूहरु कुनै पनि हालतमा चिनी उद्योगलाई उखु नदिने उनले बताए ।
‘क्रसर तथा टाढाको उद्योगलाई उखु दिन्छु । तर, यस्तो बेइमान उद्योगलाई कुनै पनि हालतमा उखु दिन मिल्दैन’, उनले भने ।
पैसा दिएर उद्योग संचालन गर्न उद्योगीलाई पटकपटक भन्दा पनि कुनै सुनवाइ नगरेको धनकौल गाउँपालिका ५ का जयमंगल महतोको भनाइ छ ।
कात्तिक मसान्तसम्म पैसा दिन्छु भनेका उद्योगीले माघको दोस्रो सातासम्म पनि पैसा नदिएको किसानको गुनासो छ ।
उद्योगीले पैसा दिन आलटाल गरेपछि किसान आत्मदाह गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापनपत्र बुझाएको महतोले बताए । ‘साहुसँग ऋण लिएर खेती गरेको छु । एक कट्ठामा ३ हजार खर्च हुन्छ’, उनले भने, ‘पटकपटक ताकेता गर्दा कुनै सुनवाइ नभएपछि हामी उद्योग परिसरमै आत्मदाह गर्ने निर्णयमा पुगेका थियौँ ।’
आत्मदाह गर्ने निर्णयसहित जिल्ला प्रशासन पुगेका सात किसानलाई प्रमुख जिल्ला अधिकारीले आत्मदाह नगर्न भनेपछि आफूहरु रोकिएको उनको भनाइ छ ।
उद्योगले अहिले पनि करिब २० करोड रुपैयाँ किसानको भुक्तानी गर्न बाँकी राखेको छ । उद्योगले विगत ४ वर्षदेखिको पैसा बाँकी राखेको किसानको आरोप छ ।