सुनसान सम घर
दिनदिनै साँघुरिँदै गएको काठमाडौंमा अलिकति चाक्लो, अलिकति फराकिलो जमिन देख्न पाउनु दुर्लभ हुन्छ। ज्ञानेश्वरको उकालो कटेर कमलपोखरी चोकतिर बढेपछि सडकको दायाँतर्पm करिब ६ रोपनी जग्गामा फैलिएको कम्पाउन्ड छ। त्यो घेराभित्रको एउटा भवन अमेरिकन फुलब्राइट सेन्टरले भाडामा लिएको छ। कुनै बेला त्यहाँ फोटो स्टुडियो हुने गथ्र्यो। त्यही स्टुडियोका फोटोग्राफरले खिचेका थिए- २००७ सालमा ज्ञानेन्द्रको पहिलो राज्याभिषेक हुँदै गरेको फोटो।
तत्कालीन राजा त्रिभुवन राणाशाहीको विरोध गर्दै (एकथरीको मतमा राणातन्त्रबाट भयभीत हुँदै) भारत प्रस्थान गरेपछि मोहनशमशेरले दरबारमा छुटेका त्रिभुवनका नाति ज्ञानेन्द्रलाई राजा बनाएका थिए। साहित्यकार तथा अध्येता जनकलाल शर्माका अनुसार ती फोटोग्राफर सैनिक पोसाकमा ठाँटिएका थिए।
त्यो स्टुडियोबाटै नेपालको फोटोग्राफी सुरु भएको मानिन्छ। ती सैनिक पोसाकमा ठाँटिएका फोटोग्राफरलाई नेपालको पहिलो फोटोग्राफर मानिन्छ। त्यति बेला श्यामश्वेत फोटो खिचिन्थ्यिो। फोटोमा पछि फोटोग्राफरले व्यक्तिको परिधानअनुसार रङ भर्थे। उनको ग्यालरीमा अहिले पनि रंगीन तस्बिरहरू भेटिन्छन्। ती रङका पछाडि त्यही कलाकारिताले काम गरेको छ।
अचेल त्योे स्टुडियो छैन। स्टुडियो भवन विदेशी संस्थाले प्रयोग गरिरहेको छ। ती फोटोग्राफर पनि आफ्ना फोटोजस्तै इतिहास भइसकेका छन्। स्टुडियो भवनको छेवैमा छ एउटा घर, इतिहास बोकेर बाँचिरहेको। घरको कलाकृति, बनोट, विन्यास र सौन्दर्यले भनिरहेका छन्- यही हो नाटककार बालकृष्ण सम (विसं १९५९ माघ २४-२०३८ साउन ६) को घर। यहाँ उनले प्रयोग गरेका सामान, उनले गरेका पेन्टिङ जीवितै छन्। साक्ष्य छन्, ती सबै सामग्री ज-जसलाई समले स्पर्श गरे, अनि भोगचलन गरे।
माघको जाडोको कुनै दिन म बालकृष्ण समको ज्ञानेश्वर निवास पुगेको थिएँ। धेरै कवि, साहित्य साधक, कलाकारले सम-घर दर्शनका संस्मरण बुनेको पढेको थिएँ। थुप्रै ‘टेक्स्ट’मा यस घरको वर्णन पाएपछि मलाई पनि त्यहाँ पुग्ने तीव्र उत्सुकता थियो।
समको घर नेपाली राणाजीहरूको सम्भ्रान्तपना र सम स्वयंको कलाचेतनाको संयोजनका रूपमा चिनिन्थ्यो उबेला पनि। र, अहिले पनि यस घर पुग्नुलाई कति रंगकर्मी कलाधाम पुगेकै अनुभूत गर्छन्। त्यो विरासतसहितको अवशेष हेर्ने योजनामा मैले यस घरमा केही घण्टा बिताएको छु।
