बलात्कारपछि बालिका हत्याको न सुराक भेटियो न घटनास्थल

बलात्कारपछि बालिका हत्याको न सुराक भेटियो न घटनास्थल

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटनाको अनुसन्धान जटिल मोडमा पुगेको छ। कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको चार दिनसम्म पनि प्रहरी अनुसन्धानले कुनै उपलब्धी हासिल गर्न नसक्दा रुपमतिका अभिभावक थप तनावमा परेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको बलात्कारपछि हत्या गरिएको निष्कर्ष निकाले पनि त्यसपछिको अनुसन्धान अलमलमा परिरहेको छ। अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनाको कुनै भेउ पाउन नसक्दा परिवारका सदस्य थप त्रसित र सशंकित बनेका छन्।

घटनामा संलग्नको पहिचान गर्न नसकिरहेको प्रहरीले घटनास्थल पनि पत्ता लगाउन सकेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरले आ–आफ्नै टोली परिचालन गरेका छन्। सक्रियतापूर्वक रुपमा दुबै टोलीले संयुक्त अनुसन्धानलाई जारी राखे पनि आशातित उपलब्धी हासिल गर्न मुस्किल परिरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनले घटनाका बारेमा कुनै भरपर्दो सुराक पनि मिल्न नसकिरहेको जानकारी दिए।

टिभी हेर्न गएकी थिइन् बालिका

मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार दिउँसो निवश्त्र अवस्थामा रुपमतिको शव फेला परेको थियो। छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग शनिबार राति लगभग ८ बजे विदा मागेर हिँडेकी रुपमतिको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको हो। त्यसअघि नै नहिमकहाँ टिभी हेरिरहेका रामप्रसाद घर फर्किएपछि मात्रै आमासँग विदा मागेर हिँडेकी छोरी टिभी हेर्न नगएको खुलेको थियो।


>>> छिमेकमा टिभी हेर्न गएकी बालिका खोलामा मृत भेटिइन्


राति र विहानभर खोजी गरे पनि नभेट्टाएपछि छोरी हराएको निवेदन दिन आइतबार दिउँसो प्रहरी कार्यालयमा पुगेका रामप्रसादलाई शव फेला परेको खवर पुगेको थियो। रुपमतिले घरबाट निस्कँदा लगाएको चप्पल भने घर नजिकैको चउरमा फेला परेको छ। तर उनले लगाएका कपडा भने अहिलेसम्म भेटिएको छैन। घटनामा संलग्नले घटनापछि कपडा बगिरहेको खोलामा हालिदिएका कारण पानीले बगाएर लगेको हुन सक्ने प्रहरीको आशंका छ।

घटना जटिल रहेका कारण विस्तृत विवरण आवश्यक पर्ने भन्दै प्रहरीले परिवारका सदस्यको सहमतिमा शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गराएको थियो। पोष्टमार्टम रिपोर्ट प्राप्त भइनसकेका कारण पनि अनुसन्धान अलमलमा परिरहेको प्रहरीको भनाइ छ।

११ जनासँग सोधपुछ

प्रहरीले घटना भएको रात रुपमतिको घर आसपासमा हिंडडुल गरेको भन्दै स्थानीयले दिएको सूचनाका आधारमा ११ जनासँग सोधपुछ गरिसकेको छ। सोधपुछपछि केहीलाई छाडिएको भए पनि शंकास्पद भनिएका दुई जनालाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको प्रहरीले घटनासम्म पुग्ने भरपर्दो आधार पहिल्याउन भने सकिरहेको छैन।

‘घटनापछि धेरै व्यक्तिहरुलाई ल्याएर सोधपुछ गरिए पनि तथ्य पत्ता लाग्न सकिरहेको छैन,’ डीएसपी श्रेष्ठले भने, ‘शंका लागेकाहरुलाई ल्याएर सोधपुछ गर्ने र घटनाको चुरोसम्म पुग्ने प्रयास भने जारी छ।’

गम्भीर रुपमा घटनाको अनुसन्धान भइरहेको भन्दै श्रेष्ठले हिरासतमा रहेकाको र सोधपुछका लागि ल्याइएकाहरुको नाम भने खुलाएनन्। ‘विभिन्न कोणबाट भइरहेको अनुसन्धानमा कुनै कमजोरी भएको छैन,’ उनले भने, ‘पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि त्यसबाट केही सहयोग पुग्छ कि भन्ने आस पनि छ।’


