जूनकीरी जून
सायद नेपालको हिजोको पुस्ताले सबैभन्दा धेरै पढेका भारतीय साहित्यकारमध्ये एक हुन्, आख्यानकार प्रेमचन्द (३१ जुलाई १८८०-८ अक्टोबर १९३६)। आधुनिक हिन्दी साहित्यका अग्रणी चन्दका एक दर्जनभन्दा बढी उपन्यास, २५० जति कथा, थुप्रै निबन्ध प्रकाशित छन्। उनले विभिन्न भाषाका थुप्रै कृति हिन्दीमा अनुवाद पनि गरेका छन्। चन्दको ‘जुगनू की चमक’ कथाको अनुदित ‘जूनकीरी जून’ले पञ्जाबका राजा रणजित सिंहकी पत्नी र राजा दिलीप सिंहकी आमा जिन्दन कौर ‘चुनार गढीबाट भागेर नेपाल पुगेको’ कथा भन्छ। ‘फष्ट एङ्लो-शिख लडाइँ (सन् १८४६)’ पञ्जाबले हार्यो। त्यसबेला उनी ‘सुन्दरी र शक्तिशाली रानी जिन्दन’ भनेर चिनिन्थिन्।
त्यसैले ‘विद्रोह डर’ले इस्ट इन्डिया कम्पनी प्रमुख सर फेडरिक क्युरीले रानीका बहुमूल्य गरगहना कब्जा गरी चुनार गढी (वनारसबाट करिब ४५ किलोमिटर) निर्वासित गरे। निर्वासित भएको एक वर्षपछि रानी गढीबाट भागिन्। करिब आठ सय माइल पैदल हिँडेर (सन् २९ अप्रिल १८४९) काठमाडौं पुगिन्। त्यसबेला जंगबहादुर राणा प्रधानमन्त्री थिए भने सुरेन्द्रविक्रम शाह राजा। अंग्रेज-राणा शासकबीच राम्रो सम्बन्ध हुँदाहुँदै पनि ‘शरणमा आएकालाई मरण गर्न हुन्न’ भन्ने उखानलाई चरितार्थ गर्न राणाले सम्मानपूर्वक बस्न दिए।
११ वर्ष नेपालमा बसेकी जिन्दनलाई नेपालीले नाउँ दिए, चन्द्र कुँवर। १३ वर्षपछि अंग्रेजले १६ जनवरी १८६१ मा छोरा दिलीपसँग कलकत्तामा भेट्न दियो, त्यसपछि छोरासँग लन्डन जान। रानी लन्डनबाट भारत फर्कन चाहन्थिन्। तर, ‘विद्रोह डर’ले अंग्रेजले फर्कन दिएन। सत्य घटनामा आधारित यस कथामा नेपाली पात्रका नाउँ तलमाथि परेका छन्। जस्तोः राजाको नाउँ सुरेन्द्रविक्रम सिंह लेखिएको छ। अन्य केही नाउँ (इतिहासकार महेशराज पन्तको सहायताले) यहाँ फेरिएको छ। जस्तोः कडवड खत्रीलाई करवीर, राजकुमार रणवीरसिंहलाई राजकुमार रणेन्द्रविक्रम शाह र वनवीरलाई वलवीर। र
१.