केहीले नेपाली सेक्सपियर मानेका र धेरैले नाट्यसम्राट् भनेर सम्मान गरेका नाटककार, कवि, कथाकार, निबन्धकार, अभिनेता, चित्रकार, फोटोग्राफर अनि सेनाका कर्नेल बालकृष्ण समको नेपाली साहित्य जगत्मा अद्भुत आभा छ। आफ्नो विशिष्ट खालको दौरा र सुरुवालमा सडकमा रिक्सा चढेर घुम्ने तेजिलो अनुहारका यी राणा खानदानका अभिजात अन्य ‘समकुलीन’का तुलनामा अत्यन्त विद्याव्यसनी भए। यसै गुणले उनलाई अन्य राणाभन्दा विशिष्ट बनाइदियो।
थुप्रै कलाविधाका स्रष्टा बालकृष्ण सम बितेको पनि करिब सैंतीस वर्ष भयो। मैले उनलाई पुस्तकहरूमा मात्र पढेको थिएँ। सायद म उनको पनाति पुस्ताको हुँ। मैले उनलाई देख्ने सम्भावना नै कहाँ थियो र ! उनको स्मृतिलाई पुस्तक र चित्रकलाबाहेक अन्यत्र कहाँबाट जीवित तुल्याउन सकिन्थ्यो ? त्यसैले म उनका अवशेषहरूको खोजमा निस्केको हुँ, जहाँबाट फर्कंदा म एक प्रकारको व्यग्रता र उद्वेलनले भरिएको थिएँ।
प्रवेशद्वारमा प्वाल पारेर बनाइएका कलात्मक दुई ठूला आँखा आज पनि छन्। सायद सम ती आँखामार्फत आगन्तुकलाई भित्रैबाट चियाउँथे। ती जोर आँखा कति जीवन्त छन् भने आज पनि तिनले दुनियाँ नियालिरहेजस्तो लाग्छ। ती आँखाले स्वयम्भूका दुई आँखाको झलक दिन्छन्, ‘न्याय-अन्याय’।
राणाकालीन सामन्ती व्यवस्थाकै उपज थिए, सम। नामै थियो, बालकृष्ण शमशेर जंगबहादुर राणा। तर, उनले बिस्तारै भिन्न जीवन बाँच्ने अठोट गरे। २००७ सालको प्रजातन्त्र आगमनसँगै उनले आफ्नो नाम सम्पादन गरे- बालकृष्ण सम। समानता र समताप्रतिको उनको आकांक्षाको प्रतिविम्बन थियो, सम। (यद्यपि, बुट पालिस आन्दोलनका अभियन्ताहरूका अनुसार न्युरोड-पीपलबोटमा तीनपांग्रे रिक्साबाट ओर्लेर उनले साहित्यकारका हातबाट ठाँटसहित जुत्ता पालिस गराए र उस्तै रवाफसहित १० रुपैयाँको नोट दिएर हिँडे। यी र यस्ता विरोधाभासहरू समको जिन्दगीमा टन्नै थिए।)
भव्यताको पर्यायवाची घर
राणा खलकका बालकृष्ण शमशेर जबरालाई नाटककार बालकृष्ण सम बनाउन उनको हुर्काइ र घरको ठूलो भूमिका छ। उनको घर, घर कम नाचघर बढी थियो। त्यही नाचघरले उनलाई बाल्यकालदेखि साहित्य र कलाको अफिमची बसाइदियो। त्यसैले त सम आफ्नो घरलाई नाचघर ठान्थे।
आत्मवृत्तान्त ‘मेरो कविताको आराधन’मा उनले लेखेका छन्, ‘मेरा बाजे डम्बरशमशेरको... जीवनभर नेपालको शासक बन्न नपाएको क्षुब्ध मनोमालिन्यलाई सुन्दरी, सुरा र संगीतको रसरंगमा डुबाएर मार्ने प्रयास थियो। यसकारणले हाम्रो घर वास्तवमा नाचघर थियो।’