>>> बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या


‘यत्रो घटना हुँदा अहिलेसम्म कुनै विश्वासिलो सुराक मिल्न सकेको छैन। घटनाको रात बालिकाको घर आसपासमा हिँडडुल गरेका र राति अवेरसम्म बसेका युवाहरूलाई ल्याएर सोधपुछ पनि गरियो,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘केही आधारले बलात्कारपछि हत्या भएको देखाए पनि घटनाको गहिराईसम्म पुग्न र उपलब्धी हाँसिल गर्न नसक्दा अनुसन्धान जटिल मोडमा पुगेर गुज्रिएको छ। यसले तत्काल रिजल्ट खोजिरहेका परिवारका सदस्य र अनुसन्धानको नेत्रृत्व गरेका प्रहरी अधिकारीलाई तनाव दिइरहेको छ।’

ती अधिकारीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसेकाले घटना गराएको हुन सक्ने आशंका छ। ‘यस घटनालाई लागुऔषधको नशाको उत्तेजनामा भएको यौन हिंसा र जघन्य अपराधका रुपमा लिइएको छ,’ उनले भने, ‘कोही चिनेजानेकाले नै बलात्कार गरेपछि पोल खुल्ने डरले प्रमाण नष्ट गर्न हत्या गरेर शव खोलामा हालिदिएको हुन सक्छ।’

भेटिएनन् कपडा

उनले शरीरमा कुटपिट गरिएको र कुनै वस्तु प्रहार गरिएको गम्भीर चोट नरेका कारण हत्या नै पानी भित्र डुबाएर गरेको हुन सक्ने पनि बताए। ‘बालिकाले लगाएका कुनै लुगाफाटा पनि अहिलेसम्म भेटिएका छैनन्। घटनामा संलग्नहरु चिनजानका र नजिककै हुन सक्छन् भन्ने हाम्रो ठम्याई छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘कपडा खोलाले बगाएर लग्यो होला। बलात्कार गरेपछि अभिभावकलाई भनिदिन्छु भनेका कारण हत्या भएको हुन सक्ने आशंका गरिएको छ।’

उनले अहिलेसम्म घटनास्थलको समेत पहिचान गर्न नसकिएको बताउँदै घटनास्थल पत्ता लगाउन सकेको भए त्यहाँबाट प्राप्त प्रमाणका आधारमा अनुसन्धान गर्न सजिलो हुने जानकारी दिए। ‘बलात्कारपछि हत्या नै गरिएको भए पनि घटनालाई स्थापित गर्न घटनास्थलले ठूलो मद्धत गर्छ,’ उनले भने, ‘घटनास्थल भेटिएको भए आधा जसो अनुसन्धान नै टुंगिने थियो।’ निर्मला पन्तको हत्याले यस्ता अपराधमा संलग्नलाई प्रमाण नष्ट गर्न धेरै पाठ सिकाएको उनको भनाइ छ। भने, ‘पानीले अपराधको प्रमाण नष्ट गरिदिन्छ। हत्या गरिएपछि सबै कपडा खोलेर गायव पारिएको र शव पानी भित्र हालिएका कारण प्रमाण नष्ट हुँदा अनुसन्धानमै अप्ठेरो परिरहेको छ।’

हरेक अपराध प्रहरीका लागि नौलो हुने र एकअर्को घटनासँग जोडेर पनि हेर्न नहुने भन्दै डीएसपी श्रेष्ठले केही दिन भित्रमा घटनाको चुरोसम्म पुग्न सकिने सम्भावना रहेको बताए। ‘कुनै पनि ढिलाई नगरिकन गहन रुपमा अनुसन्धान गर्ने काम प्रहरीबाट भइरहेको छ,’ उनले भने, ‘शंकाको घेरामा रहेकालाई अनुसन्धानको दायरामा ल्याउने काम भइरहेकाले धेरै कुरा खोल्न मिल्दैन। तर उपलब्धी हाँसिल कहिलेसम्म हुन्छ भनेर यकिन गर्न सकिँदैन।’

घटना भएको लामो समयसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगर्दा रुपमतिको परिवारमा भने तनाव र पीडाले छट्पटाइरहेको छ।

‘एकातिर छोरी गुमाउनु परेको पीडा त छँदै छ,’ बुवा रामप्रसादले भने, ‘अर्कोतिर अहिलेसम्म अपराधी फेला पर्दैनन् ।’ उनले आफ्नो छोरीको हत्याको घटनामा पनि निर्मला पन्तको जस्तै प्रहरीको अनुसन्धाननै असफल बन्ने हो की भन्ने चिन्ता थपिएर गएको बताए।

‘यस अघिका ठूला–ठूला घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको लामै कहानी छ,’ रामप्रसादले भने, ‘प्रहरीले अपराधी पक्राउ गर्न मेहनत गरिरहेको बताए पनि चार दिनसम्म फेला नपर्दा र छोरीलाई कहाँ लगेर घटना गरियो भन्ने कुरा थाहा पाउन नसक्दा धेरै पीडा भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.