त्यसपछि कर्मा नेपाल फिरे
तेस्रो विश्वका मानिस पचासौं लाख खर्च गरी समुद्र तरेर, जंगलैजंगल हिँडेर, ट्रकमा कोचिएर, मेक्सिकोको पर्खाल नाघेर अमेरिका पुग्छन्। अमेरिका पुग्नुलाई जीवनको सुन्दर सफलता ठान्छन्। कर्माले १८ वर्ष अमेरिकामा सानको जिन्दगी बाँचे तर किन त्यतै बसेनन् ?
‘किन फर्किनु पर्योन नेपाल ? यतै राम्रो छ नि १’ कर्मा तेन्जिङका साथीहरूले अढाई वर्षअघि उनलाई सोधेका थिए। सेयर कारोबार हुने अमेरिकाकै शक्तिशाली वित्तीय संस्था ‘वाल स्ट्रिट’मा उनी काम गरिरहेका थिए। त्यति मात्रै होइन, ‘फोर्डह्याम युनिभर्सिटी’बाट पीएचडी गर्दै थिए र ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा सहायक प्रोफेसरका रूपमा पढाइरहेका थिए। अमेरिकाको सानको जिन्दगी, सानको जागिर, सुखसयल र प्रतिष्ठाले छेकेन कर्माको जन्मभूमि फर्किने बाटो। सबै त्यागेर नेपाल फर्किए। अनि चलाउन थाले स्कुल। धाउन थाले वृद्धाश्रम र अनाथालय।
नेपालसहित तेस्रो विश्वका मानिस पचासौं लाख खर्च गरी समुद्र तरेर, जंगलैजंगल हिँडेर, ट्रकमा कोचिएर, मेक्सिकोको पर्खाल नाघेर अमेरिका पुग्छन्। अमेरिका पुग्नुलाई जीवनको सुन्दर सफलता ठान्छन्। तर, कर्माले १८ वर्ष अमेरिकामा सानको जिन्दगी बाँचे। तर, किन त्यतै बसेनन् ? किन उनले अमेरिकाको नागरिकता लिएनन् ? दुनियाँको सबैभन्दा शक्तिशाली देशमा कर्माको मन किन रमाएन रु कर्माको साथीभाइसँगै हलिउडका दुईजना फिल्म मेकरलाई यो प्रश्नले पछ्याइरह्यो। त्यसपछि फिल्ममेकर जुम्ल्याहा दाजुभाइ ब्रायन फ्लेन्ट र केभिन फ्लेन्टले डकुमेन्ट्री बनाउन कर्मालाई पछ्याउन थाले। डकुमेन्ट्री बन्यो ‘गुट कर्मा एन इमिग्रान्ट स्टोरी’। डकुमेन्ट्रीले ‘हलिउड नाउ फिल्म फेस्टिभल २०१८’ मा 'बेस्ट डकुमेन्ट्री' लगायत सातवटा अवार्ड जित्यो। उनै कर्मा काठमाडौंस्थित नागपोखरीको उत्तरी छेउमा आफैंले खोलेको ‘कर्मा मम रेस्टुरेन्ट’मा मुस्कुराइरहेका थिए। अग्लो कदका हँसिला कर्माले सुनाए, जीवनका बांगाटिंगा गोरेटोहरू।
दार्जिलिङदेखि अमेरिकासम्म
कर्माको पुख्र्यौली थलो मनाङ हो। उनका हजुरबुवा जडीबुटीको व्यापार गर्दै कलकत्ता, बर्मा, थाइल्यान्ड, बु्रनाईसम्म पुग्थे। सन् १९५० मा ब्रुनाईमै बिते कर्माका हजुरबुवा। त्यसपछि व्यापार गर्ने पालो आयो उनको बुवाको। हजुरबुवाको निधनपछि कर्माका बुवा तेन्जिङ गुरुङ र आमा यांगी डोल्माले अभावका दिनहरू बिताए। मनाङमा रहेको घरमा गरिबीले घेरा हाल्यो। कर्माका निरक्षर आमाबुवाले एक छाक खान पनि धौधौ हुने अवस्था बेहोरे। भन्छन्, ‘बुवाआमाले एकदमै दु:खमा दिनहरू बिताउनुभयो रे। मासु खान चाड नै पर्खिनुपर्ने अवस्था थियो रे।’