उनी यसलाई राजप्रासादपछिको अब्बल घर भन्ठान्थे। ‘हाम्रो घर राजप्रासादलाई छोडेर काठमाडौंमा कुनै गणनाले दस-बाह्रमध्येको कुनै दृष्टिकोणबाट तीन चारमध्येको थियो। त्यसभित्र भएजस्तै देशभरमा हुँदो हो तथा त्यो आफ्नै हुँदो हो त नेपाललाई युरोपका ठूलो राष्ट्रसित दाँजे पनि हुन्थ्यो’, लेखेका छन्, ‘त्यो वैभव सब नक्कली थियो। हाम्रो घरमा विशाल बैठकहरू थिए। ती हिउँका टुक्राजस्ता स्फटिकका झाडफानस फूलदान ऐना सुनौला चित्र चौकोसमा जडिएका ठूला तस्बिरहरू, ढुंगाका टेबिल, बुट्टे गलैंचा र साटन मखमलका मेच कौचहरूले सजिसजाउ थिए। तर, ती सब आफ्ना कलावस्तुलाई मारेर तिनका लासमाथि जलाइएका क्षणिक चिराग थिए।’
सम निवास पुग्ने कलापारखीहरू उनको घरको भव्यता देखेर अवाक् हुन्थे। सन् १९५३ मा राहुल सांकृत्यायनलाई समसित चिनापर्ची गराउन लगेका लेखक जनकलाल शर्माले उनको घरबारे लेखेका छन्, ‘ढोकाको दायाँबाँया पुस्तकाकार दुइटा स्तम्भ (खम्बा) थिए। राम्रोसँग जिल्द हालिएको पुस्तकजस्तै देखिने त्यस ढोकाको खम्बामा अर्थात् पृष्ठभागमा अत्यन्तै सुन्दर छाँटले भर्तृहरि श्लोक ‘तपो न तप्तं, वयमेव तप्ताः÷कालो न यातो वयमेव याताः÷भोगा न भुक्ता वयमेव भुक्ता÷तृष्णा न जीर्णा वयमेव जीर्णाः’ उल्लेख गरिएको थियो।
जसको अर्थ हुन्छ, तप तपिँदैन हामी स्वयं तपिन्छौं, काल व्यतीत हुँदैन हामी स्वयं बित्तछौं, भोग भोगिँदैन हामी स्वयं भोगिन्छौं। तृष्णा बूढो हुँदैन हामी नै बूढा हुन्छौं। यी दुई द्वार पार गरेपछि ढुंगा छापेको सुन्दर बाटो आउँथ्यो। चिटिक्क परेको बगैंचाको बीचबाट जान्थ्यो त्यो। बैठककोठाको भित्री द्वारमा पुगेर टुंगिन्थ्यो ढुंगे बाटो। स्वागतकक्षको द्वारको मास्तिर एउटा धेरै ठूलो फ्रेम जडिएको, काठको कलात्मक पट्ट थियो। त्यस पट्टमा सुन्दर अक्षरले लेखिएको थियो, यो कुनै बास हो मेरो नित्य जीवनमार्गको÷तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि।’
शर्माको यो बयानमा नाट्यकर्मी प्रचण्ड मल्लको बयान पनि थप्न सकिन्छ। २००९ सालमा समघर पुगेका मल्लले पंक्तिकारसँग आफ्नो स्मृति बाँड्दै भने, ‘घरको पोखरीमा सेता, रंगीन माछा पालिन्थ्यो। थुप्रै चरा पालिएका थिए। नाचगान, नाटक जुनै बेला चलिरहन्थ्यो। घरभरि थुप्रै सुसारे थिए। फ्रान्सको दरबार सिँगारिएको शैलीमा यो घर र ती कोठाहरू निर्माण गरिएका हुन्।’
मल्लजस्तै नाटककार तथा समालोचक अभि सुवेदी पनि सम निवासको भव्यताले चकित परेका थिए। २०२० सालमा त्यहाँ पुगेका उनको मस्तिष्कमा अहिले पनि बैठककोठाको सुन्दरता र भव्यता उस्तै ताजा छ। सुवेदी स्मरण गर्छन्, ‘चित्र, मूर्ति अनि किताब र काठहरूले सजाइएको त्यो सानो संसार थियो। मैले त्यस्तो परिवेश त्यसअघि कहिल्यै देखेको थिइनँ। एउटा ठूलो क्यानभासमा समजी काम गर्दै थिए। समजीले मूर्तिहरू देखाए। काठमा कँदेका नेवार झ्यालहरू देखाए। अनि आफू चीन, रुस र अरू मुलुकमा जाँदा पाएका मूर्ति र उपहार देखाए। मलाई लाग्यो, मैले त्यो बिहान जिन्दगीभरिको एकमुष्ट शिक्षा पाएँ। त्यस्तो भव्यतासँग त्यसरी साक्षात्कार हुनु मेरो जीवनकै दुर्लभ क्षण थियो।’
