भूगोलहरू कथाका धड्कन

भूगोलहरू कथाका धड्कन

नेपाली समाजमा लाहुरे संस्कृति नौलो होइन। अंग्रेजसँगको पहिलो लडाइँपछि र विश्वयुद्धका बेला विदेशी सैनिकमा नेपाली भर्ना भएपछि लाहुरे बन्ने संस्कृति नेपाली समाजमा अविच्छिन्न छ। किरात समुदायको यही संस्कृतिमाथि केन्द्रित भएर लेखिका सुषमा रूपाबुङ राईले ‘लाहुरेनी फूल’ उपन्यास लेखेकी छन्। बेलायतमा बसेर साहित्य लेखिरहेकी राईसँग उपन्यास लेखन र डायस्पोरिक नेपाली साहित्यबारे निर्भीकजंग रायमाझीको कुराकानी  :

उपन्यास लेख्न किन आफ्नै समुदाय र आफूले बाँचेको परिवेश नै रोज्नुभयो ?

मेरो समुदाय, मैले बाँचेको परिवेश यो राज्यकै एक आदिम र अभिन्न पाटो हो। आफूले बाँचेको परिवेश लेख्नुपर्ने दायित्वबोध भएको थियो। जस्तो कि कुनै व्यक्तिले छिमेकीलाई खाना बाँडेर सहयोग गर्छु भन्नुअघि आफ्नो परिवारको पेट अघाइदिनुपर्छ अनि मात्र अरूले विश्वास गर्छन्। मलाई पनि पहिला आफ्ना पाठकहरूको विश्वास जित्नु थियो र आफ्नो परिवार अर्थात् मेरो समुदायलाई सम्बोधन गर्नु थियो। यसर्थ आफू बाँचेको परिवेशलाई सुरुमै उफ्रिएर नाघ्न मेरो अन्तरहृदयले मानेन।

 तपाईंको कथामा नेपालको पूर्वी पहाडदेखि बेलायत, ब्रुनाईसम्मका भूगोल समेटिएको छ। कथालाई रंगीन बनाउन यसरी नयाँनयाँ भूगोल छान्नुभएको हो ?

 भूगोलहरू कथाका धड्कन नै हुन्। जसरी प्राणी मुटुमात्र भएर पनि धड्कन भएन भने जीवित हुन सक्दैन, लाहुरेनी फूलका पात्रले भोगेको एक महत्त्वपूर्ण भूगोल हुन् यी। यो भूगोल नसमेटिएको भए पाठकहरूले नै विश्वास गर्ने थिएनन् कि पात्रले आफ्नो जिन्दगीको एउटा महत्त्वपूर्ण हिस्सा त्यहाँ पुगेर भोगेका थिए। यसैले कथालाई जीवन्त बनाउन पनि यो अत्यन्तै आवश्यक थियो।

नेपाली समाजको लाहुरे परम्परामाथि तपाईंको जुन दृष्टिकोण​ छ, त्यो एकतर्फी भएन र ?

मैले चौतर्फी दृष्टिकोणबाट नै हेर्न खोजेको छु। यद्यपि कसैले एकतर्फी भनेर आरोप लाउनुहुन्छ भने पनि त्यो छुट उहाँहरूलाई छ। दृष्टिकोण सबैको आ–आफ्नो स्वतन्त्र हुने अधिकार छ र आ–आफ्नै दृष्‍िटकोणबाट बहस हुन पनि आवश्यक छ। यति हो कि दृष्टिकोण भ्रम र मिथ्या हुनुभएन।

 कवि तीर्थ श्रेष्ठको ‘लाहुरे फूल’ भन्ने चर्चित कविता छ। यही कविताको लय र झल्को दिने गरी किन उपन्यासको नाम राख्नुभयो ?

 खासमा लाहुरे फूल एउटा मिथकजस्तै हो र ‘लाहुरेनी फूल’ पनि। शब्दकोषमा हेर्ने हो भने यो फूलको वास्तविक नाम अर्कै छ। तर यो फूलले एउटा आत्मीय भावनासँग साटिएर ठाउँअनुसार आफ्नो नयाँ नाम पायो। यसमा दुईवटा फूललाई दाँजिरहनुपर्छ जस्तो मलाई लाग्दैन। सायद उस्तैउस्तै नाम सुनिए पनि यिनीहरूको रूप र महत्त्व अलग हुन सक्छ।

पछिल्ला वर्ष आख्यानको बजार निकै राम्रो थियो। अहिले आत्मकथा र गैरआख्यानले घेरिरहेको छ। त्यही कारण तपाईंले आफ्नो बजार गैरआवासीय नेपालीलाई बनाउने प्रयत्न गर्नुभएको हो ?

 वास्तवमा कथा कुन परिवेशसँग धेरै जोडिएको छ, त्योसँग सम्बन्धित व्यक्तिलाई नै कथाले धेरै प्रभाव पार्छ। उनीहरूले कथामा आफूलाई नै महसुस गर्छन्। धेरै गैरआवासीय नेपाली पाठकले आफूलाई लाहुरेनी फूलमा महसुस गर्लान् तर यसो भन्दैमा मैले बजार नै हेरेर यो कथा लेखेको होइन। यस किसिमको कथा लेख्नुपर्छ भन्ने लाग्यो र लेखेँ। नेपाली होऊन् या गैरआवासीय, सम्पूर्ण नेपालीका लागि मैले उपन्यास लेखेको हुँ। मलाई लाग्छ, हामीले बजार हेरेर लेख्ने अवस्था अझै आइसकेको छैन।

तपाईं बेलायत र ब्रुनाईजस्ता नेपाली लाहुरेको बाहुल्य भएको राज्यमा बसेर साहित्य लेखिरहनुभएको छ। यी देशमा नेपाली साहित्यको आमरूपरेखा कस्तो पाउनुहुन्छ ?

 ब्रुनाईको सवालमा सबैजसो सेवामै भएको आर्मी परिवार मात्र भएको हुनाले यहाँ साहित्यिक वातावरण त्यति नभएकाले साहित्यिक गतिविधि एकदमै न्यून छ। बेलायतमा भने उल्लेख्य मात्रामा साहित्यिक गतिविधि हुन्छन्। त्यहाँ अवकाशप्राप्त ब्रिटिस आर्मी र उनीहरूका सन्तान आएर बसोबास गर्ने हुनाले नेपालीको संख्या पनि धेरै छ। यसबाहेक अन्य नेपाली पनि निकै भएकोले साहित्यिक संस्था फस्टाएका छन्। यहाँ बसेर साहित्यमार्फत आफ्नो देशलाई सम्झिने एउटा बहाना पनि मिलेको छ। साथै साहित्यिक कार्यक्रमले नै भेटघाटको अवसर पनि जुर्ने गर्छ। संख्यात्मक र गुणात्मक रूपमै बेलायतको साहित्य सबल हुँदै छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.