छिमेकीबाटै सामूहिक बलात्कारपछि रुपमतीको हत्या, दुईजना पक्राउ

छिमेकीबाटै सामूहिक बलात्कारपछि रुपमतीको हत्या, दुईजना पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया गुडिया भनिने रुपमती दासको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ ।

हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका दुई युवाले घटनामा आफ्नो संलग्नता स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । एक साता लामो अनुसन्धानपछि वास्तविकता पत्ता लगाउँदै घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।

पक्राउ परेका दुवै युवा रुपमतीकै छिमेकी हुन् । प्रहरीले घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय आवत अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको हो । आवत र चन्दु यही घटनाको सोधपुछका क्रममा यस अघि पनि पटक÷पटक पक्राउ परिसकेका थिए । 

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर ल्याए पनि प्रमाण पु¥याउन नसकेपछि छाड्ने र फेरि पक्राउ गरेर सोधपुछका लागि ल्याउने गरिरहेको थियो । प्रहरीले यस घटनाको अनुसन्धानका क्रममा शंकास्पद भन्दै ११ जनालाई निगरानीमा राखेर सोधपुछ गरिरहेको थियो ।

प्रहरीले अनुसन्धानका लागि गरेको चौथो पटकको प्रयासपछि घटनामा अन्सारी र महतोकै संलग्नता पुष्टि भएको हो । हत्यामा संलग्न लागूऔषध दुव्र्यसनी भएको प्रहरीले जनाएको छ । उनीहरुले लामो समयदेखि गाँजा, नाइट्रोसन, फेन्सीडल लगायत लागूऔषध लिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । 

लागूऔषधकै नसामा उनीहरुले बलात्कारपछि रुपमतीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको एक प्रहरी अधिकारीले जानकारी दिए । घटनाको एक सातासम्म दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयबासिन्दा आन्दोलित बनेका थिए । 

उनीहरुले शनिबार विराटनगरमा प्रदर्शन पनि गरेका थिए । तर स्थानीय बासिन्दा आन्दोलित बनिरहँदा घटनाका दोषी पक्राउ गरेर चुरोसम्म पुगिसकेको प्रहरीले वास्तविकता भने बाहिर ल्याइरहेको थिएन । 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले घटनालाई अझै पनि गम्भीर अनुसन्धान भइरहेको बताए । ‘मेहनत गरे अनुसार राम्रै प्रगति हुँदै गएको छ,’ उनले भने, ‘घटना भएपछि रात दिन नभनी अनुसन्धानमा प्रहरी खटिएको थियो ।’ 

केसीले लगभग प्रहरी घटनाको एउटा निस्कर्षमा पुग्ने क्रममा रहेको जानकारी दिए । भने, ‘एउटा जघन्य अपराधको अनुसन्धान गर्न मेहनत गर्नु नै पर्छ । धेरै प्रमाणसँग जोडेर हेर्नु पर्ने भएकाले पनि समय लागेको हो । तर लामै समय लागे पनि एउटा रिजल्ट आउँछ भन्ने आसा गर्ने अवस्था बन्यो ।’  

रुपमतीका बुवा रामप्रसाद ठेला चलाउँछन् भने आमा मुन्नीदेवी ज्यालामजदुरी गर्छिन । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले घटनाको अनुसन्धान थालेको थियो । 

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले घटनाको अनुसन्धान गर्न आवश्यक धेरै प्रमाण संकलनमै समय खर्चनु परेका कारण हत्यामा संलग्नको पहिचान गर्न एक साता बढी लागेको बताए । 

मोरङको विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सीमानामा रहेको सिंघिया खोलामा गत आइतबार दिउँसो (माघ १३ गते) निवश्त्र अवस्थामा रुपमतीको शव फेला परेको थियो । 

छिमेकी मोहम्मद नहिमकहाँ टिभी हेर्न भनेर आमा मुन्नीदेवीसँग शनिबार राति लगभग ८ बजे विदा मागेर हिँडेकी रुपमतीको शव हत्या गरेर फ्यालेको अवस्थामा बगिरहेको खोलाको पानी भित्र भोलीपल्ट फेला परेको हो । 

यसरी हराएकी थिइन्

त्यसअघि नै नहिमकहाँ टिभी हेरिरहेका बुवा रामप्रसाद घर फर्किएपछि मात्रै आमासँग विदा मागेर हिँडेकी छोरी टिभी हेर्न नगएको खुलेको थियो । खोजी गरिए पनि कहीँ फेला नपरेपछि रामप्रसादले छोरी हराएको सूचना प्रहरीमा दिन पुगेका थिए । त्यसका लागि प्रहरी कार्यालयमा पुगेका रामप्रसादलाई त्यहीँ छोरीको शव फेला परेको खबर आएको थियो । 

टिभी हेर्न जान विदा माग्नु अघि रुपमतीलाई आमा मुन्नदेवीले २० रुपैयाँ दिएर नजिकैको पसलमा भुजा किन्न पठाएकी थिइन् । पसल बन्द भइसकेका कारण भुजा किन्न नपाएकी रुपमती घरमा फर्किएर आमालाई पैसा फिर्ता दिँदै छिमेकीकोमा टिभी हेर्न भनेर निस्किएकी थिइन । 

टिभी हेर्नकै लागि निस्किएका बेला बालिकालाई भेट्टाएका दुईजनाले बीच बाटैबाट उठाएर घरदेखि दक्षिणपूर्वतर्फको चौरतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

यसरी गरे हत्या

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुमा मुख बन्द गरेर उनीहरुले घरदेखि लगभग पाँच सय मिटर पर रहेकोको खोलाको डिलको चौरमा पु¥याएपछि बलात्कार गरेका हुन् । 