पञ्जाबका राजा रणजीत सिंहको अवसान भइसकेको थियो। उनले बनाएको सुन्दर राजभवन पनि भत्किसकेकोे थियो। र, राजकाज सम्हालेका जानभान जति आपसी द्वन्द्वमा लीन थिए।
रणजीपुत्र राजकुमार दिलीपसिंह इङ्ल्याण्डमा थिए भने दिलीपकी आमा रानी चन्द्र चुनारको गढीमा थिइन्।
रानीले ओरालिएको राजकाज सम्हाल्न धेरै कोसिस गरेकी थिइन्। तर, उनको प्रयास ‘इष्र्या आगो’मा घिउ भयो।
त्यस रात १२ बजिसकेको थियो। रानी निवासको छतमा उभिएर बगिरहेको गंगालाई हेरिरहिन्। सोचिरहिन् कि, गंगालहर किन यति स्वतन्त्र छ ? कति गाउँ र सहर डुबायो होला त ? कति जीवजन्तु र धन नास्यो होला ? तैपनि गंगा स्वतन्त्र छ ! गंगालाई कसैले रोक्न सक्तैनन्। बाँध बाँध्न खोजे गंगा माथि चढ्छ। गर्जन्छ। र, बगाएर नष्ट गर्छ।
यस्तै सोच्दै र बिचार्दै रानी निदाइन्।
निदाएपछि आँखामा अतीत स्मृति ताँती लागे।
उनको आँखीभांै तरबारभन्दा धारिला थिए। मुस्कान वसन्त वहारभन्दा पोषिला। तर, यतिखेर भने उनी यति कमजोर भइसकेकी थिइन् कि, रोए पनि आफैंलाई सुनाउनलाई थियो भने हाँसे पनि आफैंलाई बहलाउनमात्र। बिगारे पनि कसको के बिगार्न सक्थिन र ? खुसी हुँदा पनि कसको के बनाउन सक्थिन् र ?
रानी र बन्दीमा कति अन्तर छ है ?
रानीको आँखाबाट आँसु थोपा झर्न लागे। ती आँसु कहिले विषभन्दा नि घातक हुन्थे भने कहिले अमृतभन्दा अनमोल।
यसरी उनी त कति पालि रोइन् कति पालि। तर, उनी रोएको देख्ने आकाशका ताराबाहेक अरु कोही थिएनन्।
रुँदारुँदै रानी झपक्क निदाइन्। त्यसपछि उनको छोरा दिलीपसिंह उभिए। दिनभर चर्न गएको गाई साँझपख घर फर्कंदा बाच्छालाई देख्नेबित्तिकै प्रेम र उमंगले फुरुक्क भएर पुच्छर ठाडो पारेर दूध खुवाउन दौडिए जसरी उनले दुवै हात फैलाएर राजकुमारलाई छातीमा टाँस्न दौडिइन्। ठीक त्यसैबेला उनका आँखा खुले र सपना गायब भयो।
रानीले गंगालाई नियालेर फेरि हेरिन्। भनिन्, ‘मलाई आफ्नो साथ लिएर जाऊ।’
रानी तुरुन्त छतबाट ओर्लिइन्।
कोठामा लालटिन बलिरहेको थियो। लालटिनको उज्यालोमा उनले मैलिएको सारी लगाइन्। गहना झिकिन्। त्यसलाई गहना राख्ने सानो बाकसमा राखिन्। धारिलो चक्कु कम्मरमा राखिन्।
त्यसपछि बाहिरिइन्।
पालेले सोधे, ‘को हो ? ’
रानीले भनिन्, ‘म झंगी हुँ।’
‘कहाँ जान लागेको ? ’
‘गंगाजल लिन। रानीले मागिरहेकी छन्।’
पाले अलि नजिक आएर भने, ‘पर्ख, म पनि तिमीसँग जान्छु।’
झंगीले भनिन्, ‘नआऊ। रानी कोठामा छिन्। देख्छिन्।’
पालेलाई छक्याएर रानी चोर ढोका हुँदै अध्याँरो काँडामा टेक्दै, चट्टानमा ठोक्किँदै गंगा किनार पुगिन्।
रात आधाभन्दा बढी ढलिसकेको थियो।
गंगामा मनलाई आनन्दित तुल्याउने शान्ति कायम थियो। गंगा छाल त हजारौं तारालाई काखमा राखेर मस्त निदमा थियो। चारैतिर सन्नाटा छाएको थियो।
रानी गंगा किनारैकिनार (फर्कीफर्की हेर्दै) हिँड्दै थिइन्।
