स्वास्थ्य चौकी भवनमा पाँच वर्षदेखि ताला

स्वास्थ्य चौकी भवनमा पाँच वर्षदेखि ताला

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेलस्थित एक सरकारी भवनमा पाँच वर्षदेखि व्यक्तिले ताला लगाएर राखेका छन्। स्थानीय सावित्री न्यौपानेले सरकारी तालामाथि अर्को ताला लगाएकी हुन्।

२०७० सालमै निर्माण सम्पन्न भएको उक्त भवन न्यौपानेको तालाका कारण उक्त सरकारी प्रयोगमा ल्याउन सकिएको छैन। बरु न्यौपानेले उक्त भवन आफ्नो निजी प्रयोगमा ल्याइरहेकी छन्। उनले उक्त भवनको परिसरमा गाईवस्तु पालेकी छन्। आफ्नो निजी सवारी पार्किङ गर्दै आएकी छन्।

उक्त भवन झौखेल स्वास्थ्य चौकीको नयाँ भवन हो। उक्त भवनसँगै रहेको छ चाँगुनारायण नपा ३ को वडा कार्यालय। यो कार्यालय साविक झौखेल गाविस भवनसमेत हो। तैपनि उक्त भवन व्यक्तिबाट छुटाउन सकिएको छैन।

किन लगाइयो ताला ?

उक्त भवन बनाउन साबित्री न्यौपानेले २०६७ सालतिर १० आना जग्गा दिएकी थिइन्।उक्त भवन बनाउन गठित हेल्थपोस्ट जग्गा व्यवस्थापन समितिको अनुरोधमा उनले आफ्नो नाउँको दश आना जग्गा दिएकी हुन्। उनले तत्कालीन झौखेल गाविसको नाउँमा उक्त जग्गा पास गरिदिइन्।

उक्त जग्गा दिएवापत न्यौपानेलाई अन्यत्रै सोधभर्ना गरिने सहमति गरिएको थियो तर उक्त सहमतिअनुसार जग्गा प्राप्त नभएपछि आफू स्वास्थ्य चौकी भवनमा ताला लगाउन बाध्य भएको सावित्री बताउँछिन्। सहमतिअनुसार आफूलाई अन्यत्र जग्गा उपलब्ध गराउन पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो थियो।

समितिका सचिव धर्मेन्द्र थापाले सहमतिअनुसार अरु जग्गाधनीले आफ्नो प्रतिशत काटेर नदिँदा सावित्रीलाई सोधभर्ना गर्न नसकिएको बताए। उनले जग्गा प्राप्त गरी स्वास्थ्य चौकी भवन प्रयोगमा ल्याउन साविक झौखेल गाविस र हाल वडा कार्यालयले समेत यसमा ध्यान नदिएको आरोप लगाए।

निजी जग्गा प्लानिङले समस्या

सरकारी जग्गा छाडेर निजी जग्गामा भवन बनाइँदा यो समस्या आएको स्थानीय बताउँछन्। उक्त ठाउँमा १४ आना सरकारी जग्गा रहेको छ। उक्त जग्गामा तत्कालीन साझाको भवन थियो। स्वास्थ्य चौकी भवन बनाउने भन्दै उक्त भवन भत्काइयो तर उक्त जग्गामा भवन बनाइएन बरु निजी जग्गा प्लानिङको लागि बाटो खोलियो। बाटै नभएको ठाउँमा सरकारी जग्गाबाट बाटो खोलेवापत निजी प्लानिङमा जग्गा भएकाहरुबाट दस आना जग्गा स्वास्थ्य चौकीको लागि लिइएको सचिव थापा बताउँछन्।

उनका अनुसार उक्त प्लानिङभित्र करिब २३ जनाको जग्गा थियो। 'ती सबैले बाटो र स्वास्थ्य चौकी भवनको लागि १७ प्रतिशत जग्गा कटौती गर्ने सहमति गरिएको थियो,' उनले भने, 'त्यतिले नपुग्ने देखेर थप दस आनाको तीन टुक्रा जग्गा छुट्याएका छौं।'

सहमतिअनुसार सबैले १७ प्रतिशत जग्गा नदिँदा सावित्री न्यौपानेलाई जग्गा सोधभर्ना दिन नसकिएको उनले स्पष्टीकरण दिए। उनका अनुसार जग्गा कटौती नगरिकनै ६÷७ जनाले जग्गा बिक्री गरिसकेका छन्।

यता वडा सचिव श्यामसुन्दर धिमालले स्वास्थ्य चौकी जग्गा व्यवस्थापन समितिलाई पटकपटक सम्पूर्ण विवरण बुझाउन भन्दा पनि नबुझाएको जानकारी दिए।उक्त भवन प्रयोग गर्न नपाइँदा वडाको सहरी स्वास्थ्य क्लिनिकसमेत निजी घरमा भाडा तिरेर राख्नुपरेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.