बन्धक
सत्यहरू दिक्दार लाग्न थाल्यो
यति छोटो जिन्दगी पनि कति लामो
दुःखका सत्यहरू भोगिबस्नु पर्ने ?
होस्, अलिकति घुमाउरो बाटो जान्छु
अलिकति भ्रमको बाटो भएर जान्छु।
अँ साँच्चि मलाई कस्तो जीवन मन पर्छ ?
.............. ... .............. ... ?
थुक्क, आजसम्म सोचेकै पो रहिनछु।
सायद, मलाई, मेरो नाातिको मुस्कानजस्तो वस्तुहरू मन पर्छ।
मेरो छोराको मायाजस्तो निर्धक्क बगिरहने प्रेम मन पर्छ।
मेरो पतिको ..... ना .. वाक्का - यो त सत्य हो। मलाई सत्य मन पर्दैन। सत्यहरूबाट भागेर भ्रमको बाटो लुत्त भाग्ने हो।
मैले हिँड्ने बाटो यस्तो होस्-
देब्रेपट्टि-पहरैभरि सुनाखरी फुलेको
दाहिनेपट्टि-पाखैभरि गुराँस फुलेको
जमिनभरि-भुइँझार कोपिला बसेको
रंगीचंगी गुलाफ पनि।
एउटा गुलाफ टिपूँ क्यारे। कुन टिपूँ ? रातो ? कालो ? कलेजी ?
नाइँ, मलाई त सेतो फिक्का मन..... अबुई ! गुलाफको काँडा त कस्तो तरबारजस्तो धारिलो हँ ?
कसको बच्ची हो चिच्याइरहने त्यहाँ ? भनिरहेछ- ‘म बुबु खाएर कोक्रामा सुतिरहेकी बेला कसैले सू-सूमा उनेर मलाई मा¥यो। खोइ कोक्राको बिटमा झुन्डिरहेको पुतली ? खोइ मेरो आमा ? त्यहाँ उभिरहने को हो ? छिट्टो आमा बोलाइदेऊ। मलाई धेरै भोक लागिरहेको छ।’
लौ न, सुनाखरी फुलेको पहरा कस्तरी हल्लिरहेको ? मतिरै ढल्न लागिरहेछ।
अबुई ! गुराँसे पाखाभरि डढेलो लागेछ कसरी ?
कोही चिच्याइरहेछ, होइन, अट्ठाहासले हुँकार गरिरहेछ,-‘हे आधुनिक आइमाई ! तँ हाम्रा आत्माहरूद्वारा बन्धक छेस्।’
बन्धक ?
के साँचिकै म बन्धक छु ?
कसरी म बन्धक भएँ। आखिर को हौ मलाई यसरी बन्धक बनाउने ? किन यस्तो गरिरहेछौ ?
‘हामी ती आत्माहरू हौं ? वृद्धा लोग्नेसँगै जलाइएका किशोरी ब्राह्मिणीहरूको आत्मा, सत्ता खोसेर बाग्दाता पन्साइएकी किरातनी आत्मा, खेल्दाखेल्दै यौन हत्या गरिएकी बालिकाहरूको आत्मा। बदला लिन यत्रतत्र भौतारिरहेका छौं, तेरो रगतमा सवार छौं।’
हे आत्माहरू !
म त शालीन ब्राह्मणहरूको प्रेममा छु। म त दयालु आदिवासीहरूको साथमा छु।
मुस्कानले लट्ठ बनाउने बालकहरूको छेउमा छु।
म अति निम्छरो आइमाई हँ।
बरु, उनै शक्तिशालीको जीउमा बास गर÷बरु उनै सत्ताधारीको जीउमा सवार गर
म केही गर्न सक्दिनँ। मलाई मुक्त गरिदेऊ।
‘हे आइमाई ! तँ जन्मँदै हाम्रो आत्माहरूको बन्धक भइसकिस्। बालिकाको हत्या हुँदा आक्रोशले तेरो दाँत टकराउँछ। दासप्रवृत्तिसँग रुष्ट छेस्। बागदातासँग आक्रोश पोख्छेस्। यी अत्याचारहरूको अन्त्य नगरी तँ सत्यबाट भाग्न पाउँदैनस्।’
हो हो
साँच्चै मलाई यस्तै हुन्छ। मलाई आत्माहरूले खेलाइरहेको रहेछ।
अब, ज्यानको बाजी लगाएर भ्रमको बाटो हिँड्नेछैन।
ए, आधुनिक मानिसहरू हो !
ब्राह्मिणीहरूको पूजा गर।
किरातनीहरूको सत्ता फर्काइदेऊ
बालिकाहरूको संरक्षण गर
अनि मलाई यी आत्माहरूबाट मुक्त गराऊ
यदि मजस्तै प्रत्येक महिलाहरू यस्ता आत्माको बन्धक भए भने,
के यो संसार ज्यूँदो रहला ?