त्यस्तै दुर्लभ क्षण २००७ सालमै अनुभूत गरेका थिए, नेपालका पुराना आर्किटेक्चरल इन्जिनियर तथा कलाकार शंकरनाथ रिमालले। उनी सम्झन्छन्, ‘समको घरको दक्षिणपश्चिमपट्टि भित्रबाट छिर्दा सानो बगैंचा थियो। थोरै फूल थिए। सानो बाटो थियो। अनेक देवीदेवताका प्राचीन मूर्ति थिए। ती मूर्ति कतैबाट जम्मा गरिएको थियो। आफ्नो कोठाको फर्निचर-डेस्क पनि उहाँ आफैंले डिजाइन गर्नुभएको थियो। झ्याल र ढोकामा गरुडका मूर्ति थिए। दक्षिणपट्टिको झ्यालबाट देखिन्थ्यो- जापानिज टाइपको बगंैचा। बगैंचामा केही सिम्बोल थिए- स्क्वायर, सर्कल, ट्र्यांगल, रेक्ट्यांगलका।’
उता, गीतकार कालीप्रसाद रिजाल पनि समघरको बैठककोठाको भव्यता कहिल्यै बिर्संदैनन्। उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘बैठककोठा अवर्णनीय थियो- कलाकृति र विभिन्न आकर्षक वस्तुहरूले सिँगारिएको। त्यहाँको रौनक देखेर म त विस्मित भएँ। तराईवासी मैले मेरो जीवनमा त्यस्तो भव्य बैठककोठा देखेको थिइनँ।’
समको घर घुमेपछि नयाँ पुस्ताका प्रसिद्ध रंगकर्मी घिमिरे युवराज भने चिन्तित भएका छन्। उनको चिन्ताको कारण हो- देशको ‘शान’ बन्न सक्ने यही घर धेरैका निम्ति ‘बेखबर’ बन्दै गएको छ। युवराज भन्छन्, ‘समका धेरै सिर्जना अब सुरक्षित छैनन्। समका पनाति जीवनशमशेर बितेको एक वर्ष नाघ्यो। जीवन भन्थे- केही फिल्मकर्मीले सुटिङका लागि भनेर समका नाटकका लुगा, गरगहना, जुत्ता लिएर गए तर फिर्ता गरेनन्। यसैगरी समका ऐतिहासिक तस्बिर वा पाण्डुलिपि पनि हराएका छन्।’ अचेल समका नातिनी बुहारी र पनातिहरू त्यस घरको संरक्षण गर्छन्। पनाति आयुषशमशेरले घरको रेखदेख गरिरहेका छन्।
सम्पत्ति नहुनेलाई लाग्न सक्छ, प्रशस्त सम्पत्ति भए म कति भाग्यमानी हुँदो हुँ ? वैभवशाली जिन्दगी बाँचेका समले बुझेका थिए- आपूmलाई बचाइराख्ने मूख्य कुरा हुन्, साधना र परि श्रम। वैभव र शान अनि शौकत त तपसिलका कुरा हुन्।
महँगा र बिरलाकोटी घरायसी सामग्री र जन्मैदेखि भोगिआएको वैभवदेखि सायद सन्तुष्ट थिएनन् सम। आफ्नै कलाकृतिसिवाय उनलाई अन्य चिजसँग त्यतिसारो मोह थिएन सायद। उनलाई राणा खानदानको चर्को रवाफ सायद सह्य थिएन। उनलाई ‘शेर’ होइन ‘सम’ भएर बाँच्नु थियो। घरभित्रको वातावरणमा उनका निम्ति त्यसरी बाँच्न सायद सम्भव थिएन।