कर्माका बुवा हिमाली जडीबुटी र नेपाली कपडा लिएर व्यापार गर्दै कलकत्तादेखि बर्मासम्म पुगे। व्यापार गर्दागर्दै उनका बुवाले २०१६ सालमा काठमाडौंको छेत्रपाटीमा घर बनाए। त्यहीँ सुरु गरे गृहस्थी। निरक्षर कर्माका बुवाले मनाङका बालबालिकालाई पढाउन २०४२ सालमा राजधानीमा काठमाडौं भ्याली स्कुल खोले। २०३५ सालमा जन्मिएका कर्मा चार वर्षको उमेरमा दार्जिलिङको सेन्ट पल बोर्डिङ स्कुलमा पढ्न गए। उतै बित्यो बाल्यकाल। कक्षा २ देखि १० सम्म त्यहीँ पढे। ११ र १२ कक्षा भारतको सिम्लामा पढे।
०००
कर्मा सन् १९९८ मा उच्च शिक्षा पढ्न अमेरिका गए। अमेरिकाको ‘न्युयोर्क युनिभर्सिटी’बाट ब्याचलर पास गरे। त्यसपछि ‘फोर्डह्याम युनिभर्टिसी’बाट अर्थशास्त्रमा पीएचडी गर्न थाले। (ब्याचलरपछि सीधै पीएचडी पढ्न पाउने व्यवस्था छ।) कर्माले पीएचडीका लागि एबीडी तह पढ्दापढ्दै संसारकै सबैभन्दा ठूलो सेयर कारोबार हुने अमेरिकी वित्तीय संस्था ‘वाल स्ट्रिट’मा काम गर्ने अवसर पाए। वाल स्ट्रिटअन्तर्गत इन्भेस्टमेन्ट बैंकिङ कम्पनी ‘लिमन ब्रदर्स’ र ‘मोर्गन स्ट्यान्ल्सी’मा २००२ देखि २०१६ सम्म काम गरे। संसारकै सबैभन्दा ठूलो स्टक मार्केटमा उनले १४ वर्ष बिताए। कफी पिउँदै कर्मा भन्छन्, ‘त्यहाँ काम गरिरहँदा नेपाल फर्कन्छु भन्ने लागेकै थिएन।’
कर्मा अमेरिकाकै ‘एडभान्स मार्केट’ नामक संस्थाको डाइरेक्टर पनि भए। सन् २०१३ देखि २०१७ सम्म ‘मेट्रोपोलिटन कलेज अफ न्युयोर्क’मा बीबीए र एमबीए तहका विद्यार्थीलाई पढाए। उनी इकोनोमिक्सका सहायक प्रोफेसर थिए। कलेज पढाउँदाका दिन कर्माको आँखामा ताजै छ। ती दिन सम्झिँदै उनी भन्छन्, ‘कोर्स सकिएपछि ‘फिडब्याक फर्म’मा मेरो सबैभन्दा राम्रो नम्बर आउँथ्यो।’ कर्मा हाँस्छन्। टोलाउँदै भन्छन्, ‘एकजना विद्यार्थीले चाहिँ ‘विस्तारै बोल्नुस्’ भनेर लेखेको थियो।’
त्यो घुम्ती
महँगो कारमा कलेज÷अफिस जानु, गोरा ९थोरै काला० विद्यार्थीलाई पढाउनु, अपराह्न समुद्रको तटमा टहलिनु, साँझपख सानदार कफी सपको कुनै कुनामा साथीसँग गफिनु अनि राति झलमल्ल बलेको सडक पार गर्दै कोठामा फर्किनु कर्माको दैनिकी बनिरहेको थियो। यसरी नै दैनिकी बितिरहेको एक दिन ‘द गार्जियन’ पत्रिकामा विश्वकप २०२२ खेल्न रंगशाला बनाइरहेका नेपाली कामदारले कतारमा भोगिरहेको दु:खबारे समाचार पढे। त्यहाँ कैयन् नेपाली कामदारको मृत्युसमेत हुने गरेको समाचार पढेपछि कर्मा झस्किए। त्यो झस्काइले कर्माको जीवन नै मोडिदियो। त्यसपछि सुरु भयो कर्माको अर्को बाटो।
