भोलि स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा
काठमाडौं : नेपाल चिकित्सक संघले भोलि शुक्रबार आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा गरेको छ । २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा संघले कडा किसिमको आन्दोलनको घोषणा गरेको हो ।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीका अनुसार निजी तथा सरकारी दुबै स्वास्थ्य संस्थामा सेवा बन्द गर्ने निर्णय भएको हो । ‘शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित गरेसँगै बिहीबार संघले अनसनरत डा. केसीको स्वास्थ्य जटिल भइसक्दा पनि सरकारले वार्तामा बेवास्ता गरेको भन्दै दबावका लागि कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको जनाएको छ ।
डा. गोविन्द केसीको रक्षाका लागि घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथि उठेर सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुले पूर्ण रुपमा कार्यन्वयन गर्न अपिल गरेको छ ।