एकाएक उनले एउटा डुंगा देखिन्। किनारमा बाँधिएको डुंगालाई राम्ररी नियालिइन्। देखिन्, निदाएको माझी।
त्यसबेला माझीलाई बोलाउनु त काल निम्त्याउनु थियो। त्यसैले उनले तुरुन्तै डुंगा बाँधेको डोरी खोलिन्। र, फटाफट डुंगा चढिन्।
डुंगा बिस्तारै पानीको धारको सहारामा अघि बढ्यो। डुंगा हल्लिएपछि माझी तर्सदै उठे। आँखा मिच्दैमिच्दै हेरे। देखे, आफ्नो सामुन्ने एउटी महिला हातमा डाँडी लिएर डुंगा खियाइरहेको। डराउँदै माझीले सोधे, ‘तिमी को हौ ? डुंगा कहाँ लान लागेको ? ’
रानीलाई हाँसो लाग्यो। डरको अन्तलाई साहस भन्छन्। रानी बोलिन्, ‘साँचो भनम् कि झुटो ? ’
माझी डराउँदै भने, ‘साँचो भन।’
रानी बोलिन्, ‘अच्छा, लौ सुन। म लाहोरकी रानी चन्द्र हुँ। म यहाँको गढीमा कैद थिएँ। आज भागेर जाँदैछु। मलाई छिटोभन्दा छिटो वनारस पुर्याइदेऊ। सरासर पुर्यायौ भने तिमी मालामाल हुन्छौ। दायाबाया गरे (हेर चक्कु) टाउको छिनालिदिन्छु। बिहान हुनुअघि बनारस पुग्नै पर्छ।’
धम्की कामयावी भयो। माझी विनम्र हुँदै आफूले ओढेको कम्बल रानीलाई बिछ्याइदिए। त्यसपछि किनारमा उभिएका रूख र आकाशमा जगमगाइरहेका तारासँग बाजी लाग्दै गंगामा डुंगा दौडाए।
२.
बिहानपख चुनार गढीमा सब ‘ट्वा’ परेका थिए। के भयो भनेर सबका सब मनमा खसखस थियो। पहरेदार र त्यहाँका कामदार शिर निहुराएर गढी प्रमुखसामु उभिएका थिए। खोजतलास जारी थियो। तर, कतै पत्ता लागेको थिएन।
उता, रानी बनारस त पुगिन्। तर, पहिले नै पुलिस र सेनाको जाल बिछाइएको थियो। सहरमा नाकाबन्द थियो। रानी भेट्नेलाई बहुमूल्य इनाम तोकिएको सूचना चारैतिर फैलिएको थियो।
रानीलाई अनुभूत भयो कि, खासमा बन्दी जीवनजस्तो थिएन। उनले भनेको मान्थे। गढी प्रमुखले पनि सम्मानपूर्वक हेर्थे। तर, आज स्वतन्त्र भएर पनि उनको ओठमुख सुकेका थिए। चारैतिर दुश्मनैदुश्मन देख्थिन्। पखेटाबिनाको चरीलाई त पिँजडाको एउटा कुनाको बास नै सुखद हो।
आउजाउ गर्ने बटुवालाई पुलिस ध्यानपूर्ववक हेर्थे। तर, ती भिखारिनीप्रति कसैको ध्यान थिएन। फाटेको सारी लगाएकी थिइन् र महिला यात्रुका पछिपछि विस्तारै शिर झुकाएर गंगासँग हिँड्दै थिइन्। उनको मनमा कसैको डरभर देखिँदैनथ्यो। कारण, भिखारिनी नशामा रानी रक्त थियो।
भिखारिनी भेषमा हिँडिरहेकी रानीले अयोध्याको बाटो समातिन्। त्यस दिनभर अप्ठेरो बाटोमा हिँड्दाहिँड्दै रात पर्यो। मुख पहेलिए। पैतलामा फोका उठे। फूलजस्तो जिउ मुर्झायो।
गाउँमा प्रायः लाहोरकी रानीको चर्चा सुन्थिन्। पुलिस पनि रानी-खोजमा लागिपरेका देखिन्थे। यी जम्मै देखेर, भिखारिनी हृदयमा सुतेकी रानी जाग्थिन्। तिनलाई घृणाले हेर्थिन्। शोक र क्रोधले आँखा जल्न थाल्थे।
एक दिन अयोध्यानजिकै पुगेर रानी एउटा रूखमुनि बसिरहेकी थिइन्। उनले कम्मरबाट चक्कु निकालेर राखिन्। यस्तो सोचिरहेकी थिइन्- कहाँ जाऊँ अब ? मेरो यात्राको अन्त्य कहाँ हुने हो ? के मेरो ठेगान छैन ?
