कलामा जीवनका रङ

कलामा जीवनका रङ

काठमाडौं : ४० वर्षअगाडिको पाशुपत क्षेत्र याद आउँछ। त्यहाँका बाँदरका दृश्य सबैभन्दा मनमोहक थिए। यो दृश्यले गान्धीका तीन भनाइ याद दिलाए, ‘नराम्रो नसुन, नराम्रो नहेर, नराम्रो नबोल।’ यही महान्वाणीसँगै सुरु भएको थियो कलाकार सुबोधचन्द्र दास (एससी सुमन) को काठमाडौं यात्रा। जहाँबाट उनका निर्दोष अनुभूतिका गीत बुनिएका थिए।

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा रहेको ‘मिथिला कसमसः सङ अफ इनोसेन्स एन्ड एक्सपिरेन्स’ मा कलाकार सुमनका जीवन अनुभूति क्यानभासमा देख्न सकिन्छ। कतै सामाजिक सद्भावका रूपमा त कतै धार्मिक सहिष्णुताका रूपमा।

आर्ट ग्यालरीलाई उनले मिथिला संस्कृतिको झल्को दिन खोजेका छन्। उनको ‘कोहबर इन् नेवार हाउस’ शीर्षकको पेन्टिङमा मिथिला संस्कृतिअनुसार विवाह समारोह भइरहेछ। नेपाली समाजमा शदीयौंदेखि चल्दै आएको धार्मिक र सामाजिक सहिष्णुताको झल्को यो चित्रले दिन्छ।

सुमनका प्रत्येक पेन्टिङमा मिथिला कलाकृति भेटिन्छ। मिथिला समाज, त्यहाँको परिवेशका साथै सांस्कृतिक र प्राकृतिक भूगोलको अनुभूति उनले चित्रमा समेटेका छन्। यसलाई उनले काठमाडौं सहरसँग समागम गराएका छन्।

उनी भन्छन्, ‘तराईका नेपाली पहाड पसेका छन्, पहाडका तराई झरेका छन् तर भूगोल परिवर्तन गरे पनि आफूले मान्ने देवीदेवताको दर्शन गर्न छाडेका छैनन्।’ सुमनका पेन्टिङमा उपत्यकाको जीवन भोगाइ, नेपाली–नेपालीबीचको आत्मीयपन मात्र छैन राज्यको नीतिप्रति तिखो व्यंग्य पनि छ। सुमन प्रश्न गर्छन्, ‘सानो बालकले त सही गलत छुट्ट्याउन सक्छ भने राज्यसत्तामा बस्नेहरूले गलत नीतिलाई किन देख्न सक्दैन ? ’

‘मास प्रोटेस्ट बाई वाइल्ड लाइफ’ को पेन्टिङमा सुमनले राज्यको गलत नीतिको सिकार भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पक्षलाई देखाएका छन्। नेपाल सरकारले ट्रान्जिट हबको रूपमा विकास गर्न लागेका उक्त विमानस्थल निमार्ण गर्न २७ सहर विस्थापित भएका छन्। २० लाख ४० हजार रूख काटिँदै छन्।

कलाकार सुमनका भोगाइ पनि सामान्य नेपालीको भन्दा फरक छैन। देश निर्दलीयबाट बहुदलीय व्यवस्थामा प्रवेश गर्‍यो। मुलुकले दसवर्षे माओवादी द्वन्द्वको चपेटा पार गर्दै २०६२÷६३ को आन्दोलन र भूकम्पको मारसमेत भोग्यो। यी सबै परिस्थितिसँग जुँधेका जीवनहरू अगाडि बढ्न भने छाडेनन्।

‘यी सबै सामाजिक र राजनीतिक अनुभूतिले नेपालीको जीवनचक्र अगाडि बढाई नै रह्यो’, उनी भन्छन्। सुमनले आफ्ना अनुभूतिलाई पहिले र अहिलेका यादबाट प्रस्ट्याउन खोजेका छन्। ‘कीर्तिपुर देन–कीर्तिपुर नाउ’ र ‘पशुपति देन–पशुपति नाउ’ शीर्षकका पेन्टिङमा ती अनुभूति देख्न सकिन्छ।

कलाकारले जीवनका अनुभूतिलाई धार्मिक भूगोलको नजरले पनि हेरेका छन्। हिन्दु–बौद्धधर्मका देवीदेवताको नजरबाट समाजलाई व्याख्या गर्न खोजेका छन्। भन्छन्, ‘पशुपति र स्वयम्भूजस्ता धार्मिकस्थलमा भगवान्को मन्दिर मात्र छैनन् त्यहाँ जीवनका सम्पूर्ण रङ छन्।’

४० वर्षको काठमाडौं बसाइमा सुमनले आफ्नो जीवनमा घटेका सम्पूर्ण अनुभूतिलाई चार वर्ष लगाएर क्यानभासमा रंगिबिरंगी रङले पोतेका छन्। ‘कवि भए कविता लेख्थेँ। लेखक भए फिल्म बनाउँथे’, उनी भन्छन्, ‘कलाकार भएकाले आफ्ना अनुभवलाई चित्रमा पोखेँ।’ आफ्ना हरेक पेन्टिङमा मिथिलाको कला संस्कृति उजागर गर्दै आएका सुमनको यो सोह्रौं १६औं चित्रकला प्रदर्शनी हो। पेन्टिङको मूल्य ४७ हजारदेखि एक लाख २० हजारसम्म छ। प्रदर्शनी फागुन ८ गतेसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.