मोरोगोरोका मसाई
मोरोगोरोका एक बालकले सिंगल फोटो खिच्न मानेनन्, गाईसँगै खिच्न अड्डी कसे। भने, ‘नाइँ गाईसँगै खिच्छु। आई टेक केयर अफ काउज। काउज टेक केयर अफ मी।’
पूर्वी अफ्रिकी देश तान्जानियाको तीनमहिने भ्रमणको अन्तिम महिनाका केही रमाइला समय मैले मोरोगोरो छेत्रमा बिताएँ। मोरोगोरो झन्डै नेपालको मध्य पहाडजस्तै क्षेत्र हो— हरिया डाँडा, वन, खोलानाला, झरना अनि मन्द चिसो। बिहानीपख बरन्डामा बसेर चियाको चुस्की लिँदा म धुलिखेलको मेरै घरतिर छु कि भन्ने भ्रम भइरहन्थ्यो। मोरोगोरो मेरा लागि विशेष लाग्नु, यो क्षेत्र आफ्नै गाउँठाउँजस्तो भएर होइन। सानो छँदा टीभीमा देखेका मसाई मैले प्रत्यक्ष देखिरहेको थिएँ, अझ उनीहरूसँग मेरो मित्रता पनि गाँसिएको थियो।
मसाईहरू पास्ट्रोलिस्ट हुन्। उनीहरू गाईबाख्रा चराउँछन्, वनजंगल डुलिरहन्छन्। पातलो शरीर, अग्लो कद, निक्खर कालो वर्णका मसाईहरू सरल जीवन बिताउँछन्। ठाउँविशेषतिर मसाईहरू विभिन्न हतियार बोक्छन्— भाला वा भालाजस्तो लामो लौरो, दुईतर्फी धारिलो तरबार र ‘रुङु’ नाम गरेको झट्टी हान्ने झटारो। प्रायः महिला नीलो र पुरुषहरू रातो रस्सी बेर्छन्। महिलाको तुलानमा पुरुषहरू प्लास्टिक निर्मित थोरै मोतीका हार लगाउँछन्। छोटो समयमै सही, मसाईलाई मैले नजिकैबाट देख्नचिन्न पाएँ। लेमान्याटा, ओबामा र जकारिया मेरा मिल्ने ‘रफिकी’ मित्र थिए।
मसाई सँगको पहिलो भेट अद्भुत रह्यो। मसाईभाषी भए पनि उनी राम्रो स्वाहिली बोल्थे। मैले अंग्रेजीमा उनीहरूसँग जे सोधे पनि उनीहरूको उत्तर एउटै हुन्थ्यो, ‘एस’। उनीहरूको अनुहारमा मडारिएका भावले कुरा बुझ्नुपर्ने !
कामबाहेकको मेरो समय मसाईहरूसँगै बित्थ्यो। लेमान्याटा र ओबामा तीमध्ये प्रिय थिए। हाम्रो भेट प्रायः मेरो डेरामा नत्र चोकको छाप्रो पसलमा हुन्थ्यो। जुनसुकै चिसो पेय होस्, सबैलाई उनीहरू ‘कोला’ भन्थे, पिउन साह्रै मन पराउँथे। उनीहरूलाई म ‘कोला’ पिलाउँथेँ, उनीहरू मलाई मसाई जीवन सुनाउँथे।
०००
एक दिन जंगलस्थित आफ्नो छाप्रोमा उनीहरूले मलाई निम्तो गरे। म त्यस क्षणको प्रतीक्षामा थिएँ। जंगलको अलि सम्म परेको भागमा लेमान्याटा र ओबामाका दुई छाप्रा थिए। निगालोले भित्ते बारमा माटो र गोबरले बाक्लो गरी लिपिएको छाप्रो, जंगली लामो घाँसको छाना। छाप्रोको अगाडि भान्सा अनि पछाडि कोठा सुत्ने र राखनधरनको कोठा। छाप्रोदेखि करिब २५ मिटर पर गाईगोठ र बाख्राका खोर थिए। लेमान्याटा र ओबामाले गाईगोठमा पुर्याएर मलाई मसाई कपडा लगाइदिए।
उनीहरूका पत्नीद्वयले मेरी दोभाषेलाई पनि त्यस्तै कपडा लगाइदिए। हामी नयाँ र अलि भिन्नै मसाई देखियौं। तर, लौरो देखाएर गाई धपाउँदा गाईले हामीलाई पटक्कै टेरेनन्। एक दसवर्र्षे मसाई बालकले गाईसँग उनको फोटो खिचिदिन आग्रह गरे। फोटो खिच्दै मैले सोधेँ, ‘तिम्रो मात्र सिंगल फोटो खिच्दा हुन्न ? ’ बालकलाई बुझाउन दोभाषेले उल्था गरिन्। बालकले भने, ‘नाइँ गाईसँगै खिच्छु। आई टेक केयर अफ काउज। काउज टेक केयर अफ मी।’
०००
टीभीमा जोडी जिराफ कुदेको दृश्य हेर्दा खुबै रमाउँथेँ। त्यहाँ आँखैअगाडि पानी खान दौडिरहेका जोडी जिराफ देखेँ, कम्ता आनन्द आएन ! मोरोगोरो क्षेत्रमा पछिल्लो समय जंगली जनावर घट्दै गएका छन्। एउटा राजमार्ग मोरोगोरो निकुञ्जभित्र पर्दो रहेछ। जनावर घट्नुको प्रमुख कारण यो पनि रहेछ। अहिले तान्जानिया सरकारले गाडी गुड्ने समय तालिका बनाएको छ। यस राजमार्गमा राति गाडी चलाउन प्रतिबन्ध छ। सरकारले केही वर्षभित्र निकुञ्जमा पर्ने राजमार्ग बन्द गरी अन्तैबाट बाटो निर्माण गर्ने निर्णय गरिसकेको छ।
फोहोर व्यवस्थापनका लागि मोरोगोरो नजिक डोडोमा छेत्रमा बृहत् प्लान्ट बन्दैछ। पिउने पानीको प्लान्ट तयार भइसकेको छ। हाम्रा लागि अफ्रिका वा अफ्रिकी ‘पिछडिएको’ समाज हो। तर, पछिल्लो समयमा अफ्रिकाले मुहार फेरिसकेको छ। चेतना, शिक्षा, विकासमा हामीभन्दा निकै अगाडि बढिरहेको छ अफ्रिका।