बसेको ठाउँबाट केही पर ठूलो आँप बगैंचा थियो। त्यहाँ ठूलाठूला पाल टाँगिएका थिए। घोडा बाँधिएका थिए। पालेहरू वरपर गरेको देखिन्थे। रानीका शोकाकुल आँखाले राजषी ठाँट देखिन्।
साँझ पर्यो। त्यही रात काट्ने योजना बुनिन्। ठीक त्यसैबेला एकजना वृद्ध टहल्दै आए र नजिकै उभिए। दाह्रीवाल उनको कम्मरमा तरबार झुन्डिरहेको थियो।
सिपाहीले सोधे, ‘कहाँबाट आएकी हौ ? ’
‘धेरै टाढाबाट।’
‘कहाँ जाँदैछौ ? ’
‘यहाँ होइन। भन्न सक्छु कि, धेरै टाढा।’
सिपाहीले रानीलाई नियालेर हेर्दै भने, ‘तिम्रो चक्कु देखाऊ त।’
रानी उभिइन् र चर्को आवाज निकालिन्, ‘तिमी मित्र हो या शत्रु ? ’
‘मित्र।’
सिपाहीको कुराकानी र चालढाल यस्तो थियो कि, रानीले बाध्य भएर विश्वास गर्नुपर्यो।
बोलिन्, ‘विश्वासघात नगर्नू।’
चक्कु हातमा लिए। ओल्टाइपल्टाइ हेरे। रानी अगाडि विनीत भावले सिर निहुराउँदै भने, ‘महारानी चन्द्र।’
रानीले रुन्चे स्वरमा भनिन्, ‘होइन, अनाथ भिखारिनी हुँ। तिमी को हौ ? ’
सिपाहीले उत्तर दिए, ‘तपार्इंको एक सेवक !’
निराश भएर हेरिन् र रानीले भनिन्, ‘दुर्भाग्यबाहेक यो दुनियाँमा मेरो कोही पनि छैन।’
सिपाही: महारानी यस्तो नभन्नुस्। पञ्जाबी सिंह महारानीका एक वचनले पनि सयौं शिर झुक्न सक्छन्। अझै पनि तपाईंको नुन खाएका मान्छे जीवितै छन्। र, तिनले तपाईंलाई भुलेका छैनन्।
रानी: अब इच्छा छैन। म त केवल शान्त ठाउँ जान चाहन्छु जहाँ एउटा कुटीबाहेक केही नहोस्।
सिपाही: यस्तो ठाउँ त पहाडमा पाइन सक्छ, हिमालयको काखमा।
रानी (आश्चर्य मान्दै): शत्रुकहाँ जाम् ? नेपालमा कहिले हाम्रा मित्र थिए र ?
सिपाही: राणा जंगबहादुर दृढ प्रतिज्ञावाल राजपुत हुन्।
रानी: तर, उही जंगबहादुर त हो नि, जो भर्खरै हाम्राविरुद्ध लर्ड डलहौजीलाई सहयोग गर्न उद्यत थिए।
सिपाही (लज्जित भएर): त्यसैले त तपाईं महारानी चन्द्र आज भिखारिनी हुनुहुन्छ।
मान्छे त जलिरहेको आगो पानीले निभाउँछन् तर खरानी निधारमा लाउँछन्। विचार गर्नुस् है, नेपालमा अहिले नै धर्म लोप भइसकेको छैन। डरलाई त्याग्नुस् र जानुस्। हेर्नुस्, त्यहाँ तपाईंलाई आँखामै राख्नेछन्।
रात रानीले त्यही रूखमुनि काटिन्। सिपाही पनि त्यहीँ सुते। बिहानपख त्यहाँ दुईवटा खुबै दगुर्नेवाला घोडा देखिए। एउटामा सिपाही चढेका थिए भने दोस्रोमा एकदमै सुन्दर युवक।
