आधा उज्यालोको अँध्यारो-उज्यालो
भीष्म उप्रेतीको नयाँ कविता-किताब ‘आधा उज्यालो’मा ५४ वटा छोटा, मझौला तर चोटिला कविता छन्। अधिकांश कवितामा समाज र सामाजिक परिस्थिति, जीवनबोध र प्रकृतिप्रेम, मानवीय प्रेम र आदर्श, देशचिन्तन आदिको चित्रण पाइन्छ। सरल तर बोधगम्य कविताका पारखीलाई कवि उप्रेतीका कविताले छुन्छ। बाटोमा हिँड्दा अत्यन्त सुन्दर युवती नजिकबाट गुज्रँदा फेरि एकपटक फर्केर आँखालाई धीत मर्ने प्रयास गरेजस्तै हुन्छन् उनका कविता प्रस्तुति। जस्तो छ त्यस्तै रहन देऊ, समयले सबै ठीक पार्छ भन्ने चिन्तनले अभिभूत पाठकलाई उप्रेतीका कलादर्शन प्रिय लाग्ने छैन। फेरि निर्विचार वा तटस्थ जीवनका अनुयायीलाई उनका काव्यदर्शन मन पर्नेछ।
उनको कविता टिप्ने, उन्ने र माला बनाउने शैली सुरम्य छ। उनले कवितालाई निकै छोटो र छरितो ढंगले भनेका छन्, शब्द फारु गरेर। विम्बलाई बुझिने गरी प्रयोग गरेका छन्। सरल र सीधा कविताका पारखीलाई उनका कविता राजमार्ग लाग्नेछ। उनलाई शब्दमाथि नियन्त्रण मन पर्छ। उनलाई पागल शब्दहरू उनको कविता वरिपरि निकै अनुशासित भएर बसिदिए हुन्थ्यो भन्ने आग्रह छ। शब्दचयनमा उनी निकै मितव्ययी छन्। मानिसलाई उत्तेजित बनाउने, अन्याय र अत्याचारलाई पनि सहन सक्ने गरी पठनको संस्कृतिमा ल्याएर समाज देखाउने उनको शैली हो। उनी जोखिम मोलेर कविता लेख्न हिच्किचाउँछन्। त्यसैले उनका कविता शालीन छन्। उनले जागिरे जीवनका दौरान समाज देखेका छन्। स्थिति र परिस्थितिको अध्ययन गरेका छन्। उनलाई औसत जीवन मन पर्छ। उनी आफू जसरी बाँच्छन्, जसरी समय र परिस्थितिलाई अनुभूत गर्छन् त्यसरी नै अभिव्यक्त गर्छन्- कवितामा, उपन्यासमा, नियात्रा वा निबन्धमा।
यसरी हेर्दा कवितालाई उनले जीवनप्रतिको विश्वास र बाँच्ने शैली बनाएका छन्। उनले देखेको नेपाल वास्तविकताभन्दा फरक छ। आँखाले समाजलाई देखेको नराम्रो होइन। वर्ग, जात, समुदाय, धर्र्म र भूगोलमा विभाजित देश-समाजलाई अध्यात्मिक वा आदर्शको आँखाले मात्र हेरियो भने अन्याय पनि हुन्छ। त्यसैले कवितामा पहाड, लालीगुँरास, नदी, आदिलाई विघटित सन्दर्भ र विम्बभन्दा हुन् नयाँविचार र चेतनाका कविहरूले।
यो समय सामाजिक परिवर्तन, आर्थिक रूपान्तरणको पक्षमा उभिनुपर्ने हो। तर कवि हिमाल, पहाड, नदी आदि भौगोलिक सीमामा रुमल्लिएका छन्।
