क्यान्सरविरुद्ध जनचेतना
सुरुवाती अवस्थामै पहिचान गरी उपचार सुरु गर्ने हो भने क्यान्सर रोग निको हुन्छ। क्यान्सरलाई हराएर सक्रिय जीवन जीउनेहरूको संख्या बढ्दो छ। तर, गाउँघरमा अझै यसलाई निको नहुने रोग मान्ने चलन कायमै छ। यसबारे पर्याप्त चेतना फैल्याउन सकिएको छैन।
क्यान्सर निवारणका लागि पहिलो प्रयास नै यो रोग निको हुन्छ भन्ने चेतना फैल्याउनु हो। सर्वसाधारणमा रोगप्रति सचेतना, जागरुकता र समयमै परीक्षण गर्ने बानीको विकास गर्नुपर्ने पहिलो आवश्यकता देखिन्छ।
क्यान्सरलाई नसर्ने रोगका रूपमा लिइन्छ। यसबाट प्रभावित हुनेहरुको अभिलेखीकरण हुन सकेको छैन। बिरामीको अभिलेखीकरण गरी छुट्टै नीति बनाएर कार्यान्वयन गर्दा पाठेघरको क्यान्सरलाई विदा गर्न सकिने अवस्था छ। यो रोगले बर्सेनी हजारौंको ज्यान लिन्छ। बेलैमा उपचार गर्न सके तिनको ज्यान जोगिन्छ। तर अनेक कारणले अपेक्षाकृत सुधार आउन सकेको छैन। वंशाणुगत तथा रहनसहनसम्बन्धी कारणले यो रोग लाग्छ।
स्वास्थ्य क्षेत्रको योजनाबद्ध विकास विसं २०१३ देखि आवधिक योजना तयार पार्न थालेसँगै सुरु भयो। आवधिक योजना सुरु भएको झण्डै दुई दशकपछि पन्ध्र वर्षे दीर्घकालीन स्वास्थ्य योजना बनाइयो। ०५४ सालमा बीस वर्षे दीर्घकालीन स्वास्थ्य योजना लागू गरियो। बिफर उन्मुलन, औलो नियन्त्रण, पोलियो उन्मुलनलगायत कार्यक्रम अपेक्षाअनुरुप सफल पनि भए। तर, सरकारले पर्याप्त ध्यान दिएको भए पाठेघरको क्यान्सरजस्ता रोगसमेत सफल हुने थियो।
प्रजातन्त्रको पुनस्र्थापनापछि बनेको राष्ट्रिय नीतिले स्वास्थ्य क्षेत्रलाई प्राथमिक स्वास्थ्य सेवाका सिद्धान्ततर्फ फर्कायो। गाउँगाउँमा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र स्थापित भए। स्वास्थ्य क्षेत्रमा लगानीलाई प्रोत्साहित गरियो। त्यसपछि चिकित्सा विज्ञान अध्ययन संस्थान, अस्पताल लगायत नीजि र सहकारी स्वास्थ्य संस्थाहरुको तीव्र विकास र विस्तार भयो। तर क्यान्सर विरुद्धका उपचारात्मक सेवा सहरकेन्द्रित भए। बहुसंख्यक बिरामीको पहुँचमा पुग्न सकेन।
छ दशकपछि पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन सकेको छैन। सरकारले कुल बजेटको झण्डै चार प्रतिशत बजेट स्वास्थ्यमा विनियोजन गर्दा क्यान्सर रोगको उपचार गर्दै आएका अस्पतालहरूमा सेवा विस्तारका लागि बजेट अभाव छ। पर्याप्त दरबन्दी छैन। दक्ष जनशक्तिको अभाव छ। आधुनिक उपकरण नहुँदा कतिपय अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ। सेवा प्रवाह खुम्चिएको छ।
सीमित क्यान्सर अस्पतालले बिरामीलाई सेवा दिइरहेको भएपनि सेवा प्रवाहलाई चुस्त र व्यवस्थित बनाउनु पर्ने आवश्यकता छ। भौतिक पूर्वाधार विकासका साथै औजार र उपकरणका साथै जनशक्ति विकास गर्नु पर्ने चुनौती छ। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँचलाई मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। क्यान्सरको उपचार सहरमा मात्र सीमित हुँदा गाउँका बासिन्दा पहुँचबाट अझ टाढा पुगेका छन्।
नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्नु पर्छ। गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गराई स्वस्थ जीवनको प्रत्याभूत भएमा मात्र दीगो विकास हुन्छ। यसतर्फ राज्यको ध्यान जानै पर्छ। तबमात्र सुखी नेपाली र समृद्ध नेपालको नाराले सार्थकता पाउँछ।
जनचेतनाका साथै दक्ष स्वास्थ्यकर्मी, अत्याधुनिक प्रविधि र उपकरणको उपलब्धता, स्वास्थ्य सेवा र जीवनशैलीको महत्वबारे जनचेतना, क्यान्सर रोगविरुद्ध स्वास्थ्य संस्थाहरुबीच आपसी समन्वय र सहकार्य गर्नुपर्ने खाँचो छ। स्वदेशमै उपचार गर्न सकिने अवस्था रहेपनि कतिपय बिरामी विदेश जाने प्रवृत्ति छ। यसलाई निरुत्साहित गर्नुपर्छ। सबै वर्ग, क्षेत्र, समुदायका नागरिकको समतामूलक पहुँच भएको अवस्थामा मात्र स्वस्थ र सबल नागरिक निर्माण हुन्छन्। त्यस्ता नागरिकले मात्रै मुलुकको विकासमा योगदान गर्न सक्छन्। त्यसका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ। क्यान्सर रोगविरुद्ध प्रबद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक कार्यक्रम एक साथ संचालन गर्नुपर्छ।