केही समयपछि रानीले सोधिन्, ‘कसका सिपाही हुन् ? ’
सिपाही: जंगबहादुर राणाका। राणा तीर्थयात्रामा आएका थिए। तर, ती हामीभन्दा पहिले नै पुग्छन्।
रानी: तिमीेले किन भेट गराएनौं त ? तिनका हार्दिकता यही देखिन्थ्यो होला।
सिपाही: भेट असम्भव थियो। तपाईं जासुसको आँखाबाट बच्न मुस्किल थियो।
त्यसबेला यात्रा गर्नु त जिन्दगी दाउमा राख्नु थियो। डाँकुका पटकपटक सामना गर्नुपर्यो। रानीको युद्धकौशल, वीरता र फुर्ती देखेर बूढा सिपाही चकित भए।
यात्रा लामो थियो।
हिँड्दाहिँड्दै बर्खा लाग्यो। आकाश बादलले ढाकिन लाग्यो। सुतेका खोलानाला जुरुक्क उठेर हिँड्न थाले। खहरे गर्जन थाले। त्यसताका न नदीमा डुंगा न त खोलामा घाट। एकपटक त बिच्छी कछुवाको पिठ्यूमा बसेर नदी तर्दै थियो। रानीको यात्रा पनि त्योभन्दा कम भयानक थिएन।
धानखेत पानीले भरिएका थिए। रोपाल्नीले असारे गीतको तालमा धान रोप्दै थिए। छाता ओढी आलीमा बसेका जिम्दार कर्कश आवाजले रोपाल्नीका मनमोहक गीत बिथोल्थे।
यसरी अनेकन यात्राका कष्ट सहदै अनेक विचित्र दृश्य हेर्दै दुवै यात्री तराई काटेर नेपाल पसे।
३.
बिहानपख। राजा सुरेद्रविक्रम शाहको दरबार सजाइएको थियो। मन्त्री आआफ्ना स्थानमा बसेका थिए। नेपालले ठूलो लडाइँपछि तिब्बत जितेको थियो। सन्धिको सर्तमाथि विवाद थियो। कोहीको जोड राज्य विस्तारमा थियो भने कोहीको जोड कर उठाउन।
त्यहाँ त केवल जंगबहादुर राणा आउन मात्रै बाँकी थियो। राणा केही महिनाअघि देशाटन गएर रातिमात्र फर्केका थिए। र, उनको आगमनको प्रतीक्षा थियो। तिब्बतबारे प्रधानमन्त्रीको मुखबाट अन्तिम निर्णय सुन्न सब उत्सुक थिए।
राणा आएको जानकारी गराए। दरबारिया उनको सम्मानका लागि उभिए। राजालाई प्रणाम गरेपछि उनी आफ्नो आसनमा बसे। राजाले भने, ‘राणाजी तिमी सन्धी गर्न के प्रस्ताव गर्न चाहन्छौ ? ’
राणाले नरम भावमा भने, ‘मेरो अल्पबुद्धिअनुसार त यसबेला कठोर व्यवहार गर्नु अनुचित हो। हाम्रो त शोकाकुल शत्रुप्रति दयालु हुनु सधैंको उद्देश्य रह्यो। के स्वार्थमोहमा परेर यसबेला आफ्नो उद्देश्य भुल्छौं त ? हामी त यस्तो सन्धी चाहन्छौं कि, हाम्रो हृदय जोडोस्। तिब्बत दरबार व्यापारिक सुविधा दिन कटिबद्ध हुन्छ भने हामी त सन्धि गर्न सधैं उद्यत हुनुपर्छ।’