समको सौन्दर्यप्रेम चित्रकला र उनका अन्य सिर्जनामा त हुने नै भए, उनी स्वयं पनि सुन्दर हुन चाहन्थे। बाहिरी सुन्दरतालाई अत्यन्त महत्व दिन्थे। ‘जनकलाल शर्माको संस्मरण’ किताबका अनुसार सम ऐनाअगाडि निकै समय खर्चिन्थे। उनी मेकअप नगरी बाहिरफेर निक्लँदैनथे। शर्माका अनुसार कुनै बेला काठमाडौं सहरमा समको मेकअपबारे भन्ने गरिन्थ्यो, ‘समको घरमा जति क्रिम-पाउडर प्रयोग गरिन्छ, त्यति त जनताको घरमा पिठो पनि हुँदैन।’ अरूभन्दा भिन्न हुने र देखिने समको स्वभाव थियो। शर्माले सम तीनपांग्रे साइकल चढेर सहर घुम्ने प्रसंग उल्लेख गरेका छन्।
अरूभन्दा भिन्न देखिने समको घर पनि अरूका घरभन्दा भिन्न हुने नै भयो। उनका ‘म्याग्नम अपस’ मानिने ‘प्रेमपिण्ड’, ‘चिसो चुह्लोे’, ‘नियमित आकस्मिकता’जस्ता रचनाको परिवेश र तिनको रचनागर्भको पाश्र्वकथामा उनकै घर अभिन्न रूपमा जोडिन्छ। नाटकका सेटिङमा होस् वा नायक-खलनायकको पात्र-विधानमा समका रचना समघरकै प्रतिविम्ब भएको समीक्षकहरूले लेख्ने गरेका छन्।
ध्रुवजस्ता सम
समघरमा भएका चित्र र मूर्तिले उनको विचारधारा र विश्वास पनि बोल्छन्। सम विष्णुभक्त थिए भन्ने बैठककोठामा तस्बिरको फ्रेममा राखिएका गरुडका मूर्तिहरूले बुझाउने प्रचण्ड मल्ल बताउँछन्। यसको साक्ष्य समकृत नाट्यकृति ‘ध्रुव’ (१९८६) र ‘प्रह्लाद’ (१९९५) पनि हुन्। ‘धु्रव’ श्रीमद्भागवत महापुराण (चौथो स्कन्ध, ८-१२औं अध्याय) र विष्णुपुराण (१२ र १३औं अध्याय) मा वर्णित ध्रुवको कथाबाट लिइएको हो। प्रह्लाद श्रीमद्भागवत महापुराणको सप्तम् स्कन्धको अध्याय १ देखि १० सम्म वर्णित विष्णुभक्त बालक प्रह्लादको उपाख्यान हो। सम स्वयं ध्रुव र प्रह्लाद हुन्। यसमा उनको बालमनोविज्ञानमा परेको प्रभावले भूमिका खेलेको छ।
समका दाजु पुष्करशमशेर जन्मजात शिशुपक्षघातले पीडित थिए। यसर्थ उनी सबैका प्रिय थिए। दाइका तुलनामा हृष्ठपुष्ट समले भने परिवारबाट दाइले जति माया पाएनन्। बाल्यकालमा उनले तीतो भोगे। उनीसँग स्वास्थ्य थियो र पनि भित्रभित्र दाइप्रति दरबारभित्र देखाइएको स्नेहको ईष्र्या थियो। समले लेखेका छन्, ‘संसारमा सबभन्दा ठूलो कुरो स्वास्थ्य पाएर पनि म दुःखी थिएँ।
बिरामी दाज्यूको कोठामा भुइँभर, दराजभर र दलिनभर रंगीविरंगी झिलिमिली खेलौनाहरू झुन्डिरहेका चलिरहेका घुमिरहेका नाचिरहेका उफ्रिरहेका दगुरिरहेका र बजिरहेका देख्दा म एक्लै आफ्नो कोठामा दुईचारवटा पुतलीलाई च्यापी काखमा राखी विष्णुको तस्बिरमन्तिर हात जोडी प्रार्थना गर्थें- हे ईश्वर, म पनि रोगी होऊँ, प्यार पाऊँ, धेरै खेल्ने कुरा पाऊँ। ...ध्रुव-लीला’ घटाएर चित्त बुझाउन आनन्द लिन्थेँ। भारतका रविवर्माले लेखेको छापा, तस्बिर विष्णु नै भयो, अघिल्तिर बस्ने म ध्रुवजस्तै भएँ।’
