डिजाइन एन्ड बिल्ड मोडलमा पुल
काठमाडौं : मुग्लिन–नारायणघाट सडकखण्डको पुल डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण हुने भएको छ। सडक विभागअन्तर्गत पुल महाशाखाका सिनियर डिभिजिनल इन्जिनियर नरेशमान शाक्यले मुग्लिन–नारायणघाट सडकखण्डमा बन्ने पुल डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्ने तयारी भएको जानकारी दिए।
‘डिजाइन एन्ड बिल्ड मोडलमा पुल निर्माण गर्ने विषयमा छलफल भइरहेको छ। अहिलेको अवस्थामा यो मोडल उपयुक्त देखिएको छ’, उनले भने, ‘डिजाइन बनाएर निर्माण गर्दा समय लम्बिन्छ। डिजाइन गर्नेले नै पुल बनाउने भएकाले निर्माणमा समस्या हुँदैन।’
साँघुरो मुग्लिन–नारायणघाट सडकखण्ड २०७५ जेठमा विस्तार गरिएको थियो। ५.५ मिटरको सडकलाई दुई लेनमा विस्तार गरिएको हो। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ। ३५ किलोमिटर सडकमा १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माण चरणमा छ। ती चारवटा पुल जीर्ण भएकाले त्यहाँ नयाँ पुल निर्माण गरिएको हो। तर, १४ वटा पुल जिर्ण नभई साँघुरा मात्र छन्।
नारायणघाट–मुग्लिनसम्म १६ किलोमिटर सडकको चौडाई ११ मिटर र बाँकी १९ किलोमिटर सडकको ९ मिटर छ। यो सडकमा पर्ने पुल ७ मिटर चौडा छ। तर, सडकको तुलनामा पुल साँघुरो भएकाले सवारी आवागमनमा समस्या देखिएको छ। सवारी आवागमनलाई सहजीकरण गर्न पुल विस्तार गर्न लागिएको शाक्यले बताए।
‘दीर्घकालीन योजनाका साथ पुल निर्माण गर्ने हो। ५० वर्षको लक्ष्य लिएर पुल निर्माण गर्नुपर्छ’, शाक्यले भने, ‘पुराना पुल पनि सवारी सञ्चालनका लागि योग्य नै छन्। सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सडककै आकारको पुल आवश्यक हुन्छ।’ पुल जीर्ण नभएकाले यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती देखिएको उनले बताए।
‘कुनै पनि विकासको आयोजना सुरु गर्दा विरोध गर्ने परिपाटी विकसित भइसकेको छ’, उनले भने, ‘पुललाई कसरी बनाउने भन्ने विषय टुंगो लगाउन सकिएको छैन।’ नयाँ पुल निर्माण गरेर अघि बढ्ने कि भएकै पुललाई विस्तार गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको उनले बताए। अन्तर्राष्ट्रिय प्रचलनकै आधारमा पुल कसरी निर्माण गरिने भन्ने निचोड निकालिने उनले बताए। सडककै आकारअनुसार पुल निर्माण गर्न नौ मिटर बनाउनुपर्छ।
साथै पुललाई समयमै पूरा गर्नुपर्ने दायित्व पनि छ। पुरानो पुलको आकार बढाउँदा सवारी आवागमनमा समस्या हुन्छ। सडक रोकेर काम गर्ने हो भने निर्माण सुरु गरिएको दुई वर्षभित्रमा पुल सञ्चालनमा ल्याउने उनको दाबी छ।
मुग्लिन–नारायणघाट सडकखण्ड डिजाइनको आधारमा ठेक्का लगाएर निर्माण गरिएको हो। यसमा एउटा परामर्शदाताले तयार गरेको डिजाइनको आधारमा अर्को ठेकेदार कम्पनीले निर्माणको जिम्मा प्राप्त गरेको थियो। सडकको तुलनामा पुल निर्माण जटिल हुन्छ। डिजाइन गर्नेले नै निर्माण गर्दा डिजाइनमा भएको त्रुटि पनि सच्याउन सकिन्छ।
साथै विश्व बैंकको ऋण सहयोग भएकाले उसले तोकेको मापदण्डअनुसार काम गर्नुपर्छ। तयार भएको डिजाइन उसैबाट स्वीकृति लिनुपर्छ। तर, निर्माणका क्रममा डिजाइनमा त्रुटि देखिए त्यसलाई सच्याउन कठिन हुन्छ। ठेकेदारले डिजाइनभन्दा बाहिर गएर काम गर्न सक्ने सम्भावना हुँदैन। तर, डिजाइन गर्ने ठेकेदारले नै पुल निर्माण गर्दा आवश्यकता अनुसार सुधार गर्न सकिन्छ।
साथै डिजाइनमै प्रतिस्पर्धा गराए पुल निर्माण गर्न सकिने विकल्प पनि छ। तर, यसलाई कार्यान्वयन गर्न कठिन हुने उनको ठम्याइ छ। ‘डिजाइन बनाउन खर्च लाग्छ’, उनले भने, ‘डिजाइन बनाउने सबैले ठेक्का प्राप्त गर्दैन।’ छनोट नभएको कम्पनीको खर्च व्यहोर्न सम्भव छैन। यस्तो अवस्था आउन नदिन महाशाखाले मापदण्ड बनाएर बोलपत्र आह्वान गर्ने उनले बताए। त्यही मापदण्डलाई आधार मानेर ठेकेदार कम्पनीले बोलपत्रमा प्रस्ताव पेस गर्नेछन्। साथै महाशाखाले उनीहरूले गर्ने कामको प्रगतिको आधारमा भुक्तानी दिनेछ।
यो सडक विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा विस्तार भएको हो। सडक स्तरीय बनेको भए पनि सवारीसाधन नियन्त्रणका लागि हरेक पुलको दुवैतर्फ ४/४ वटा गति नियन्त्रक राखिएको छ। यसका कारण सवारीसाधनलाई पुलको मुखमा पुगेपछि केही असहज हुने गरेको छ। यो सडकमा २५ मिटरदेखि ६० मिटरसम्मका मोटरेबल पुल छन्।
सडक विस्तार गर्नुअघि ३५ किलोमिटर दूरी पार गर्न घन्टौं लाग्थ्यो। तर, अहिले ३५ मिनेटमै मुग्लिनबाट नारायणघाट पुग्न सकिन्छ। चार वर्षअघि ठेक्का लागेको यो सडक निर्माण करिब दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो। सडक ठेक्का लागेपछि २०७२ को भूकम्प, नाकाबन्दी, निर्माण सामग्री अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकुल मौसमका कारण ढिलाइ भएको थियो। २०७१ चैतमा ठेक्का लागेको सडक गत जेठमा मात्रै सञ्चालनमा आएको हो।