भरपर्दो आम्दानी बन्यो अम्रिसो

भरपर्दो आम्दानी बन्यो अम्रिसो

गाईघाट : अम्रिसो खेतीलाई उदयपुरका किसानले नगदेबालीको रूपमा लिएर व्यावसायिक खेती थालेका छन्। बारीमा लगाएको अम्रिसोले मनग्य आम्दानी दिन थालेपछि किसानले व्यावसायिक खेती थालेका हुन्।

खाली जमिन तथा सामुदायिक वन क्षेत्रमा सामान्य मेहनतमा अम्रिसो खेती गरेर मनग्य कमाउन थालेपछि कृषकको यसप्रति आकर्षण बढ्दै गएको हो। जिल्लाका रौता, भलायडाँडा, पञ्चावति, कटारी, रिस्कु, बेल्टार, हडिया, जोगीदह, सुन्दरपुर, बसाहा, रामपुर, मैनामैनी, कटुन्जेववला, खाँबु, साउनेलगायत क्षेत्रका किसानले अम्रिसोको व्यावसायिक खेती अगाडि बढाएका छन्।

सामुदायिक वन क्षेत्रमा लगाएको अम्रिसो खेतीबाट यी क्षेत्रका किसानले वार्षिक रूपमा तीन लाखसम्म आम्दानी गर्ने गरेको रौताका किसान जितुहर्क तामाङले बताए। स्थानीय किसानले सामुदायिक वन क्षेत्रको नांगो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत बनाउने गरेको डुम्रिथुम्का महिला सामुदायिक वन उपभोक्ता समूह रौतामाई–७ का अध्यक्ष कुमारी आलेमगरले बताइन्।

उपभोक्ताले अम्रिसो खेती लगाउन थालेपछि वन जंगलसमेत हराभरा हुन थालेको उनको भनाइ छ। वनको सुरक्षाका लागि भन्दै कतिपय ठाउँमा सामूहिक अम्रिसो खेतीसमेत सुरु गरिएको छ। बबला, मैनामैनी, भलायडाँडा, खाँबुलगायत क्षेत्रमा स्थानीयले सामूहिक खेती गरेका हुन्। यसबाट वार्षिक पाँच लाखसम्म आम्दानी लिन सफल भएको बबलाका हिराधन मगरले बताए।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कोतर्फ पात खुवाउँदा गाईभैंसीको दूध बढ्ने किसानको भनाइ छ। ‘गाईवस्तु पाल्न सहज हुने त छँदैछ त्यसको दूध बिक्रीबाट घर खर्च टर्ने र फूलको कुचोबाट अन्य खर्च जोहो गर्न सकिन्छ’, किसान हरिप्रसाद कोइरालाले बताए। आम्दानीको मुख्य स्रोत अम्रिसो खेती हुन थालेपछि ५÷७ जनाको परिवारलाई पालन–पोषण, शिक्षा–दीक्षा दिन र चाडपर्वमा खर्च गर्न कुनै समस्या नभएको उनको भनाइ छ।

वन क्षेत्रको जग्गामा वृक्षरोपण गरिएका सिसौका रूख मासिएपछि वन जोगाउन सामूहिक खेती गरिएको अध्यक्ष मगरले बताइन्। करिब २० वर्षअघि रोपिएका सिसौ रोग लागेर भटाभट सुक्न थालेपछि गरिबी निवारणअन्तर्गत यो कार्यक्रम लागू गरिएको अध्यक्ष मगरले बताइन्।

चौदण्डीगढी–९ मुसहर्नियाका किसानले समेत अघिल्लो वर्षदेखि अम्रिसो खेतीबाट राम्रो पैसा हात पार्न थालेका छन्। स्थानीय आदर्श सामुदायिक वनले वन क्षेत्र भित्रको नांगो जमिन प्रत्येक उपभोक्तालाई दामाशाहीले सातदेखि १० कठ्ठासम्मका दरले वन खेती कार्यक्रमका लागि उपलब्ध गराएको उपभोक्ता रुद्र राउतले बताए।

वन समूहले किसानलाई आकर्षित गर्न र जंगल संरक्षणका लागि वन तथा पर्ति जमिन उपलब्ध गराई अम्रिसो खेती लगाउन सुरु गरेको। ‘सामुदायिक वनको सबैभन्दा उदाहरणीय काम नै नांगो जमिनलाई हरियाली बनाउन किसानलाई वन खेती गर्न पर्ति जमिन वितरण गर्नु हो’, स्थानीय छमबहादुर बोहोराले भने, ‘त्यहीबाट किसानले वर्षैपिच्छे नगद हात पार्ने अवसर पनि पाइरहेका छन्।’

त्रियुगा नगरपालिका–१५ खाँबुका स्थानीयले भने जीविकोपार्जन तथा आधारभूत आवश्यकता परिपूर्तिका लागि सामुदायिक संस्थामार्फत अम्रिसो खेती सुरु गरिएको बताए। गरिबी निवारण कोषसँगको सहकार्यमा समाज सेवी समूहद्वारा सञ्चालित गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित सामुदायिक संस्थाका सदस्य आयआर्जनका लागि अम्रिसो खेतीतर्फ लागि परेका हुन्।

कम लागतमा अम्रिसो खेतीबाट छिटो प्रतिफल पाउने र जोखिममुक्त रहेकाले यसतर्फ लागिपरेको हिमचुली सामुदायिक संस्था खाँबु–१ हुवासका सदस्य हरिबहादुर थापाले बताए। उनका अनुसार संस्थामा सदस्यको आयआर्जन व्यवसाय सञ्चालन गर्न पुँजीगत सहयोग गर्न गरिबी निवारण कोषले चार लाख १० हजार सात सय ५० रुपैयाँ घुम्ती कोष अनुदान दिएपछि कृषक यतातर्फ आकर्षित भएका हुन्।

सदस्यको रुची, चाहना र दक्षताअनुसार व्यवसाय सञ्चालन गर्न कोषले यस्तो व्यवस्था गरिदिएको हो। सोही अनुसार घुम्ती कोष परिचालन गरिने संस्थाका सचिव डम्बरबहादुर राईले बताए। अघिल्लो वर्ष दुई लाख आम्दानी भएपछि थापाले यस पटक पाँच रोपनीमा अम्रिसो लगाएका छन्।

अम्रिसोबाट बनेको एउटा कुचोको गाईघाटमा न्यूनतम मूल्य ४० रुपैयाँ छ। जति उत्पादन गर्न सके पनि कुचोका लागि बजारीकरणको खासै समस्या नभएको कृषक थापाको भनाइ छ। व्यापारी नै गाउँघरमा कुचो लिन जाने गरेको उनले बताए। कुचो र घाँस दुवै हुने भएकाले यसबाट कृषकमा दोहोरो फाइदा पुगिरहेको जानकारी थापाले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.