कलात्मक जोर आँखा
२०७२ सालको भूकम्पले सम घरको केही भाग भत्काइदिएको छ। तर, ढोकामा प्वाल पारेर बनाइएका कलात्मक दुई ठूला आँखा आज पनि छन्। सायद, सम ती आँखाबाट आगन्तुकलाई भित्रैबाट चियाउँथे। कलात्मक जोर आँखा कति जीवन्त छन् भने आज पनि तिनले दुनियाँ नियालिरहेजस्तो लाग्छ। प्रवेशद्वारमा चित्रित जोर आँखाले स्वयम्भूका दुई आँखाको झलक दिन्छन्, ‘न्याय-अन्याय’। कलापारखीको आनन्दानुभूति गर्ने कलालाई यी जोर नयनले न्याय गरेकै छन्।
थुप्रै सर्जकले भव्यताको पर्यायवाची मानेका समघरलाई बयान गर्न पंक्तिकारसँग पनि एउटै शब्द छ- ‘भव्य’। भव्यताको सिलसिलेवार वर्णन यो एउटा आलेखमा सम्भव छैन।बैठककोठामा धेरै चिज छन्। बुट्टेदार ऐना, समले कोरेका भैरव र जुद्धशमशेरको पेन्टिङ। कलात्मक चित्र र बुट्टाहरू। इन्साइक्लोपेडियाको ठेली। ठूला क्यानभासमा समले बनाएका चित्रहरू। आफैंले कोरेको श्रीमती मन्दाकिनीको ठूलो पोर्टेट।
अर्को कोठामा मोहनशमशेर र उनकी पत्नीका पेन्टिङ झुन्डिएका छन्। कोठाको भुइँमा काठ छापिएको छ। बैठककोठाको अर्को अद्भुत विशेषता छ- कोठाको पूर्वी भित्तामा तीनवटा भव्य बुट्टेदार आँखीझ्याल छन्। ती आँखीझ्यालमा पुग्ने बेग्लै ढोका र सिँढी छ। आँखीझ्यालमा बसेर बैठकबाट फोटो खिच्न सकिन्छ।
समले यस्तो अचम्मको ठाउँ किन बनाए ? उनका परिवारका सदस्य कसैले पनि तस्बिर खिच्ने प्रयोजनबाहेक अरू बताउन सक्दैनन्। त्यो देख्दा केवल उत्सुकताहरू अवशेषमा रहन्छन्। बैठककोठामै प्रसिद्ध चिनियाँ कविहरू (तुफु र लिवाईको सोमरसको बारेमा कविता जुवारी)को पेन्टिङ सजाइएको छ।
भित्री कोठामा प्रवेश गरेपछि देखिन्छ- एउटा विचित्रको कोठा। लाग्छ, त्यस्तो कोठा अन्यत्र देख्न सम्भव छैन। कोठाका चारै भित्ता, सिलिङ, भुइँ सबैतिर चित्र कुँदिएका छन्। ती कुँदिएका चित्र समले कोरेका हुन्। समुद्रमा छाल आइरहेको एउटा भव्य चित्र छ, जुन समले पिता समरशमसेरलाई गिफ्ट दिएका थिए। त्यो कोठा समको शयनकक्ष थियो, जहाँ अहिले डाइनिङ टेबल थन्क्याइएको छ। सम यस कोठालाई ‘पञ्चतत्व’ भन्थे। पञ्चतत्व अर्थात्- पृथ्वी, जल, वायु, अग्नि र आकाशको चित्रकारिता छ त्यहाँ। चरा उडिरहेको, आगो बलिरहेको पेन्टिङ भित्तामा अति जतनका साथ कोरिएभैंm लाग्छ। तर, अहिले भित्ताको सिमेन्ट उप्किएर चित्र बिग्रिन लागेको देखिन्छ। घरमा ‘अक्टागनल’ ऐना छन्। भनिन्छ, यिनै अष्टभुजाकार ऐनाअघि बसेर सम घण्टौं मेकअप गर्थे।