मन्त्रिपरिषद्मा एक मत भएन। तर, राजाले राणाको समर्थन जनाए। यद्यपि अधिकांश ‘शत्रुलाई नरम व्यवहार गर्न’ राजी थिएनन्।
राजाको विपक्षमा बोल्ने कसैको साहस थिएन।
जंगबहादुर: सभामा उपस्थित सज्जनवृन्द, आज नेपालको इतिहासमा नयाँ घटना हुनेवाला छ। यो हाम्रो परीक्षा पनि हो। सफलता र असफलता हामीमै निर्भर छ।
आज राजसभामा आउनेबित्तिकै यो पत्र हात पर्यो।
निवेदकले तुलसीदासको चार हरफ पनि लेखेका थिए:
आपत्काल परखिये चारी।
धीरज धर्म मित्र अरु नारी।।
महाराजले सोधे, ‘यो पत्र कसले पठायो ? ’
‘एक भिखारिनीले।’
‘भिखारिनी को हो ? ’
‘महारानी चन्द्र।’
करवीर खत्रीले आश्चर्य मान्दै सोधे, ‘हाम्रो मित्र अंग्रेज सरकारविरोधी भएकीले भागेकी हुन्। अंग्रेजसँग हाम्रो मित्रता छ। मित्रको शत्रुको सहयोग गर्नु मित्रता नीतिविरुद्ध हुन्छ।’
जनरल शमशेरबहादुर: अंग्रेज सरकारसँग हाम्रो सम्बन्ध टुट्ला कि भन्ने डर छ।
राजकुमार रणेन्द्रविक्रम सिंह: हामी यो मान्छौं कि, अतिथि सत्कार हाम्रो धर्म हो। तर, त्यसबेलासम्म मात्र हो, जुनबेलासम्म मित्रले हाम्रो मित्रतामा शंका नगरोस्।
विवाद चक्र्यो।
सबैले एकै स्वरमा भने, ‘रानी यस्तो समयमा नेपाल आउनु हाम्रो देशको लागि शुभ हुन सक्तैन।’
जंगबहादुर उठे। उनको अनुहार रातो भइसकेको थियो। र, रिस र क्रोध नियन्त्रण गर्न असफल भएका थिए। जंगबहादुरले भने, ‘मलाई कडा रूपमा प्रस्तुत हुन नदिनुस्। माफ गर्नुहोला, अब तपाईंहरूका कुरा सुन्ने शक्ति मसित छैन। यस्तो लज्जाजनक दृश्य म देख्न सक्दिनँ। दरबारमा अतिथि सत्कार निभाउन सक्ने यत्ति साहस पनि छैन ? यसको सबैखाले भार म आफैं बोक्छु। दरबारले यस विषयमा आफूलाई निर्दोष सम्झोस्। र, यसलाई सर्वसाधारण घोषणा गरिदेओस्।’
करवीर खत्री कड्केर भने, ‘केवल यो घोषणाले मात्र देशलाई भयमुक्त बनाउन सक्तैन।’
रिसाएपछि जंगबहादुरका ओठ फर्फराए। फेरि आफूलाई सम्हालेर भने, ‘आफ्नो शरणमा आएकाका हात समाउनु र रक्षा गर्नु राजपुतको धर्म हो। क्षेत्रीको धर्म हो। हाम्रा पूर्खाले यसको लागि आफ्नो प्राण दिनसमेत तत्पर रहे। हाम्रो आफ्नो धर्म छोड्नु लाजलाग्दो कुरा हो। अंग्रेज हाम्रो मित्र हो र यो खुसीको कुरा हो कि, बुद्धिमान मित्र हो। महारानी चन्द्रको नेपाल बसाइँ सफल नभए, न हामीलाई शंका गर्ने ठाउँ रहन्छ न त हामी लज्जित हुनुपर्ने अवस्था।’
करवीर खत्री: महारानी चन्द्र किन आएकी ?
