भारतको मनिपुरबाट ३१ नेपाली महिलाको उद्धार
काठमाडौं : महिला बेचविखनविरुद्ध काम गर्दैआएको संस्था माइती नेपालले भारतको मनिपुरबाट ३१ जना नेपाली महिलालाई उद्धार गरेको छ ।
मनिपुर प्रहरी र इम्पल्स एनजिओ नेटवर्कको सहयोगमा शुक्रबार उक्त संस्थाले मनिपुरको इम्फालबाट उनीहरुलाई उद्धार गरेको हो । इम्फालबाट म्यान्मार हुँदै गैरकानूनी रुपमा इराक र दुवई पु¥याउने भन्दै दलालहरुले योजना गरिरहँदा माइती नेपालको टोलीले उनीहरुको उद्धार गरेको हो ।
माइती नेपालका कार्यवहाक अध्यक्ष विश्वराम खड्काका अनुसार विगत तीन दिनयता भारतबाट ३७ जना महिलाको सकुशल उद्धार गरिसकेको छ । गत बुधबार दिल्ली महिला आयोग र रेस्क्यु फाउन्डेशनको सहयोगमा ६ जना महिलाको राजिव नगरबाट उद्धार गरिएको थियो ।
नयाँ रुटको प्रयोग
प्रहरीका अनुसार भारतको मनिपुरस्थित इम्फालबाट म्यानमार हुँदै इराक र दुवईमा मानव तस्करी गर्ने रुट विल्कुलै नयाँ हो ।
माइती नेपाललाई पहिचान नखुलेको इमेल मार्फत प्राप्त सूचनाको आधारमा गरिएको अनुसन्धान र थालिएको उद्धार कार्यले अन्ततः मानव तस्करीको गोप्य रुटको पर्दाफास गरेको खड्काले बताए । उद्धार गरिएका व्यक्तिहरुलाई आवश्यक प्रक्रिया पु¥याएर स्वदेश फिर्ता गरिने पनि उनले जानकारी दिए ।