विराटनगरमा अत्याधुनिक बस टर्मिनल

विराटनगरमा अत्याधुनिक बस टर्मिनल

विराटनगर : विराटनगर महानगरपालिका–११ मा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल बुधबारदेखि सञ्चालनमा ल्याइएको छ। पुरानै बसपार्क रहेको स्थानमा बस टर्मिनल सञ्चालनमा ल्याइएको हो।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले टर्मिनलको उद्घाटन गरेका हुन्। यसमा नगर विकास कोषको ९० प्रतिशत ऋण सहयोग र नेपाल सरकार तथा महानगरपालिकाको लगानी छ। एक बिघा १० कट्ठा क्षेत्रफलमा आठ करोड ४७ लाखको लागतमा बस टर्मिनल निर्माण गरिएको हो।

निर्माणको जिम्मा पाएको गौरी–पार्वती निर्माण सेवा काठमाडौंले तोकिएकै समयमा निर्माण सम्पन्न गरे पनि सञ्चालनमा भने चार महिनापछि मात्रै ल्याइएको हो। बस टर्मिनल रहेको बसपार्क अगाडि प्रवेश गर्ने द्धारमा निर्माणाधीन ६ लेनको सडकको ड्रेन निर्माण नहुँदा सेवा सञ्चालनमा भने समस्या हुने देखिएको छ। यसअघि बसपार्क व्यवस्थित नहुँदा सामान्य वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको थियो।

बस टर्मिनलमा एक पटकमा साना ठूला गरी ५४ वटासम्म बस पार्किङ गर्न सकिने महानगरपालिकाले जनाएको छ। बस टर्मिनलमा पुरानो बसपार्कजस्तो धेरै समयसम्म बस रोक्न नमिल्ने तथा यात्रु ओराल्ने र चढाउने काम मात्र गर्नुपर्नेछ। दुई तले बस टर्मिनलमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा, सार्वजनिक शौचालय लगायतका सुविधा छन्। पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहने छ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछ।

बसपार्क सञ्चालन नहुँदा यसअघि कोसी राजमार्गको महेन्द्र चोकदेखि बसपार्क वरपरका सडकमै बस तथा अन्य सवारी साधन पार्किङ गरिँदै आएको थियो। यसले विराटनगरमा ट्राफिक जाम निम्त्याउँदा सर्वसाधारणले सास्ती बेहोर्नु परिरहेको थियो। महानगरका मेयर पराजुलीले बस टर्मिनलभित्र थप गर्नु पर्ने अन्य संरचनाको निर्माण तत्काल थालिने बताए। तर टर्मिनल यात्रुमैत्री नभएको भन्दै आलोचना भएको छ। टर्मिनल क्षेत्रभित्र बनेको भवनमा काखे बच्चा बोकेर आएका आमाले दूध खुवाउने स्थान, वृद्धवृद्धालाई आराम गर्ने स्थान आदि नभएको गुनासो छ।

प्रशासनिक र यात्रु रहने भवनमै सबै उमेर समूहका नागरिक तथा बच्चा बोकेर बस चढ्न आउने आमाले प्रयोग गर्नु पर्ने अवस्था छ। टर्मिनल सञ्चालनको जिम्मा भने कार्यविधि तयार पारेर निजी क्षेत्रलाई दिने तयारी महानगरले गरेको छ। मुख्यमन्त्री राईले भौतिक पूर्वाधार निर्माणको सही सदुपयोग हुन नसक्ने प्रवृत्ति रहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे। उनले ठूलो धनराशीमा निर्माण भएको भौतिक संरचनाको संरक्षण र सही सदुपयोग मुख्य चुनौति रहेको दोहो¥याए। टर्मिनलले प्रदेश १ कै सवारी चापलाई धान्न सक्ने बताउँदै उनले भने, ‘धेरै संरचना उचित ढंगले सञ्चालन हुन नसक्दा विगतमा विभिन्न ठाउँमा जीर्ण बन्दै गएका छन्। तर पनि तत्कालै अत्याधुनिक स्तरको प्रदेश बसपार्क निर्माणका लागि काम अघि बढाउन पनि महानगरपालिकासँग छलफल भइरहेको छ।’

एकअर्को प्रसंगमा राईले जनभावनालाई समेटेर प्रदेश १ को स्थायी राजधानी तोकिने बताए। प्रदेश सभाको आगामी माघ २० गते आह्वान गरिएको हिउँदे अधिवेशनपछि राजधानी र नामको विषय टुंगो लाग्ने राईको भनाइ छ। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले सेवा प्रवाह स्थललाई सफा र सुन्दर राख्नुपर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएकाले बस टर्मिनल सञ्चालन गर्दा ध्यान पु¥याउन आग्रह गरे। सरकारका सामजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश सांसद केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव लगायतले बस टर्मिनल सबैका लागि नमुना बनेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.