बालिकाले चिच्याउन र कराउन बल गरेपछि अन्सारी र महतोले मुख र घाँटी थिचेर पालैपालो बलात्कार गरेको ती प्रहरी अधिकारीको भनाइ छ । ‘घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भयो,’ उनले भने, ‘बलात्कार गरिरहेकै बेला त्यहीँ छेउमा रहेको बाटो हुँदै राति ९ बजेतिर एक वृद्धा हिंडेको देखेपछि आफूहरु भएतिरै आएको आशंका गरेर उनीहरुले रुपमतीलाई बगिरहेको खोलाको पानी भित्र हालिदिएर हिँडेको खुलेको छ ।’

दुई युवती जोगिए

त्यसअघि अन्सारी र महतोले रुपमतीकै एक आफन्त युवतीलाई निशाना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यो प्रयास असफल बनेपछि टिभी हेर्न भनेर निस्किएकी बालिका उनीहरुको जघन्य अपराधको सिकार बन्नु परेको प्रहरीको भनाइ छ ।

युवतीलाई निशाना बनाउनु अघि पनि एक महिलालाई अन्सारीले पाउरोटीमा लागूऔषध नाइट्रोसन मिसाएर खुवाइ बलात्कारको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।कहिल्यै खानेकुरा नदिने युवाले पाउरोटी दिएपछि ती महिलाले खान अस्वीकार गरेकी थिइन् । उनले खान अस्वीकार गरेपछि अन्सारीले नै भुइँमा नाइट्रोसन खसाउँदै पाउरोटी आफैँले खाएका थिए । 

‘सुरुमा पाउरोटीमा नाइट्रोसन मिसाउँदै महिलालाई खान दिएर नसामा लट्ठ बनाएर बलात्कार गर्ने योजना पनि बनाएका रहेछन्,’ प्रहरीका एक अनुसन्धान अघिकृतले भने, ‘महिलाले खान अस्वीकार गरेपछि उनीहरुको त्यो योजना असफल बन्यो ।’ त्यसपछि रुपमतीकै आफन्त एक युवतीलाई उनीहरुले निशाना बनाएको बताउँदै उनले भने, ‘त्यो योजना पनि असफल बनेपछि टिभी हेर्न निस्किएकी रुपमति उनीहरुको सिकार भईन ।’ महिलालाई पाउरोटीमा मिसाएर नाइट्रोसन खान दिएको घटनाले पनि अनुसन्धानमा केही मद्दत गरेको उनको भनाइ छ । 

रुपमतीले घरबाट निस्कँदा लगाएको चप्पल भने नजिकैको चौरमा शव फेला परेकै दिन भेटिएको थियो । उनले लगाएको टोपी र कपडा भने सय मिटर आसपासमा मान्छे मर्दा शव जलाउनका लागि प्रयोग गरिने घाटमा लगेर राखिदिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

उक्त कपडा रुपमतीकै भएको उनको अभिभावकले बताएका छन् । पक्राउ परेका दुई युवाले घटना स्वीकार गरेपछि उनीहरुले नै रुपमतीको टोपी र कपडा फ्यालेको ठाउँ प्रहरीलाई देखाइदिएका हुन् । घटना गराउने युवाले प्रहरीलाई घटनास्थल पनि देखाइदिएका हुन् । 

प्रहरीले घरबाट निस्कँदा रुपमतीले लगाएको टोपी, जामा, सुरुवाल लगायतका कपडा बरामद गरिसकेको छ । युवाले पहिले घटनामा संलग्नता अस्वीकार गर्दै आएका थिए । अनुसन्धानको दायरामा फराकिलो बनाउँदै लगेपछि भने उनीहरुले घटनामा संलग्नता स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ । ती युवाले गाउँघरमा नराम्रो छाप पर्ने र गाउँलेले बहिस्कार गर्ने भन्दै सुरुमा घटना स्वीकार नगरेको बताइएको छ ।

पानीले प्रमाण नष्ट

‘हत्या गरेर शव नै खोलामा फ्यालिदिएपछि पानीले प्रमाण नष्ट गरिदिँदा अनुसन्धानमा निक्कै मेहनत गर्नु प¥यो,’ ती अनुसन्धान अधिकृतले भने, ‘तर जे भए पनि धेरै ठूलो कसरत गरिंदा घटनाको वास्तविकतासम्म पुग्न सकियो ।’ उनका अनुसार सुरुमा कुनै पनि भरपर्दो सुकार नमिल्दा र आधार पहिल्याउन नसक्दा बलात्कारपछि बालिकाको हत्या भएको घटना अनुसन्धानमा धेरै जटिलताहरु उत्पन्न भए । 

पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि नै हत्या भएको पुष्टि गरेको छ । शवको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम गरिएको थियो । अनुसन्धान र पोष्टमार्टम रिपोर्ट मेल खाएपछि तथा हत्यामा संलग्न पक्राउ परेर घटनामा आफूहरुको संलग्नता स्वीकार गरिसकेपछि प्रहरीले घटनाको सबै विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

प्रहरीले लागूऔषधको नसामा रहेका र चिनजानकै व्यक्तिले घटना गराएको हुन सक्ने अनुमान भने गर्दै आएको थियो । प्रहरीले यो घटना कञ्चनपुरकी निर्मला पन्तसँग मिल्दो जुल्दो देखिएको जनाएको छ । पन्तको हत्याले यस्ता अपराधमा संलग्नलाई प्रमाण नष्ट गर्न धेरै पाठ सिकाएको प्रहरीको बुझाई छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.