ओढारमा उद्दार : जसले ज्यानको प्रवाह गरेनन् (भिडियो)

ओढारमा उद्दार : जसले ज्यानको प्रवाह गरेनन् (भिडियो)

धादिङको उच्च क्षेत्रमा हिमपात भइरहेका बेलामा ओढारभित्र भेडाबाख्रासहित दुई गोठाला पुरिएको खबर आएपछि उद्दारमा जान तयारी अवस्थामा रहन हामीलाई निर्देशन आएको थियो । 

गत सोमबार हामी पानी परिरहेकै बेला नेपाली सेनाको हेलिकप्टरबाट घटनास्थलतर्फ लाग्यौँ । हेलिकप्टरबाट झरेर एक घण्टा हिँडेपछि मात्रै घटनास्थलमा पुग्यौँ । सुरुमा घटनास्थल देखेपछि हामी आफै कहाँबाट उद्दार सुरु गर्ने भनेर अलमलमा पर्यौँ‍ । ओढारको मुख कहाँ हो ? पत्तो थिएन । विशाल चट्टान हाम्रा अगाडि तेर्सिएका थिए । 

हामीसँग ढुङ्गा फुटाउने घरेलु सामाग्री, मेशीन चलाउन बोकेरै लगिएको जेनेरेटर भन्दा अरु केही थिएन, विकट ठाउँमा अरु सामान लैजान सम्भव पनि थिएन । भग्नावशेषको प्रकृति र ठुला चट्टान देख्दा त यहाँ मान्छे होलान् र ? भन्ने शंका पनि उब्ज्यो । 

सामान्यतः ओढार भन्नेबित्तिकै हामी कुलोजस्तो तेर्सो बुझ्छौ । तर गोठाला पुरिएको ओढार अलि फरक खालको रहेछ । ओढारको माथितर्फ ढिस्को, ओढारको मुखबाट छिरेपछि तलतिर गहिराइ रहेछ । १३ गते आइतवार विहानदेखि गोठाला सम्पर्कमा थिएनन् । 

हामीलाई जतिसक्दो छिटो सास या लास फेला पार्नुपर्ने चुनौती थियो । एक छेउबाट चट्टान फुटाउँदै हामीले भुइँ खोतल्ने प्रयास गर्‍यौँ । हामीले काम सुरु गरेपछि स्थानीय युवा पनि जुटेर हामीलाई सघाउन आइपुगे । 

भत्किएको ओढारमाथि ठुला ढुङ्गा जुनसुकै बेला झर्नसक्ने अवस्थामा थिए । सुरक्षा सामाग्री नभएकाले हामीले सबैलाई भित्र काममा त लगाएनौँ तर स्थानीयले धेरै सहयोग गरे । ढुङ्गा फुटाउँदै बाहिर निकाल्दै गयौँ । 

एकछेउबाट ढुङ्गा फुटाउन भुइँ भेटाउन सकियो भने बेपत्ताहरुको अवस्था पत्ता लगाउन सहज हुने ठानेर दिनभर ढुङ्गा फुटाउँदै भुइँ खोतल्दै थियौँ । रात परेपछि हामी त्यहीँ ओढार नजिकै बास बस्यौँ । 

गाउँसम्म पुगेर बस्न डेढ घण्टा लाग्ने भएकाले उज्यालो हुनेबित्तिकै काम गर्न सजिलो होस भनेर ओढार नजिकैको सुरक्षित ओढारमा बस्यौँ । उद्दारमा जुटेको चौथो दिन काम सुरु गर्दा उद्दारकर्ता प्रहरीहरुको हौसला बढाउन मैले भने, ‘यो विकट ठाउँमा हामीले पनि उद्दार गर्न सकेनौँ भने अरु कोहीले सक्ने अवस्था छैन, हामीले जति समय लगाएर भए पनि सास या लास निकाल्नै पर्छ ।’

बाहिरै देखिएका र भित्र च्यापिएर मरेर भेडाहरुको गन्ध आउन थालिसकेको थियो । खोतल्दै जाँदा केही दुलो फेला पार्‍यौँ । ढुङ्गै ढुङ्गाले टाँड परेका दुलो पच्छ्याउदै बिहीवार दिउँसो ४ वटा बाख्रा जीवितै निकाल्न सफल भयौँ । धेरैजसो भेडा बाख्रा जीवितै भेटिएको छेउमै च्यापिएको अवस्थामा भेटिए । 

अपरान्ह २ बजेतिर ४ वटा बाख्रा जीवितै फेला पारेपछि गोठालालाई पनि जीवितै फेला पार्न सकिने आशा बढ्यो । त्यसपछि उद्दारकर्ता प्रहरी र स्थानीयसमेत ढुङ्गा पल्टाउन र गोठालाको खोजीमा हौसिए । बाख्रा निकालेको ठाउँभन्दा अलिक पर ढुङ्गाले च्यापिएको अवस्थामा साँझ ७ बजेतिर पातलो कम्बल (पोलार) देखियो । 

भिडियो

कम्बल काटेर हेर्दा २ जनाको शव एकै ठाउँमा भेटियो । दुवैजनालाई ढुङगा र माटोले पुरेको रहेछ । सँगै सुतिरहेको बेला एकैपटक ढुङ्गा र माटोले च्यापेकाले उनीहरुको शव सुतेकै अवस्थामा एकैठाउँमा फेला पारियो । शव र घटनास्थलको प्रकृति हेर्दा उनीहरुले भाग्ने चल्ने र चटपटाउने गर्ने कुनै मौका नै नपाएको जस्तो देखियो । एकै पटकमा झ्याप्पै पुरेको रहेछ ।

जीवितै फेला पार्ने आशा राखेर काम गरेका हामीलाई गोठाला मृत भेटिँदा साह्रै दुःख लाग्यो । चार दिनदेखिको मेहनतका बाबजुत मानिसको अवस्था पत्ता लगाउन सकेकोमा अर्कोतर्फ खुसी पनि लाग्यो । 

शव निकालेपछि स्थानीयहरुको सहयोगमा औजार उपकरण र शव गाउँसम्म बोकेर ल्याइयो । शुक्रवार विहान शव आफन्तलाई बुझाएर घटनास्थलबाट ब्यारेक फर्कियौँ ।

२०७२ को भूकम्पपछि काठमाडौँमा उद्दारमा जुटेका बस्नेत सशस्त्र प्रहरी निरीक्षक हुन् । उनीसँग अन्नपूर्णकर्मी मनीष दुवाडीले गरेको कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.