प्रवासमा रहेका आफूजस्तै नेपालीले अरबको तातो मरुभूमिमा पाइरहेको दु:खले कर्माको चैन हरायो। परदेसिएका युवा दिनहुँ मरिरहेको खबरले कर्मालाई विक्षिप्त बनायो। विस्मृतिमा हराउँदै गएको बाल्यकाल अनि गरिबीको भुमरीमा फसिरहेको जन्मभूमि सम्झे। बुवाको औंला समाउँदै मनाङको चिसो लेकमा हिँडेको सम्झे। कलेजमा लेक्चर दिइरहँदा दिमागमा भने कतारको घटना आइरहन्थ्यो। कोठा, अफिस, क्यान्टिन जहाँ गए पनि नेपाली कामदारले भोगेको नारकीय कथाले कर्मालाई झस्काउन छाडेन। भन्छन्, ‘त्यो घटनाले धेरै दिनसम्म झस्काइरह्यो।’ पत्रिकाको समाचार लगेर साथीहरूलाई देखाए। साथीहरू दु:खी भए। सहानुभूति देखाए। तर, के गर्ने रु केही मेसो थिएन। भन्छन्, ‘नेपाली कामदारका लागि केही गर्नुपर्छ भन्ने लागिरह्यो। तर, के गर्ने केही थाहा थिएन।’
प्लेकार्ड बोकी न्युयोर्क सहरमा
कर्माको दिमागमा उपाय फुर्योर। त्यो उपाय थियो( कतारका नेपाली कामदारको पक्षमा प्लेकार्ड बनाई विरोध प्रदर्शन गर्ने। प्लेकार्डमा लेखे, ‘इन्ड वर्कर स्लेभरी इन कतार’, ‘इन्ड ह्युमन एक्स्प्लोइटेसन इन कतार।’ दुई सय नेपाली जम्मा गरे। सन् २०१३ अक्टोबरमा न्युयोर्क सहरमा जुलुस निकाले। न्युयोर्क टाइम्सको अफिसदेखि संयुक्त राष्ट्रसंघको अफिस हुँदै अमेरिकास्थित कतारको दूतावाससम्म र्यालली निकाले। हस्ताक्षर संकलन पनि गरे। ३७ हजार मानिसले उनको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरे। फेसबुकमा लाखौंले फोटो सेयर गरे। स्थानीय पत्रपत्रिकाले र्या्लीको समाचार छापे। उनीहरूको र्या।ली अमेरिकामा मात्रै सीमित रहेछ। नेपाली कामदारको पक्षमा लन्डन र अस्ट्रेलियामा पनि र्या ली निकालियो।
त्यसपछि कर्माले कतारको जेलमा रहेका नेपाली कामदारको पक्षमा पनि अभियान चलाए। सन् २०१५ मा भूकम्प भयो। त्यसपछि भूकम्पपीडितलाई सहयोग गर्न थाले। भन्छन्, ‘नेपालमा १० हजार किलो खाद्यान्न र औषधि पठाएँ। कति सामान एअरपोर्टमै रोकियो।’ पैसा उठाउँदै एनजीओहरूलाई पठाए। वाल स्ट्रिटमा काम गर्दै सामाजिक काममा व्यस्त हुन थाले। त्यही बेला उनका बुवाले स्कुल बेच्ने कुरा गरे। नेपालमा ७० टेकेका आमाबुवा मात्रै छन्। अब कर्माको अगाडि प्रश्नचिह्न खडा भयो। अमेरिकामै बस्ने कि नेपाल फर्किने ?
