निर्मलाको जस्तै विराटनगरको बलात्कार घटनाका दोषी भेटिएन, आन्दोलन जारी

निर्मलाको जस्तै विराटनगरको बलात्कार घटनाका दोषी भेटिएन, आन्दोलन जारी

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती दासको बलात्कारपछि हत्या भएको भनिएको घटना थप पेचिलो बन्दै भएको छ । घटना भएको एक सातासम्म पनि दोषी पक्राउ नपरेपछि घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउनु पर्ने माग गर्दै स्थानीय बासिन्दा आन्दोलित बनेका छन् ।

आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दाले शनिबार विराटनगरमा घटनाको विरोधमा प्रदर्शन पनि गरेका छन् । उनीहरुले घटना अनुसन्धानमा प्रहरी प्रशासनको लापरवाही रहेको भन्दै तत्काल दोषी पत्ता नलगाए आन्दोलनलाई थप चर्काएर लैजाने चेतावनी दिएका छन् ।

विराटनगरको अशोक चौकबाट सुरु भएको विरोध प्रदर्शन बुद्ध चौक, घोघापुल चौक, रामजानकी मन्दिर, हनुमानस्थल मन्दिर, बुधहाट चौक, जलजला चौक, अस्पताल चौक देवकोटा चौकमा पुगेर विरोधसभामा परिणत भएको थियो । आन्दोलतमा उत्रिएका स्थानीय बासिन्दाले प्रदेश १ को प्रदेशसभा भवन अगाडि पनि केहीबेर नारावाजी र प्रदर्शन गरेका छन् । विरोधसभामा बोल्नेहरुले अपराधीलाई प्रहरीले नै संरक्षण दिइरहेको आरोप लगाए ।

स्थानीय प्रकाश रायले प्रहरी प्रशासनकै मिलेमतोमा अपराधीलाई जोगाउने र लुकाउने प्रयास भइरहेको बताए । ‘यति ठूलो जघन्य अपराध भएको एक साता वितिसक्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छैन । अनुसन्धानका नाममा केहीलाई पक्राउ गरिएको बताए पनि उनीहरु घटनामा संलग्न हुन् कि हैनन् भनेर सार्वजनिक गरिएको छैन,’ रायले भने, ‘प्रहरी अनुसन्धान नै शंकास्पद बनेर गइरहेको छ । गरिब पृष्ठभूमिको बालिकाको हत्या हुँदा अहिलेसम्म दोषी पत्ता लाग्न नसक्नुमा प्रहरी प्रशासनकै लापरवाही देखिन्छ ।’

रायले अनुसन्धानको नाममा प्रहरीले पीडित परिवारलाई ढाँट्ने र छल्ने मात्रै काम गरिरहेको आरोप लगाएका छन् । ‘ठूला घरनाका व्यक्तिको हत्या भएको भए हत्यारा पत्ता लागिसक्थे । सामान्य परिवारमा घटना भएका कारण प्रहरीले पनि अनुसन्धानमा चासो दिएको छैन ।’

निर्मला पन्तको जस्तै घटना

कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको एक साता वितिसक्दा पनि प्रहरी अनुसन्धान ठोस निस्कर्षमा पुग्न नसक्दा त्यसको चौतर्फी विरोध सुरु भएको छ । स्थानीय बासिन्दा आन्दोलित बनेपछि घटनाको अनुसन्धान गरिरहेको जवाफ मात्रै दिने गरेको प्रहरीमाथि थप दबाव सृजना भएको छ ।

प्रहरीले अनुसन्धानमा कुनै पनि उपलब्धी प्राप्त गर्न नसक्दा बालिकाका अभिभावक थप तनावमा परेको स्थानीय बासिन्दाले बताए । रुपमतीका बुवा रामप्रसाद ठेला चलाउँछन् भने आमा मुन्नीदेवी ज्याला मजदुरी गर्छिन ।

रामप्रसादले छोरीको हत्यारा पत्ता लाग्न नसक्दा परिवारमा निक्कै ठूलो त्रास सिर्जना भएको बताए । ‘घटना भएको लामो समयसम्म पनि प्रहरीले वास्तविकता पत्ता लगाउन सकेन,’ उनले भने, ‘अहिलेसम्म काम गर्न हातखुट्टै लाग्दैन ।’ ठेला चलाउन र ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकोमा छोरीको हत्या भएको दिनदेखि काममा जान नपाउँदा र नसक्दा भोकभोकै पर्नु परिरहेको उनले गुनासो छ । प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बालिकाको बलात्कारपछि हत्या गरिएको निस्कर्ष निकाले पनि त्यसपछिको अनुसन्धानबाट कुनै उपलब्धी हाँसिल गर्न सकेको छैन ।

