लासको गन्ध अस्पतालभरि
राजविराजः नजिकैको मुर्दाघरमा ११ दिनदेखि रहेको शवको दुर्गन्ध अस्पतालको आकस्मिक कक्षभित्रै ह्वास–ह्वास्ती पस्छ । त्यसमाथि पूर्व पट्टीको बस्तीमा बन्ने गरेको घरेलु रक्सीको गन्ध हावासँगै मिसिएर आउँछ । बेला–बेलामा अस्पतालमा हुने हुलहुज्जत र तोडफोडबाट झ्यालका सिसाहरु फुटेका छन् । नजिकै विसर्जन गरिएको फोहोर र शौचालयका लामखुट्टे र झिँगाहरू फुटेका झ्यालबाट बाहिर–भित्र ओहोरदोहोर गर्छन् अनी साँझपख भ्यागुताहरु पनि शैया नपुगेर भुईमा सुतेका बिरामीसँगै सुत्छन् ।
यो अन्यत्रको कुरा होइन, उपप्रधान मन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव निर्वाचित सप्तरीको २ नम्बर क्षेत्रमा रहेको राजविराजस्थित अञ्चल अस्पतालको आकस्मिक कक्षको हविगत हो । जहाँ पुस २६ गते मात्र मन्त्री यादवले ३१ करोडको लागतमा बन्न लागेको सुविधा सम्पन्न अस्पताल भवन निर्माणको शिलान्यास गरे ।
अस्पताल स्वस्थ र स्वच्छ तथा प्रदूषणरहित हुनु मानव स्वास्थ्यका लागि आवश्यक मानिन्छ । तर पछिल्लो समय गजेन्द्रनारायण सिंहको नामसँग जोडिएको अञ्चल अस्पतालको आकस्मिक कक्ष नै रोगी छ । घाइते वा बिरामी भएर पहिलो पटक पुर्याइने आकस्मिक कक्ष नजिकै २५ मिटरको दुरीमा उत्तरतर्फ मुर्दाघर छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा माघ ६ गते फेला परेको बेवारिसे पुरुषको शव अहिलेसम्म उठेको छैन् । माघ ९ गते विहान प्रहरी कारवाहीमा मारिएका दिपेन्द्र चौधरीको शव प्रहरीले नियन्त्रणमा लिई हत्या गरेको भन्दै परिवारले पाँच दिन सम्म बुझ्न मानेका थिएनन् । रहस्यमय र शंकास्पद अवस्थामा फेला परेको शवहरु पनि लामो समयसम्म ल्याएर राखिने गरिएको छ ।
यसरी शवहरु नउठदा दुर्गन्ध सिधै आकस्मिक कक्षमा आउने गरेको बिरामीहरुको गुनासो छ । बिरामी भेंटन अस्पताल पुग्ने व्यक्तिहरु भने दुर्गन्ध फैलिँदा नाक, मुख थुनेर जाने गरेको औषधी पसले तुलानाथ माझी बताउँछन् । पूर्वी हावा चल्दा शवको दुर्गन्ध सीधै आउने र कैयन दिनसम्म गन्हाइरहने कार्यरत कर्मचारीहरूको भनाई छ । बेला–बेलामा वेवारिसे शवहरु कुहिएर लामो समयसम्म रहनाले अस्पताल दुर्गन्धित बन्ने गरेको अहेव महानारायण पर्सेला बताउँछन् । यस विषयमा बिरामीका कुरुवा, ड्युटीमा रहेका चिकित्सक र प्रहरीबीच आपसमा विवाद समेत हुने गरेको प्रहरी हवल्दार रामशंकर यादव सुनाउँछन् ।
आकस्मिक कक्षमा विरामी हेर्न जाने आफन्त र शव पोष्टमार्टम गर्न जाने व्यक्तिहरु दुर्गन्धले गर्दा बस्न सक्ने अवस्था नै हुँदैन । आइतबार पोष्टमार्टमका लागि राखिएको ललीतादेवीको शव हेर्न पुगेका उनका परिवारका सदस्यहरु त्यहाँ एकछिन पनि बस्न सकेनन् । नाक थुन्दै एकैछिन बिताएका उनिहरु तत्कालै बाहिर आएर मुख धुन थाले । अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दिनहुँ कसरी काम गरिरहेका होलान भनेर स्थानीय मुकेश यादवले आश्चर्य व्यक्त गरे ।
मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बेवारिसे शवलाई जोगाउने फ्रिजको अभाव र समयमै शव नउठदा अस्पताल दुर्गन्धित हुने गरेको स्विकार्छन् । ‘हामीसँग पोस्टमार्टम गर्ने एउटा सानो जिर्ण कोठामै शव राखिन्छ, फ्रिज छैन्, पोस्टमार्टम भएको पाँच÷सात दिनसम्म शव नउठदा शवहरु गन्हाउन थाल्छ’ डा. दासले भने, ‘यसको लागि नयाँ फ्रिज ल्याउने र प्रहरी, प्रशासन, स्थानीय तहले छिट्टै शव उठाइ दिने व्यवस्था गर्नु पर्छ ।’
शव गृहको राम्रो व्यवस्था नहुँदा खाना पकाउन समेत कठिन भएको अस्पतालका भान्से सुमन न्यौपानेले बताइन् । मुर्दाघरदेखि ३० मिटर उत्तरको दुरीमा अस्पतालको भान्साघर छ । ‘खाना बनाउन लाग्यो शवको दुर्गन्ध फैलिन्छ, कहिलेकाहीँ झ्याल बन्द गरी नाकमुख थुनेर खाना बनाउँछौै’, उनले भनिन् ।
विसर्जित फोहोर पनि भान्साघर पछाडि फ्याँक्ने गरिएको छ । महिनौंसम्म नउठाइने उक्त फोहोरको दुर्गन्ध, फोहोरमा हुर्केका लामखुट्टे र झिंगा झ्यालबाट भान्सामा पुग्छ । झ्याल सडेगलेर मक्किएको छ ।
सनाखतका लागि वेवारिसे शवहरु केही दिन राख्नु परेकाले दुर्गन्ध फैलिएको एसपी राजेन्द्र विष्टले बताए । ‘वेवारिशे र विवादित शवहरु केही दिन राख्नुपर्दा गन्हाउनु स्वभाविक हो ।’ बढी गन्हाउन थालेपछि वेवारिशे शवको पहिचान नभई संस्कार गर्नुपरेको उनले बताए ।
अस्पताल नजिक घर भएका बजारबासी पनि दुर्गन्धबाट प्रभावित छन् । कतिपय शवको पहिचान हुन समय लाग्ने भएकाले शव कुहिँदा टोल नै दुर्गन्धित हुने गरेको स्थानीय भिमबहादुर आले मगरले बताउँछन् । शवलाई सुरक्षित राख्ने र जोगाउने फ्रिजको तत्कालै व्यवस्था गर्नुपर्ने स्थानीयवासीको माग छ ।