सिरक खापिमाग्ने सरकारका नाममा

सिरक खापिमाग्ने सरकारका नाममा

यसपालिको हिउँदमा पनि

नयाँ जाकेट किन्न सकिएन

दुईचार मासको दुईचार मुठी जाडो न हो

काटिदिउँला थोत्रै जाकेटले

मलाई छैन पर्वाह आफ्नो

बरु सरकारमाथि सहानुभूति छ

सरकार रोगी छ

रोगीभन्दा पनि उपररोगी छ

(रोगीलाई दया गर्नुपर्छ)

सरकारको किड्नी खराब छ

फोक्सो खराब छ

मुटु खराब छ

नियत झन् खराब छ

सरकारलाई बाह्रै मास जाडो हुन्छ

कामिरहन्छ लगलग

शीतकालीन आलस्यले अपाहिज छ ऊ

त्यसैले केही गर्दैन

(बस्, अपराधीहरूसँग डिनर खान्छ

बस्, जुलुसमाथि गोली चलाउँछ

बस्, उद्घाटन गर्छ, सम्भाषण दिन्छ, सपना बाँड्छ

जस्तै जाडोमा पनि यति चाहिँ गर्छ...धन्य हो !)

सरकार

देशभरिका शिशुका कपासका भोटाहरू

आफैँ लाउँछ

नागरिकका छाला काढेर बनाइएको मयलपोस

धारण गर्छ

राष्ट्रियता झल्काउने ढाकाटोपी भिर्छ

त्यसमाथि विवेकहीनताको कानेटोपी लाउँछ

गलामा  भिर्छ अहंकारको गलबन्दी

अनि सुत्छ सिरकमाथि सिरक खापेर

सिरक जति भए पनि पुग्दैन उसलाई

खापिमाग्छ, मागिरहन्छ, मागिरहन्छ

(फुटपाथको मगन्ते पनि यति निरीह र निर्लज्ज हुँदैन)

मधेशमा शीतलहर चल्छ

सरकार सिरक खापिमाग्छ

पहाडतिर हिमपात हुन्छ

सरकार सिरक खापिमाग्छ

खापिमाग्छ यति धेरै सिरक...

पसिनाको सिरक, आँशुको सिरक

रगतमासुको सिरक, हाडखोरको सिरक

शीतलहरले मरेकाहरूको आफन्तजनले

गरे सवाल-

सरकारलाई कति जाडो हुन्छ ?

हिमपातमा मरेकाहरूको आफन्तजनले

दिए जवाफ-

सरकारलाई अति जाडो हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.