अनुसन्धानमा खटिएको प्रहरी टोली घटनाको गहिराईसम्म पुग्न नसकेको भन्दै परिवारका सदस्य र स्थानीय बासिन्दा थप त्रसित र सशंकित बनेका छन् । रायले भने, ‘अहिलेसम्म न घटनास्थल नै फेला प¥यो । न घटनामा संलग्न नै ।’ उनले स्थानीय बासिन्दा र परिवारका सदस्य चुप लागेर बसेका कारण पनि प्रहरीले अनुसन्धानलाई आफै प्रभावित पारिरहेको गुनासो गरे । रायले प्रहरीको काम कारवाहीबाट बालिकाका परिवार थप पीडित बन्नु परिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनाका बारेमा गम्भीर रुपमा अनुसन्धान भइरहेको बताए । ‘घटनामा संलग्न भएको आशंकामा धेरैमाथि सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने, ‘केहीलाई हिरासतमै राखेर अनुसन्धान सुरु गरिएको छ ।’

तर अहिलेसम्म हत्यामा संलग्न भने यकिन गर्न नसकिएको केसीको भनाइ छ । प्रहरीले अनुसन्धानबाट आफ्नै हिसावको प्रगति गरिरहेको जानकारी दिंदै उनले भने, ‘जघन्य खालको अपराध भएको छ । यसलाई चानचुने सम्झन पनि हुँदैन । सबै कुरा प्रमाणसँग जोडेर हेर्नु पर्छ ।’ एसपी केसीले अनुसन्धानको हिसावले प्रहरी धेरै अघि बढिसकेको भन्दै केही दिन भित्रैमा दोषीको पहिचान गरेर घटनाको वास्तविकता बाहिर ल्याइने पनि बताए ।

घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले घटनाको अनुसन्धान गर्न आवश्यक पर्ने धेरै प्रमाणहरु संकलन हुन नसकिरहेको बताए । मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार दिउँसो निवश्त्र अवस्थामा रुपमतिको शव फेला परेको थियो । छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसंग शनिबार राति लगभग ८ बजे विदा मागेर हिंडेकी रुपमतिको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको हो । त्यसअघि नै नहिमकहाँ टिभी हेरिरहेका रामप्रसाद घर फर्किएपछि मात्रै आमासंग विदा मागेर हिंडेकी छोरी टिभी हेर्न नगएको खुलेको थियो ।

रुपमतीले घरबाट निस्कँदा लगाएको चप्पल भने नजिकैको चउरमा फेला परेको छ । उनले लगाएको टोपीले पनि फेला परेको प्रहरीले जनाएको छ । तर लगाएका कपडा भने अहिलेसम्म भेटिएको छैन । घटनामा संलग्नले घटनापछि कपडा बगिरहेको खोलामा हालिदिएका कारण पानीले बगाएर लगेको हुनसक्ने प्रहरीको आशंका छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शवको पोष्टमार्टम रिपोर्ट पनि प्राप्त हुन नसकिरहेको प्रहरीले जनाएको छ । घटनाको गहिराईसम्म जानलाई सहयोग पुग्ने भन्दै प्रहरी पोष्टमार्टम रिपोर्टको पर्खाइमा बसेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ११ जनासँग सोधपुछ गरिसकेको छ । केहीलाई हिरातमै राखेर अनुसन्धान गर्ने काम भइरहेको एसपी केसीले बताए ।

घटनासम्म पुग्ने भरपर्दो सुराक प्राप्त नहुँदा र आधार पहिल्याउन नसक्दा अलमलमा परिरहेको प्रहरी अनुसन्धान दोषी पत्ता लगाउनबाट चुकिरहेको छ । ‘यत्रो घटना हुँदा अहिलेसम्म कुनै विश्वासिलो सुराक मिल्न सकेको छैन । घटनास्थल नै फेला पार्न सकिएन,’ प्रहरीका एक अनुसन्धान अधिकृतले भने, ‘घटनाको गहिराईसम्म पुग्न र उपलब्धी हाँसिल गर्न नसक्दा अनुसन्धान जटिल मोडमा पुगेर गुज्रिएको छ । घटनास्थल पत्ता लगाउन सकिएको भए अनुसन्धानलाई स्थापित गर्न सकिन्थ्यो र आधा अनुसन्धाननै सकिन्थ्यो ।’ उनले शव नै बगिरहेको पानी भित्र भेटिएका कारण धेरै प्रमाण नष्ट हुँदा अनुसन्धानमा धेरै अप्ठेराहरु झेल्नु परिरहेको बताए ।

प्रहरीले लागुऔषधको नसामा रहेका र चिनजानकै व्यक्तिले घटना गराएको हुन सक्ने अनुमान गरेको छ । ती प्रहरी अधिकारीका अनुसार बालात्कारको पोल खुल्ने डरले हत्या गरेर शव खोलामा फ्यालिएको निस्कर्ष निकालिएको छ । प्रहरीले यो घटना कंचनपुरकी निर्मला पन्तसँग मिल्दो जुल्दो देखिएको जनाएको छ । पन्तको हत्याले यस्ता अपराधमा संलग्नलाई प्रमाण नष्ट गर्न धेरै पाठ सिकाएको प्रहरीको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.