सम-घर अहिले पनि पुरानो वैभव सँगालेर उभिएकै छ। यो सुनसान घरमा थुप्रै चिजले भव्यताको कलरव सिर्जना गरेका छन्। तर, समले बनाएको पूर्ण बगैंचा र पोखरीमा सेता, सुनौला ठुल्ठुला माछा छैनन्। पश्चिमपट्टि नवनिर्मित स्विमिङ पुल छ, समका पनातिले बनाएका। पानीमाथि परेवाहरू उडिरहेका छन्। तिनका पखेटाले हावाभरि पानीका थोपा छचल्काइदिन्छन् र विशाल घरको सन्नाटा तोडिदिन्छन्। बगैंचामुनिको भूमिमा रूखका पात झर्छन्। समले रोपेर हुर्किएका, हलक्क बढेका रूखहरू मौनता साँधिरहेका कुनै तपस्वीझँं देखिन्छन्। स्विमिङ पुलमा पौडी खेल्नेहरू बरोबर पुगिरहन्छन्। तर, पुलमा आउनेहरू अहिले घटेका छन्। अहिले पुलमा लेउ लागेर यो कुरूप देखिएको छ।
हिँड्नेछु स्वप्न पूरा भएपछि
यो कुनै बास हो मेरो नित्य जीवनमार्गको
तिमीतिर म हिँड्नेछु स्वप्न पूरा भएपछि
समले आफ्नो घरको मूलढोकामा धातुको पातामा यस्तो श्लोक लेखेका थिए। त्यो श्लोक पछि पुरानो बानेश्वरको गुरुकुलको ढोकामा देखियो। सुनील पोखरेलले गुरुकुलमा राख्ने इच्छा व्यक्त गरेपछि श्लोक लेखिएको त्यो पाता त्यहाँसम्म पुर्या एका थिए, घिमिरे युवराजले। कुनै व्यापारीले लगिसकेको त्यो पातो गुरुकुलको ‘सम नाटकघर’को मूल ढोकामाथि राखियो। ‘गह्रुँगो त्यो पाता तामामिश्रितजस्तो देखिन्थ्यो’, युवराज भन्छन्, ‘निक्कै बाक्लो थियो। अचेल कहाँ पुग्यो म भन्न सक्दिनँ। समको सम्पत्तिमा उनका सन्तानको भागबण्डा चल्दै छ भन्ने सुन्छु।’
कला र सिर्जनाको गहकिलो इतिहास बोकेको समघरको संरक्षण हुनुपर्ने हो। यसमा फरक मत सायद दर्ता नहोलान्। तर, संरक्षण कसले गर्ने हो ? सरकारले ? प्रज्ञाप्रतिष्ठानले ? परिवारले ? कुनै कलापारखीले ?
सरकार प्रज्ञाप्रतिष्ठानहरूमा जागिरदार पठाउन व्यस्त छ। त्यसैले सरकारबाट यो काम हुने देखिन्न। प्रज्ञाप्रतिष्ठान आफैं जागिरदारहरूको अखडा हुन व्यस्त छ। त्यसैले प्रतिष्ठानबाट पनि यो काम हुने देखिन्न।
उसो त सरकारले देवकोटाको बेहाल घरलाई संग्रहालय बनाउने घोषणा गरिसकेकाले सम-घरले पनि उचित ध्यान पाउला भन्ने झिनो आशा गर्न मिल्ला। (कि नमिल्ला ?) तर, हालका लागि भने सम-घर बेखबर छ, सुनसान छ, एक्लो छ।
सम-घरबाट निस्कने बेला ढोकामा कुँदिएका स्वयम्भूका जस्ता दुई आँखाबाट म बाहिर चियाउँछु। ती कलात्मक जोर आँखामार्फत आफ्ना आँखाले म देख्छु- समले रोपेका रूखहरू। ती तपस्वीझैं मौन छन्। म पनि मौन छु। सरकार, प्रतिष्ठान र अन्य सम्बद्धहरूबाट उपेक्षित सम-घर पनि त मौन छ।