जंगबहादुर: चिन्तामुक्त हुन शान्त ठाउँ खोज्दै आएकी हुन्। केवल एक शान्तिप्रिय स्थानको खोजमा। सुखसयल थियो, फूलैफूलको ओछ्यानमा चयनसाथ निदाउने। तर, उनले सबै त्यागेर हर कष्ट सहँदै शान्त ठाउँको खोजमा नदीनाला, पहाड जंगल पार गर्दै आएकी छन्। त्यो पनि खोलानाला उर्लेको याममा। यस्ता दुःख तपाईंहरूलाई थाहा छ ? हामी भने ‘उनको अभिलाषा पुरा गर्न सक्तैनौं’ भन्दैछौं। हृदय खोलेर स्वागत गर्नु उचित हुन्थ्यो। सोच्नुस् त, कति अभिमानको कुरा हो यो ? रानीले आपद्मा जुन देश सम्झिइन्, त्यो त हाम्रो पवित्र देश हो। महारानीलाई हामीप्रति पुरा भरोसा थियो। त्यही विश्वासले उनलाई यहाँसम्म डोर्यायो। पशुपतिनाथको शरणमा शान्ति मिल्ला भन्ने आशले आइन्। तपार्ईंहरूको अधिकार हो, उनको आशा पुरा गर्ने वा धुलोमा मिलाउने ? शरणमा आएकालाई रक्षा गरेर सदाचारको नियम निभाएर इतिहासको पानामा आफ्नो नाउँ दर्ज गर्ने वा पतीत हुने ? भन्नुस्, तपार्ईं आफ्नो जाति र देशको नाम उज्ज्वल गराउनु हुन्छ कि सधैंका लागि कलंकको टीका लगाउन ?
राजकुमारले उमंगसाथ भने, ‘हामी महारानीको चरणमा आँखा बिछ्याउँछौं।’
कप्तान विक्रमसिंह: हामी राजपुत हौं। आफ्नो धर्म निर्वाह गर्छौं।
जनरल वलवीरसिंह: हामी उनको यस्तो धुमधाम सत्कार गरौंला कि संसार नै चकित होस्।
जंगबहादुर: म आफ्नो मित्र करवीर खत्रीको मुखबाट फैसला सुन्न चाहन्छु।
खत्री जंगबहादुरविरोधी गुट प्रमुख थिए।
लज्जाले भरिएको शब्दमा करवीर बोले: यद्यपि मैले महारानी आगमनको भयरहित लाग्दैन। तर पनि यस अवसरमा हाम्रो धर्म यही हो कि, महारानीलाई आ श्रय दिऔं।
राजा सुरेन्द्रविक्रम शाह: म बधाई दिन्छु। पशुपतिनाथले यस उत्तम कामका लागि तिमीहरूको सहयोग गरुन्।
सभा सकियो। तोप पड्कन लागे।
सहरमा खबर फैलियो: पञ्जाबकी रानी चन्द्रको शुभागमन भएको छ।
जनरल रणवीरसिंह र जनरल रणधीरसिंह बहादुर सयौं सेनासाथ रानीलाई लिन गए।
पाहुनाघर बजारमा भएका सबै चिज प्रयोग गरेर चिरिच्याट्ट पारे।
यति सारो सम्मान कहीँ हुन्थ्यो होला त कसै भिखारिनीको सम्मान ? सेनाले ब्यान्ड बाजा बजाए। ध्वजापताका फहराइए। उर्लंदो नदीजस्तै लस्कर लाग्यो।
घोड सवार सेना कमान्डर अघिअघि थिए। सबभन्दा अघि थिए, जंगबहादुर। उदारताको एक पवित्र दृश्य थियो, त्यो।
जुलुस रोकियो। राणा हात्तीबाट ओर्ले। महारानी चन्द्र बाहिर निक्लिइन्। राणाले झुकेर अभिवादन गरे। रानी आश्चर्यचकित भएर हेर्न लागिन्।
उनका मित्र बूढा सिपाही थिए।
मुस्कुराएर फूलबाट शीतको थोपा झरे जसरी रानी बोलिन्, ‘डुंगाबाट पार गराउनेलाई के भनेर तिम्रो गुण गाऊँ ? ’
४.
राजसभाले २५ हजार रुपैयाँमा रानीको लागि एउटा भवन बनाइदियो भने मासिक १० हजार रुपैयाँको व्यवस्था।
भारतीय सरकार र नेपालबीच खिचातानी होला कि भन्ने आशंका थियो। तर, जंगबहादुरप्रति भारतमा शासन गरिरहेको ब्रिटिस शासक पूर्ण विश्वस्त थियो। शत्रुको भाव नदिने भनेर राजसभाले आश्वस्त पारेपछि फिरंगी शासक सन्तोष भयो। यस घटनालाई भारतीय इतिहासको अँधेरी रातमा जूनकीरी चमकभन्दा उचित हुन्छ।
नेपालीमा अनुवाद :नवीन विभास