पाठकले कित्ता र किस्सा, चाहना र चेतना, विचार र बोध आदिको सीमा उहिल्यै भत्काइसकेका हुन्। कसैकसैलाई कविता ईश्वरसंगको सत्संग पनि लाग्ला। भोकाएकाले लेख्ने भोकको रामायण र अघाएकाले लेख्ने रामचरित्र फरक हुन्छन्। एक्लाहरूले लेख्ने कविता र देख्ने बोध फरक हुन्छ। हुनेखाने र हुँदाखानेको जीवनदर्शन उस्तै हुँदैन। उनको औसत जीवनशैलीले यही बताउँछ- उनी कवितामा नाटक वा अन्य पाखण्डको विपक्षमा छन्। उनी बाहिर र भित्र दुरुस्त छन्। तर, उनी फरक जीवनदर्शन र भिन्न वर्गचिन्तनको विरोधी पक्कै होइनन्।
देश, प्रकृति र मान्छे गरी तीन खण्डमा विभाजित यस कविता सञ्चयनको पहिलो खण्डमा देशलाई भूगोलको संग्रहालयमा राखिएको छ। त्यसभित्र देखिने भौतिक चित्र र चरित्र सोकेशमा छन्। दोस्रो खण्डमा प्रकृतिलाई निर्मातानिर्देशक सत्यका रूपमा सर्वस्वीकार बनाइएको छ। यसभित्र नदी विम्बसँग जीवनचक्र, शिक्षा वा पाठ, वनस्पति, पर्यावरणीय चेत आदि प्राकृतिक चक्रको गतिशीलता चित्रण गरिएको छ।
यिनै हिमालहरूको हिउँबाट म बनेँ
आफ्नै आमाबाजस्ता
यी हिमालहरूलाई चटक्कै छाडेर
कहिल्यै नफर्कने गरी जाने
मेरो रहर होइन। (नदी - ४)
र, तेस्रो खण्ड मान्छेको विम्बमा विविध मानवीय संरचना र तिनीहरूको जीवन र जगत देखाइएको छ। पात्रहरू आमा, युवामाझी र तिनका सपना, इच्छा, जीवनशैली, सौन्दर्य, गतिविधि, पर्यावरण र तत्जन्य परिवेशका कविता समावेश गरिएका छन्।
तिमीलाई आरोहण गरेर
शिखरमा उभिएकै बेलामा पनि
म तिमीभन्दा अग्लो भएको होइन चोमोलुङ्मा (चोमोलुङ्मा)
यस सञ्चयनका आमा, सपना, दृश्यचित्र, चिहान, इच्छा, किताब र सहर आदि सुन्दर कविता हुन्। केही कविता औसत छन्। केही विम्ब र विषयको पुनरावृत्तिले सामान्य बनेका छन्। हुन त सामान्य विषय वा विम्बलाई पनि प्रस्तुति र कथ्यशिल्पले असामान्य बनाउन सकिन्छ। तर, त्यसका लागि गम्भीर साधना, ठूलो आत्मबल र धैर्यको आवश्यकता हुन्छ। उप्रेतीका केही कविता प्रस्तुति र पुर्नलेखनको अभावले गम्भीर विषय भएर पनि औसत बनेका छन्, जस्तै चोमोलुङ्मा। उनले सगरमाथालाई चोमोलुङ्मा त भने तर त्यहाँका पात्रलाई न्याय दिन सकेनन्।
भीष्म स्वयम् कविताले शक्तिको सिर्जना गरेर मान्छेको मनमस्तिष्कमा अज्ज्येय छाप छोड्न सक्नुपर्छ भन्ने मान्यता राख्छन्। यस सञ्चयनभित्रका केही कविताका भाव र सार दोहोरिएका छन्। एउटै सञ्चयनमा भावहरूको पुनरावृत्ति गम्भीर त्रुटि हो। नेपाली मूलभाषिमा यस्तो समस्या प्रायः कृतिमा पाइन्छन्। अर्को दोष यो समय सामाजिक परिवर्तन, आर्थिक रूपान्तरणको पक्षमा उभिनुपर्ने हो। तर, कवि हिमाल, पहाड, नदी आदि भौगोलिक सीमामा रुमल्लिएका छन्। कालखण्डमा कविमाथि देशमा आर्थिक, सांस्कृतिक र सामाजिक परिवर्तन भइरहँदा तपाईं के गरिरहनुभएको थियो भन्ने प्रश्न नउठ्ला भन्न सकिन्न।