पञ्चेश्वरमा एकै दिन ७ ऐन पारित
बैतडी : पञ्चेश्वर गाउँपालिकाले ७ वटा ऐन पारित गर्दै चौथो गाउँसभा सम्पन्न गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम आर्थिक वर्षको दुईपटक गाउँसभा गर्ने प्रावधानअनुसार गाउँसभा सम्पन्न भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए ।
गाउँसभाबाट शिक्षा ऐन, प्रशासनिक ऐन, राजपत्र प्रकाशित ऐन, मदिरा निषेधित तथा नियन्त्रण गर्ने ऐन, अपांगता भएका व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने ऐन, घ वर्गका निर्माण व्यवसायीलाई इजाजत दिने ऐन र करार तथा ज्यालादारी कर्मचारी नियुक्त गर्ने ऐन पारित भएका छन् ।
गाउँसभाले सुखी र समृद्ध पञ्चेश्वरका लागि रणनीतिक योजनासमेत पारित गरेको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँसभाले पारित गरेका ऐन स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ऐन पारित गरेपछि गाउँपालिकाले सम्पादन गर्ने काम सजिलो तरिकाले गर्न सकिने अध्यक्ष चन्दले बताए । उनले भने, ‘मदिराको कारोबार नियमन गर्न ऐन बनेपछि अब हामीलाई सजिलो हुने भएको छ ।’ ऐन पारित भएकाले अपांगता भएका व्यक्तिलाई समेत परिचयपत्र वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिृकत भट्टले बताए ।