एकातिर सामाजिक काममा संलग्नता बढ्नु, अर्कोतर्फ बुवाले स्कुल बेच्न खोज्नु( दुवै घटनाले कर्मालाई गम्भीर बनायो। सुखसयल र सानको अमेरिकी जीवन रोज्ने कि आमाबुवाको साथमा रहेर स्कुल चलाउँदै सामाजिक काम गर्ने रु उनी दोधारमा परे। अन्तत: अमेरिका छाड्ने निधो गरे। कर्मा भन्छन्, ‘नेपाल फर्किन लागेको खबर साथीहरूलाई सुनाएँ। उनीहरू छक्क पर्दै गाली गर्न थाले।’
कर्मा नेपाल फर्किए। बुवाले बेच्न लागेको स्कुलको प्रिन्सिपल बने। भग्न स्कुल पुनर्निर्माण गरी चिटिक्क पारे। चार सय विद्यार्थीले भरिएको स्कुलमा तीन सय जनालाई छात्रवृत्तिमै पढाउन थाले। भन्छन्, ‘दुई वर्षमा साढे दुई करोडको स्कलरसिप दिएको छु।’ वालस्ट्रिटमा राजीनामा दिए। तर, कलेजले राजीनामा स्वीकृत गरेन। २०१७ सम्म एमबीएलाई अनलाइनमै पढाइरहे। हाँस्दै सुनाउँछन्, ‘अहिले त्यो पनि छाडेँ।’
स्कुलसँगै सहकारी खोले। न्युज मिडिया कम्पनी खोले। रेस्टुरेन्ट खोले। उनले डाँडागाउँ माउन्टेन चिल्ड्रेन्स होममा खाना, पोशाक र पुस्तकको व्यवस्था गर्छन्। वृद्धाश्रममा खानाको व्यवस्था गर्छन् उनी। दुर्गमको अस्पतालमा औषधि पठाइरहन्छन्। अनाथलाई सहयोग गर्छन्।
कर्मा अमेरिका हुँदा ‘केटीएम इन्टरटेनमेन्ट’ नामक संस्था खोलेका थिए। त्यही संस्थाको ब्यानरबाट नेपाली कलाकारलाई अमेरिका लगेर प्रोगाम गर्छन् उनी। त्यो कार्यक्रमको नाफा रकम अनाथ बच्चाहरूलाई सहयोग गर्ने गरेको उनी बताउँछन्। भन्छन्, ‘ठमेलका अनाथ बच्चाहरूलाई सहयोग गरिरहेका छौं।’
टीयूले दु:खी बनायो
कर्माको पीएचडी सकिएको छैन। उनी नेपालबाटै पीएचडी पूरा गर्न चाहन्थे। त्यही योजना बनाई उनी त्रिभुवन विश्वविद्यालय पुगे। तर, त्रिविले उनको कुरै सुनेन। फेरि मास्टर्सदेखि नै सुरु गर्नुपर्छ भन्दै फर्काइदियो। निराश हुँदै भन्छन्, ‘अमेरिकाको टप कलेजबाट राम्रो मार्क ल्याएको छु। मेरो प्रमाणपत्रलाई टीयूले मान्यता नदिएको देख्दा मलाई एकदमै दु:ख लाग्यो।’ दक्ष जनशक्ति नेपाल फर्किएकोमा खुसी होइन, उल्टै दु:ख दिएको उनको भनाइ छ। भन्छन्, ‘बाटो देखाउनु त कहाँ हो कहाँ, उल्टै निराश बनायो। अब अमेरिकाबाटै पीएचडी गर्छु।’
कर्मालाई नेपालको कर्मचारीतन्त्रदेखि एकदमै दु:ख लाग्छ। ‘वर्क इथिक छैन नेपालमा’, उनी प्रश्न गर्छन्, ‘सरकारलाई पैसा पनि तिर्नुपर्ने, उल्टै दु:ख पनि भोग्नुपर्ने रु यहाँ ब्युरोक्रेसीमा चिनजान नहुनेलाई गाह्रो छ।’ विदेशमा अनुभव र उच्चशिक्षा लिएका दक्ष जनशक्ति नेपाल फर्किने हो भने चाँडै देशले मुहार फेर्ने उनको भनाइ छ। भन्छन्, ‘हामीले कोसिस गर्यौंन भने असम्भव केही छैन।
०००
अचेल कर्माको दैनिकी फेरिएको छ। अमेरिकाको चिल्लो सडकमा हिँड्ने उनी अहिले काठमाडौंको खाल्डाखुल्डी, धुलो, धुवाँ र जाम छिचोल्दै हिँडिरहेका छन्। स्कुल, वृद्धा श्रम, अनाथालय, सहकारी अनि रेस्टुरेन्टहरूमा उनको दैनिकी बितिरहेको छ। नेपाली हावापानीसँग अभ्यस्त हुँदैछन् कर्मा। हन्डर, ठक्कर खाँदैछन् तर खुसी छन्। उनीभन्दा खुसी छन् वृद्ध बुवाआमा।
एक हजार विद्यार्थीलाई स्कलरसिपमा पढाउने, वृद्धा श्रम र अनाथालयलाई निरन्तर सहयोग गर्ने कर्माको योजना छ। अहिले कर्माको काम देखेर उनका साथीहरूले भनिरहेका छन्, ‘तिम्रो काम देखेर हामीलाई पनि नेपाल आउन मन लाग्यो।’